५७ अर्ब पूँजीसहित देशकै ठूलो बन्यो ग्लोबल आइएमई बैङ्क, प्रधानमन्त्री प्रचण्डले गरे प्रशंसा 

५७ अर्ब पूँजीसहित देशकै ठूलो बन्यो ग्लोबल आइएमई बैङ्क, प्रधानमन्त्री प्रचण्डले गरे प्रशंसा 

अर्थ डबली
सोमवार, पुस २५ २०७९
अर्थ डबली
सोमवार, पुस २५ २०७९ (अर्काइभ बाट)
  • ५७ अर्ब पूँजीसहित देशकै ठूलो बन्यो ग्लोबल आइएमई बैङ्क, प्रधानमन्त्री प्रचण्डले गरे प्रशंसा 

    काठमाडौँ / ग्लोबल आइएमई बैङ्क लिमिटेड र बैङ्क अफ काठमाण्डूले एकीकृत कारोबार शुरू गरेका छन् ।  मर्जरपछि ग्लोबल आइएमई बैङ्क लिमिटेडको नामबाट बैङ्कले सोमबारदेखि एकीकृत कारोबार सुरू गरेको हो । 

    images
    images

    काठमाडौँमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई बैङ्कको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । 

    एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैङ्कहरू ठूलो हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्ने बताए । 
    उनले भने, “बैङ्क मर्जर असाधारण काम हो, यो प्रसंशायोग्य छ । बैङ्क ठूला हुँदा ठूलाठूला परियोजनामा लगानी जुटाउन सहयोग पुग्नेछ । ठूला बैङ्कले मुलुकको दूरदराजसम्म नबिनतम् बैङ्किङ्ग सेवा र वित्तीय साक्षरता अभिवृद्धि गर्न काम गर्न जरूरी छ ।" 

    प्रधानमन्त्री प्रचण्डले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको र यसका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको समेत बताए । प्रधानमन्त्री प्रचण्डले साना व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा सुरू गरेका ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्र ढकाल र आफ्नो राजनीतिक जीवनमा धेरै समानता रहेको बताए । 

    साथै उनले मुलुककै सबैभन्दा ठूलो बैङ्कको अध्यक्ष बन्न सफल भएकोमा अध्यक्ष ढकाललाई बधाई तथा शुभकामना समेत दिएका छन् । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार अर्थतन्त्र सुधारमा केन्द्रित रहेको र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । “वर्तमान सरकार मुलुकको अर्थतन्त्र सुधार गर्न प्रतिवद्ध छ । हामीले हाम्रो पहिलो क्याबिनेट बैठकबाट नै मुलुकको अर्थतन्त्र सुधार गर्ने लक्ष्यका साथ काम सुरू गरेका छौँ,” उनले भने । 

    नेपाल सरकारका मुख्य सचिब शंकरदास बैरागीले अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखिएकोले निजी क्षेत्र हतोत्साहित हुनुपर्ने अवस्था नभएको बताए । 
    “अर्थतन्त्रमा सकारात्मक संकेत र आर्थिक सूचकमा सुधार आएको छ । बैङ्कहरूको ठूलो मर्जरले वित्तीय क्षेत्रको स्थायित्वमा ठूलो योगदान पुर्याउँन सक्छ,” उनले भने । उनले नेपाल सरकार निजी क्षेत्रलाई साथमा लिएर, निजी क्षेत्रको मनोबल बढाएर अगाडि बढ्ने जिकिर गरे । 

    नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्क तथा वित्तीय संस्थाहरूको मर्जरले बैङ्क तथा वित्तीय संस्थाहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जाने बताए । 

    उनले मर्जरले बैङ्कहरू ठूला बन्दै जाँदा बैङ्कहरूले स्वनियमनमा बस्नुपर्ने जनाए ।  उनले ठूला बैङ्कले एकल ग्राहक सिमामा आन्तरिक सीमा समेत कायम गरी साना तथा मझौला ऋणीहरूलाई ऋण प्रवाह गर्नुपर्ने समेत जानकारी दिए । ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बैङ्किङ्ग क्षेत्रका लागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै यस मर्जरसँगै अधिकांश वित्तीय सूचकहरूमा ग्लोबल आइएमई बैङ्क नेपालको नम्बर वान बैङ्क बनेको बताए । 

    “हुन त यसअघि पनि हामी धेरै सूचकमा नम्बर वान् नै थियौँ तर आजको मर्जरपछि हामी झनै माथि उक्लिन सफल भएका छौँ । यो मर्जरसमेत गरेर हालसम्म ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्कर ६ वटा फाइनान्स कम्पनीसहित कुल २१ वटा बैङ्कतथा वित्तीय संस्थाहरू एउटै संस्थाका रूपमा एकीकृत गरेका छौं,” उनले भने । अध्यक्ष ढकालले नेपाल राष्ट्र बैङ्कले मर्जरको नीति घोषणा गरेपछि ग्लोबल आइएमई बैङ्कले त्यसलाई पछ्याउँदै अघि बढेको र सरकार तथा नेपाल राष्ट्र बैङ्कको मर्जर नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर रहेको बताए । 

    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैङ्क सबल बन्ने र सबल बैङ्कले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आइएमई बैैङ्कलाई सफल मर्जरको लागि शुभकामना व्यक्त गर्दै ग्लोबल आइएमई बैङ्कको नेतृत्वमा व्याजदर घटाउन पहल गर्न आग्रहसमेत गरे । 

    बैङ्क अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले बैङ्कको पूँजीगत आधार विस्तार गर्दै क्षमता विकास गर्न मर्जरमा गएको उनको भनाई । उनले बैङ्किङ्ग क्षेत्रप्रति आम जनताको विश्वास बढ्दै गएको बताउँदै यसले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक भूमिका उल्लेख गरे । बैङ्क अफ काठमाण्डूका सञ्चालक तथा संयुक्त मर्जर कमिटिका संयोजक राधेश पन्तले मर्जरको पहिलो सम्झौता भएको ६ महिनाभित्र मर्जर सम्पन्न भएको बताए । 

    दुवै बैङ्कका आआफ्नै विशेषता रहेको बताउँदै उनले मर्जरपछि बैङ्कको व्यवसायको लागत कम हुने बताए । उनले ग्लोबल आइएमई बैङ्क र बैङ्कअफ काठमाण्डूले मर्जरपछि ग्लोबल आइएमई बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार शुभारम्भ समारोहमा उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । 

    नयाँ बैङ्कको सञ्चालक समितिमा ग्लोबल आइएमई बैङ्कको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैङ्क अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । 

    त्यसैगरी बैङ्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । २१ वटा बैङ्क तथा वित्तीय संस्थाहरू गाभिएर बनेको ग्लोबल आइएमई बैङ्कमा ५ वटा वाणिज्य बैङ्क, १० वटा विकास बैङ्क तथा ६ वटा फाइनान्स कम्पनी समाहित भएका छन् ।

    मर्जरपश्चात् बैङ्कको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब रूपैयाँ, कुल पूँजी ५७ अर्ब रूपैयाँ, चुक्ता पूँजी ३५.७७ अर्ब रूपैयाँ, कुल निक्षेप ४ खर्र्ब १२ अर्ब रूपैयाँ, कुल कर्जा ३ खर्ब ७७ अर्ब रूपैयाँ भएको छ । मर्जरपछि बन्ने नयाँ बैङ्क कुल पंूँजी, चुक्ता पूँजी, शाखा सञ्जाल तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैङ्क बनेको छ । 

    दुई बैङ्कहरूको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखारहित बैङ्किङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसुचकहरूमा ग्लोबल आइएमई बैङ्क मुलुकको सबैभन्दा ठूलो बैङ्क बनेको छ ।  

    साताको लोकप्रीय