सालको पातको दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी

सालको पातको दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी

अर्थ डबली
शुक्रवार, माघ २० २०७९
अर्थ डबली
शुक्रवार, माघ २० २०७९ (अर्काइभ बाट)
  • सालको पातको दुना-टपरी बनाएर मासिक २० हजार आम्दानी

    कपिलवस्तु / बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छन्। थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेका हुन् । 

    images
    images

    घरबाट बाहिर निस्कन नखोज्ने उहाँलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना-टपरी बनाउने तालिम दिएको थियो । 

    “तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना–टपरी बनाउने सीप सिकेँ, अहिले यही पेसाबाट जीवनयापन चलाइरहेकी छु”, थापाले भनिन् ।

    सुरुमा दुना–टपरी बेचेर पनि के जीविकोपार्जन होला भन्ने सोचेको उहाँ सुनाउछिन्। “जब यो पेसा अँगाल्दै गएँ, अहिले मासिक रु २० हजार आम्दानी गर्ने भएकी छु”, उनले भनिन् । लालीगुराँस दुना–टपरी उद्योग नै दर्ता गरेर उनले व्यवसाय सञ्चालन गरेकी छन् । 

    सुरुआती चरणमा छ जना महिला मिलेर खोलेको उद्योग भए पनि अहिले उनी एक्लैले चलाएकी छन् । “एक जना सदस्यको मृत्यु भयो, एक जनाको मेसिनले हात काट्यो, केही साथीले छाडे”, उनले भनिन्, “अहिले एक्लै उद्योग चलाएकी छु ।”

    सालको पातबाट बनाइने दुना–टपरीको खपत पनि राम्रै छ । जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, चार नम्बर, बहादुरगञ्जसम्म उहाँले बनाएर दुना–टपरी जाने गरेका छन् ।  

    हातैबाट दुना–टपरी बनाइने गरिन्छ । त्यसलाई राम्रो बनाउनका लागि मेसिनमा राख्ने गरिन्छ । रु एक लाख ५० हजारको लगानीमा उनले मेसिनसमेत खरिद गरेकी छन् ।

    पूर्व वडासदस्यसमेत रहेर काम गरेकी थापा व्यवसायमा जोडिएकै कारण जनप्रतिनिधि हुने अवसर पाएको बताइन् । 

    “गाउँलेबाट सालको पात खरिद गर्न थाले, यसले सम्पर्क विस्तार भयो, विसं २०७४ को स्थानीय तहको चुनाव उठेर जिते”, उनले विगत सुनाउँदै भनिन्, “दुना–टपरी उद्योगले मेरो व्यक्तिगत जीवनमा बदलाव ल्याएको छ ।”

    पटना क्षेत्रमा जङ्गल पर्याप्त छ । सालका पात पाउन खासै समस्या छैन । जङ्गलमा खेर जाने सालको पात सदुपयोग गरेर आम्दानी गर्दा उहाँ आफैँ दङ्ग हुनुहुन्छ । विशेषगरी उहाँले बनाएका दुना–टपरी घरायसी र व्यावसायिक प्रयोजनका लागि ग्राहकले लैजाने गरेका छन् । चाडपर्व, पूजा, विवाह तथा मृत्यु संस्कारमा पनि हरियो दुना–टपरीको माग हुने गरेको छ ।

    थापाले स्थानीयवासीले ल्याएको सालको पात खरिद गर्दै आउनुभएको छ । एक सय पातको रु ४० दिने गरेको उनले बताइन्। थापाले बेच्ने प्रतिदुना–टपरीको मूल्य आकारअनुसार सात रुपैयाँदेखि डेढ रुपैयाँसम्मको पर्छ । 

    आफूले दुना–टपरी उद्योग सञ्चालन गर्दै आए पनि स्थानीय सरकारबाट कुनै सहयोग नमिलेको उनले बताइन्। आफू जनप्रतिनिधि हुँदा पटक–पटक यो कुरा उठाए पनि सुनुवाइ नभएको उनको गुनासो छ । 

    “स्थानीयस्तरमा सिकेको सीपलाई प्रोत्साहन गर्ने काम स्थानीय तहले गरेको छैन । दुना–टपरी बनाउँदा चाहिने क्वाइल भारतबाट ल्याउनुपर्छ, स्थानीय सरकारले सहयोग गरे राम्रो हुन्थ्यो”, उनले भनिन् । 


    बजारमा छ्यापछ्याप्ती प्लाष्टिकका साम्रगी पाइने गरेका छन् । पानीपुरी पसलदेखि मुख्य बजारका चोकचोकका रहेका ठेलागाडाले प्लाष्टिकको प्रयोग गर्ने गरेका छन् । त्यसले गर्दा वातावरण नै प्रद्रषित हुने गरेको छ । सालका पातको प्रयोगले मानव स्वास्थ्यदेखि वातावरण सरसफाइमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।

    स्थानीय पालिकाले प्लाष्टिकका सामग्री निषेध गर्नुपर्नेमा उहाँको जोड छ । प्लाष्टिकमुक्त पालिका बनाउनका लागि पनि यस्ता उद्यमीलाई प्रोत्साहन दिनुपर्छ । साथै उनले बाणगङ्गा नगरभित्र रहेका दुना–टपरीलाई एकीकृत गरी बिक्रीको प्रबन्ध मिलाइदिन आग्रह गरिन् । 

    साताको लोकप्रीय