शीर्ष २० धनाढ्यको सूचीबाट पनि बाहिरिए गौतम अडानी 

शीर्ष २० धनाढ्यको सूचीबाट पनि बाहिरिए गौतम अडानी 

अर्थ डबली
शुक्रवार, माघ २० २०७९
अर्थ डबली
शुक्रवार, माघ २० २०७९ (अर्काइभ बाट)
  • शीर्ष २० धनाढ्यको सूचीबाट पनि बाहिरिए गौतम अडानी 

    अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि अदानी ग्रुपको कम्पनीको शेयरमा आएको सुनामीले गौतम अडानीको साम्राज्यलाई हल्लाएको छ । पछिल्लो तथ्यांक अनुसार भारतका उद्योगपति गौतम अडानी विश्वको धनीहरूको टप–२० को सूचीबाट पनि बाहिरिएका छन् । 

    images
    images

    अडानी अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक नहुदासम्म शीर्ष १० धनाढ्य सूचीको चैथो स्थानमा थिए । २०२३ जनवरी २४ मा यो प्रतिवेदन सार्वजनिक भएपछि उनको कम्पनीको शेयरमा सुनामी आइरहेको छ। 

    एसियाका सबैभन्दा धनी व्यक्ति तथा अदानी समूहका अध्यक्ष अडानी लामो समयदेखि शीर्ष १० अर्बपतिको सूचीमा चौथो स्थानमा थिए तर अहिले उनी टप –२० धनी व्यक्तिहरुको सूचीबाट बाहिरिएका छन् ।

    हरेक दिन अडानीको नेट वर्थमा ठूलो गिरावट आइरहेको छ । आर्थिक क्षेत्रको सञ्चारमाध्यम ब्लूमबर्ग म्यागजिनका अनुसार अडानी २१ औं स्थानमा पुगेका छन् । उक्त सूचीलाई आज शुक्रबार नै अपडेट गरिएको हो ।

    1.JPG

    मार्क जुकरबर्ग भन्दा पछाडि

    ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको नेटवर्थमा आएको गिरावटका कारण उनी अब अर्बपतिको सूचीमा २१ औं स्थानमा झरेका छन् ।

    उनको नेटवर्थ ६१.३ बिलियन डलरमा झरेको छ र पछिल्लो २४ घण्टामा उनले १०.७ बिलियन डलर गुमाएका छन् । सेयरमा आएको गिरावटका कारण सिर्जना भएको अवस्थाबीच गौतम अडानी अहिले फेसबुक नामक सामाजिक सञ्जाल का परिकल्पनाकार मार्क जुकरबर्गभन्दा पनि पछाडि परेका छन् ।

    हाल जुकरबर्गको कुल सम्पत्ति ६९.८ बिलियन डलर छ र उनी धनाड्य सूचीमा १३ औं स्थानमा पुगेका छन् । गौतम अडानी बिहीबार ६४.७ अर्ब डलरसहित विश्वका धनीहरुको सूचीमा १६ औं स्थानमा थिए भने २४ घण्टामा उनको सम्पत्तीमा भएको भारी गिरावटसंगै धनाड्यको पाँच स्थान तल झरेर २१ औं स्थानमा पुगेका छन् ।

    सन् २०२२ मा सबैभन्दा धेरै कमाउने व्यक्तिको रूपमा आफ्नो छाप छोड्ने अदानीका लागि २०२३ साल निकै खराब सावित भएको छ । घाटाको बारेमा कुरा गर्दा, ब्लूमबर्गको तथ्याङ्क अनुसार, यो वर्षको सुरुदेखि उनको सम्पत्ति ५९.२ बिलियन डलर घटेको छ । पछिल्लो १० दिनमा मात्रै उनले ५२ अर्ब डलर गुमाएका छन् ।

    यस्तो थियो बिहीबार शेयरको अवस्था 

    पछिल्लो एक सातामा गौतम अडानीका कम्पनीको सेयरमा आएको गिरावटका कारण सेयर बजारमा सूचीकृत उनका कम्पनीको कुल मार्केट क्याप १०० अर्ब डलरभन्दा बढीले घटेको छ । 

    बिहीबार शेयर बजारमा कारोबार बन्द हुँदा अदानी इन्टरप्राइजेज लिमिटेड २१.६१ प्रतिशत घटेर रु १,६९४.१०, अदानी पावर लिमिटेड ४.९८ प्रतिशत घटेर रु २०२.०५, अडानी विल्मार ५ प्रतिशत घटेर रु ४२१.०० मा पुग्यो ।

    अदानी ग्रीन एनर्जी लिमिटेडको सेयर १० प्रतिशत घटेर रु १,०३९.८५ मा, अडानी टोटल ग्यास लिमिटेडको शेयर १० प्रतिशतले घटेर रु १,७०७.७० र अदानी ट्रान्समिसन लिमिटेडको शेयर १० प्रतिशतले घटेर रु. १,५५१.१५ मा पुगेको छ। यसबाहेक अदानी पोर्ट्सको शेयर पनि ४.६६ प्रतिशतले घटेर ४७२.१० रुपैयाँमा पुगेको छ ।

    मुकेश अम्बानी पनि शीर्ष १० को सूचीबाट बाहिरिए

    गौतम अडानीको सम्पत्तिमा तीव्र गिरावट आएपछि उनी अहिले शीर्ष २० अर्बपतिको सूचीबाट बाहिर छन्। योसँगै शीर्ष १० अर्बपतिको सूचीमा परेका दोस्रो भारतीय अर्बपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको सम्पत्ति पनि घटेको छ र उनी पनि शीर्ष १० धनीको सूचीबाट बाहिरिएका छन् ।

    मुकेश अम्बानीको कुल सम्पत्ति गत २४ घण्टामा एकै दिन ६९ करोड ५० लाख डलरको नोक्सानीका कारण ८०.३ बिलियन डलरमा झरेको छ र यति धेरै सम्पत्तिसँगै उनी ब्लूमबर्गको अर्बपतिको रिपोर्टमा १२औँ स्थानमा पुगेका छन् । तर, गौतम अडानीलाई पछि पार्दै, मुकेश अम्बानी अहिले एसियाकै धनी व्यक्ति बनेका छन् ।

    अडानीका तीन कम्पनी एएसएमको निगरानीमा 

    दिन प्रतिदिन गौतम अडानीका कम्पनीहरुको अवस्था नाजुक बन्दै गएको छ । यसैबीच, स्टक बजारको नेशनल स्टक एक्सचेन्ज (एनएसई) ले अदानी समूहका तीन कम्पनी अदानी इन्टरप्राइजेज, अदानी पोर्ट्स र अम्बुजा सिमेन्टलाई अतिरिक्त निगरानी (एएसएम) अन्तर्गत राख्ने निर्णय गरेको छ।

    हिन्डनबर्ग रिसर्च रिपोर्ट पछि, गौतम अडानी, जो अहिलेसम्मकै सबैभन्दा ठूलो घाटाको सामना गरिरहेका छन्, अदानी इन्टरप्राइजेजको २०, हजमर करोड रुपैयाँको फलो–अन पब्लिक अफर (एफपीओ) पूर्ण रूपमा सदस्यता लिएर लगानीकर्ताहरूको पैसा पनि एफपीओ फिर्ता लिएको थियो। 

    हिन्डनबर्गको रिपोर्टमा के छ ?

    अमेरिकी फरेन्सिक वित्तीय कम्पनी हिन्डनबर्गले आफ्नो अनुसन्धान प्रतिवेदनमा अदानी समूहका बारेमा धेरै गम्भीर प्रश्न उठाएको छ । यसमा जम्मा ८८ प्रश्न उठेका छन् भने समूहमा ऋण लिएर ठूला दाबी पनि गरिएको छ ।

    ‘अदानी ग्रुपः हाउ द वर्ल्डज थर्ड रिचेस्ट म्यान इज पुलिङ द लार्जेस्ट कोन इन कर्पोरेट हिस्ट्रीु शीर्षकको यो रिपोर्ट जनवरी २४, २०२३ मा प्रकाशित भएको थियो। यस प्रतिवेदनमा अदानी समूहको कर्पोरेट गभर्नेन्सलाई लक्षित गर्दै धेरै गम्भीर प्रश्नहरू उठाइएका छन् ।’ 

    गौतम अडानीले यो प्रतिवेदनलाई आधारहीन भने पनि लगानीकर्ताको मनोबलमा पर्ने असरलाई हटाउन भने सकेनन् । लगानीकर्तामा यस्तो त्रासको वातावरण सिर्जना भयो कि अदानीको सम्पूर्ण साम्राज्य नै हल्लायो ।

    साताको लोकप्रीय