राष्ट्रिय खिर दिवस : हराउँदै गयो पोषिलो खिरको मौलिक स्वाद

राष्ट्रिय खिर दिवस : हराउँदै गयो पोषिलो खिरको मौलिक स्वाद

अर्थ डबली
शुक्रवार, साउन १५ २०७८
अर्थ डबली
शुक्रवार, साउन १५ २०७८ (अर्काइभ बाट)
  • राष्ट्रिय खिर दिवस : हराउँदै गयो पोषिलो खिरको मौलिक स्वाद

    गलेश्वर /आज साउन १५ अर्थात् ‘राष्ट्रिय खिर दिवस’, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइँदै छ ।

    images
    images

    राष्ट्रिय दुग्ध विकास बोर्डले पनि ‘पोषिलो खिर उपभोग गरौँ निरन्तर, हुन्छ स्वस्थ शरीर’ भन्ने नारासहित खिर दिवस आयोजना गरेको छ  । गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद पनि हराउँदै गएको छ ।

    विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एकदिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खिर बनाएर  खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको गुनासो छ ।

    हिजोआज गाउँघरमा पनि रड, बालुवा, सिमेन्ट र इँटाका पक्की निर्माणको क्रम बढ्नाका साथै गाईभैँसी पाल्न बनाइने गोठ पनि हराउँदै गएको छ । भएका गोठमा पनि गाईभैँसी होइन मोटर, मोटरसाइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेको छ । 

    भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खिर पाक्न थालेकाले खिरको मौलिक स्वाद विस्थापित हुँदै गएको बेनी नगरपालिका–२ का पदमपाणि शर्माले बताए । 

    “गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर प्रेसर कुकरमा सिठ्ठी लगाएर बनाइएको खिरमा पहिलाको जस्तो स्वाद कहाँ पाउँनु” ६८ वर्षीय शर्माले भने, “दूध, दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए । हिजोआजका केटाकेटीलाई खिर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहैै छैन ।”

    गाईभैँसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने हुँदा खिर बनाइ सेवन गरेमा शरीरलाई पोषण तत्व प्राप्त हुने आर्युवेद शास्त्रमा उल्लेख छ । 

    त्यस्तै वर्षा ऋतु, झरी–बादलका बेला र साउन महिनाको मध्यमा खिर खानाले शरीर स्वास्थ हुने भएकाले यस वर्षदेखि साउन १५ लाई खिर दिवसको रुपमा मनाउन थालिएको बताइन्छ ।

    वर्षेनी आजका दिन बेनी बजारका डेरी पसलमा साविकको भन्दा पाँच गुणा बढी दूध खपत हुने गर्छ  । कडेँल डेरीकी सञ्चालिका राधिका कडेँलका अनुसार साउन १५ मा खिर खानकै लागि अघिल्लो दिन नै साविकको भन्दा ६४ लिटर बढी दूध थपिए पनि सबैको माग पूरा गर्न सकिने अवस्था छैन  ।

    चौधौँ शताब्दीदेखि छिमेकी मुलुक चीनबाट शुरु भएको खिर खाने प्रचलन हाल विश्वका प्रायजसो मुलुकमा फैलिएको छ । विशेषगरी सार्क क्षेत्र, पश्चिम एसिया, उत्तरी अफ्रिका र मध्यपूर्वका देशमा खिर खाने चलन बढिरहेको पाइएको छ ।

    सरकारी तथ्याङ्कअनुसार देश दूधमा आत्मनिर्भर उन्मुख भएको देखिन्छ । प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा अहिले ७८ लिटर दूध प्राप्त हुने  देखिएको १३ लिटर दूध मात्र अभाव भएको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ । 

    दुग्ध उत्पादनका लागि मात्रै देशमा करिब रु ३० अर्बको लगानी भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ । कृषि क्षेत्रमध्ये दूधमा गरिएको लगानी दोस्रो स्थानमा रहेको छ ।

    –ध्रुवसागर शर्मा

    साताको लोकप्रीय