‘एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउछन्’ : मीन विश्वकर्मा 

‘एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउछन्’ : मीन विश्वकर्मा 

अर्थ डबली
बुधवार, फागुन ११ २०७८
अर्थ डबली
बुधवार, फागुन ११ २०७८ (अर्काइभ बाट)
  • ‘एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउछन्’ : मीन विश्वकर्मा 

    काठमाडौं / प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले एमसीसी पास गराउनको लागि आवश्यक सबै विकल्प र उपाय अपनाउने दाबी गरेका छन् ।  

    images
    images

    उनले एमसीसीलाई लिएर राष्ट्रिय राजनीति नै गिजोल्न नहुने टिप्पणी गरे । आज (बुधबार) आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । 

    उनले भने,‘मुलुक यतिवेला सबैभन्दा पेचिलो, अप्ठ्यारो ठाउँमा पुगेको छ । विगतमा अत्यन्तै जटिल राजनीतिक अवस्था बनेपछि यो सरकार सबै ठाउँमा ठोक्किएर बनेको हो । यो सरकारसामू एउटा चूनौति आयो । 

    एमसीसी पास गराउन प्रधानमन्त्री लागे । एमसीसीबारे माधव नेपालले पहिलो पत्र लेखेको हो । एमसीसीमा आवद्ध हुन पाउँ भनेर । 

    झलनाथ खनाल, बाबुराम भट्टराई उनिहरु प्रधानमन्त्री हुँदा एमसीसीको प्रक्रियामा सहभागी भएका छन्, तर यहाँ त प्रधानमन्त्री र रक्षामन्त्री भैसकेकाले पनि नबुझी कमेन्ट गर्ने काम भयो । यो गलत हो ।’

    क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसीसी देशको हितमा भएको उल्लेख गरे । उनले थपे–‘एमसीसी सम्झौता पारदर्शी छ । फागनु १६ गतेसम्म पास गर्नुपर्छ । 

    सबै दल एकमत भएर जानुपर्छ । दल ठूलो होईन, देश ठूलो हो । देशको अन्तर्राष्ट्रिय छवि ठूलो हो । हामीले एमसीसी पास गराउनको लागि एमालेलाई अनुरोध गरेका छौं । अहिले छलफल चलिरहेको छ ।  

    गठबन्धन जोगाउँ र एमसीसी पास गराउँ भन्ने हाम्रो पहिलो शर्त हो । एमसीसी फेल गरेर गठबन्धनमा हामी बस्दैनौं ।’
    उनले देश ठप्प पारेर हिँड्ने कुरा कांग्रेसलाई मान्य नहुने धारणा पनि राखे । 

    उनले भने,‘एमसीसीलाई निवेदन हालेको पनि कांग्रेसले होईन । एमसीसी नेपाल र नेपालीको हितमा छ । त्यही भएर हामीले सम्झौतामा हस्ताक्षर गरेको हो । सडकमा नौटंकी र जात्रा देखाईयो । 

    एमसीसी ठिक छ कि छैन भनेर पढ्नुहोस । अनुदानको विरोध गर्नुहुँदैन् । ऋणमा रमाउने, अनुदानमा गाली गर्ने चरित्र सँगै जान सक्दैन् ।’

    उनले एमसीसी पास गराऔं भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बारम्बार भनिरहेको सुनाए । उनले भने,‘संसदीय व्यवस्था भनेको प्रधानमन्त्रीय प्रणाली हो । 

    प्रधानमन्त्रीले पनि अहिले म तपाईँहरुलाई बाहिर जानुहोस भन्न चाहन्नँ भनेका छन्, यो भनेको त सबैले बुझ्छन् नि, जहाँ कमलो त्यही हिर्काउने काम गर्नुहुँदैन् । 

    अहिले एमसीसी सदनमा टेबुल भएको छ, सभामुखले म रेफ्री हुँ भनेका छन् । साना स्वार्थमा दलहरु फस्नुहुँदैन् ।’
    उनले अहिले एमसीसीलाई लिएर कांग्रेस ‘हाम्रो घरमा कोही काम गर्ने भएनन, बाहिरको आउनुहोस भन्ने अवस्था’ मा पुगेको पनि सुनाए ।

     उनले भने,‘अहिले एमसीसी पास गराउनको लागि गठबन्धनभन्दा बाहिर जानुपर्ने अवस्था पनि छ, अब एमसीसी पास गराउनको लागि एमालेको शर्त छन् । 

    त्यसमा छलफल गरौं । मिलाउँ । निकास खोजौं । एमसीसी पास गराउनको लागि प्रधानमन्त्रीले आवश्यक सबै उपाय अपनाउछन् ।’

    साताको लोकप्रीय