गणतन्त्रप्राप्तिमा शहीदको त्याग र बलिदान नै प्रमुखः प्रधानमन्त्री

गणतन्त्रप्राप्तिमा शहीदको त्याग र बलिदान नै प्रमुखः प्रधानमन्त्री

अर्थ डबली
सोमवार, माघ १६ २०७९
अर्थ डबली
सोमवार, माघ १६ २०७९ (अर्काइभ बाट)
  • गणतन्त्रप्राप्तिमा शहीदको त्याग र बलिदान नै प्रमुखः प्रधानमन्त्री

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको प्रगति र समृद्धिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरु अमर र अजर हुने बताएका छन् । 

    images
    images

    शहीद दिवसका अवसर पारेर काठमाडौँ महानगरपालिकाले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा उनले भने, “शहीदहरुले जीवित मान्छेलाई अगाडि बढ्न निरन्तर प्रेरणा दिइराखेका हुनछन् ।”

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्राप्ति पछाडि शहीदहरुको त्याग र बलिदान नै प्रमुखरुपमा रहेको उनको भनाइ थियो । समृद्धिका लागि राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणाको स्रोतका रुपमा शहीदहरुले भूमिका खेलिरहेको जनाउँदै उहाँले शहीद दिवसलाई प्रेरणाका रुपमा लिनुपर्ने बताए । 

    “हामीले माघ १६ लाई त्यसैरुपमा स्मरण गर्ने गर्छौं । शहीदलाई स्मरणको अर्थ औपचारिक समारोहका लागि मात्र होइन, हामीले शहीदहरुको सपना राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैका निम्ति समर्पित भएर काम गर्ने सङ्कल्प लिने दिन पनि हो । म यही सङ्कल्पका निम्ति सबैसँग अपिल गर्दछु”, उनले भने । 

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले शहीदहरुले देखेको सपना पूरा गर्ने दायित्व र कर्तव्य हामी सबै नेपालीको काँधमा आएको बताए । 

    शान्त, समृद्ध र विकसित नेपाल बनाउनसके मात्र शहीदको आत्माले शान्ति पाउने जनाउँदै उनले भने, “शहीदका सपना साकार पार्न सम्पूर्ण नागरिकहरु जो जहाँजहाँ छौँ, आ–आफ्नो ठाउँबाट कर्तव्य र दायित्व पूरा गरौँ । सबैसमक्ष मेरो यही अनुरोध छ ।”

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससम्म आइपुग्न नेपाल आमाका धेरै सन्ततिको त्याग, तपस्या र बलिदान रहेको सर्वविदितै रहेको जनाउँदै प्रमुख शाहले आफ्नो जीवनउत्सर्ग गर्ने शहीदको बलिदानले नै आज स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्रका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताए । 

    “अमर शहीदलाई स्मरण गर्ने आजको दिनलाई मैले महत्वपूर्ण र पवित्र पावन दिनका रुपमा  लिएको छु”, उनले भने । 

    शहीद सप्ताहको अन्तिम दिन पारेर महानगरद्वारा आज आयोजित सो कार्यक्रममा प्रधानमन्त्री दाहालले लैनचौरस्थित शहीद स्मारकमा पुगेर शहीद स्तम्भमा पुष्पहार अर्पण गरेका थिए । 

    सो अवसरमा नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । कार्यक्रमअघि शान्ति बाटिकाबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारणको सहभागिता थियो । 

    कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारीसहित कामपाका उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यसहित सर्वसाधारण सहभागी थिए । 

    हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताहका रुपमा विविध कार्यक्रम गरी मनाउने गरिएको छ ।

    साताको लोकप्रीय