दुर्गमका वडा कार्यालयमा इन्टरनेट नचल्दा समस्या

दुर्गमका वडा कार्यालयमा इन्टरनेट नचल्दा समस्या

अर्थ डबली
बिहिवार, माघ १९ २०७९
अर्थ डबली
बिहिवार, माघ १९ २०७९ (अर्काइभ बाट)
  • दुर्गमका वडा कार्यालयमा इन्टरनेट नचल्दा समस्या

    जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा दूरमा छ तमानखोला गाउँपालिका । यहाँका गाउँ निकै विकटमा छन् । अग्ला–अग्ला पहाड र छरिएका बस्तीहरू हुँदा एकदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्ने गर्छ । 

    images
    images
    images

    गाउँहरू सामान्य विकासको पूर्वाधारले भर्खर–भर्खर जोडिँदै छन् । स्थानीय सरकार आएपछि विकासले जोडिन थालेका गाउँका नागरिक अहिलेसम्म इन्टरनेटको पहुँचदेखि निकै टाढा छन् ।

    हरेक पालिकाको केन्द्रदेखि वडा–वडासम्म इन्टरनेट विस्तार गर्ने सरकारको नीतिअनुसार गाउँपालिकाले छ वटै वडा कार्यालयमा इन्टरनेट जडान गरेको छ । 

    चार वर्ष अगाडि गाउँपालिकाले इन्टरनेट जडान गरे पनि राम्रोसँग नचल्दा कर्मचारी र सेवाग्राहीले समस्या भोग्नुपरेको छ । भौगोलिक विकटताका कारण इन्टरनेट नचल्दा सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

    अध्यक्ष बुढामगरले टेकमाइन कम्पनीसँग सम्झौता गरेर सबै वडामा इन्टरनेट विस्तार गरेको भन्दै सुरु सुरुमा राम्रोसँग चले पनि अहिले कहिले चल्ने कहिले नचल्ने गरेको बताए । 

    इन्टरनेट नियमित नचल्दा सेवाग्राही मर्कामा पर्ने गरेको अध्यक्ष बुढामगरको भनाइ छ । सेवालाई थप प्रभावकारी र गुणस्तरी बनाउन थाले पनि इन्टरनेटका कारण सोचेअनुसार काम गर्न नसकेको उनले बताउछन् । 

    अध्यक्ष बुढामगर भन्छन्, “वडा कार्यालय निकै विकट ठाउँमा छन्, डाँडापाखा हुँदै इन्टरनेटको केवल पु¥याइएको छ, नेट कहिले चल्छ कहिले चल्दैन, पञ्जीकरण, राजस्व सङ्कलन, कार्यालयका कागजातसम्बन्धी तथा अन्य काम इन्टरनेटबाटै गर्नुपर्छ तर नचल्दा समस्या भएको छ, सेवाग्राहीलाई दिउँसोभर कुराउनुपर्ने अवस्था छ ।”

    उनले पालिकाको वडा नम्बर ४, ५ र ६ मा बढी समस्या भएको बताउनुभयो । वडा कार्यालयसँगै केही विद्यालयमा पनि इन्टरनेट विस्तार गरेको उनको भनाइ छ । इन्टरनेटलाई व्यवस्थित र द्रूत गतिमा चल्ने गराउनका लागि इन्टरनेट सेवा प्रदायक कम्पनीलाई आग्रह गरिरहेको अध्यक्ष बुढामगर बताउछन् । 

    भौगोलिक विकटताका कारण तारमा समस्या आउँदा कहिलेकाहीँ तत्काल मर्मत गर्न नसक्दा इन्टरनेट अवरुद्ध हुने टेकमाइन नेटवर्क बुर्तिबाङका प्रमुख टेकबहादुर कार्कीले बताए । उनले बर्खामा बाहेक अन्य समय नियमित इन्टरनेट सञ्चालन हुने गरेको बताउनुभयो । सेवालाई थप व्यवस्थित गर्नका लागि कम्पनीले व्यवस्थापनलाई चुस्त बनाइरहेको उनि बताउछन् । 

    कार्की भनछन्, “तमानखोलाको धेरै ठाउँमा भौगोलिक विकटताका कारण पुग्न गाह्रो हुन्छ, टाढाबाट वन जङ्गल हुँदै तारमार्फत इन्टरनेट वडा कार्यालयसम्म पु¥याएका छौँ, कहिलेकाहीँ प्राविधिक समस्या आउँदा सेवा अवरुद्ध हुनु स्वाभाविक भयो, धेरै समय तीव्र गतिमै नेट चल्छ, बर्खामा हो अलिकति समस्या हुने नत्र त्यसरी सबै अवरुद्ध हुँदैन ।”

    निसीखोला गाउँपालिका–६ को कार्यालयमा पनि निरन्तर इन्टरनेट नचल्दा सेवा प्रवाहमा समस्या भएको वडाध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान) ले बताए । उनले इन्टरनेट आउने जाने गर्दा सेवाग्राहीले समयमै सेवा पाउन नसकेको गुनासो गरे । 

    साताको लोकप्रीय