‘नेपाली चियाको गुणस्तर जाँच गर्न  भारत धाउनुपर्छ ’

‘नेपाली चियाको गुणस्तर जाँच गर्न  भारत धाउनुपर्छ ’

अर्थ डबली
बिहिवार, माघ २६ २०७९
अर्थ डबली
बिहिवार, माघ २६ २०७९ (अर्काइभ बाट)
  • ‘नेपाली चियाको गुणस्तर जाँच गर्न  भारत धाउनुपर्छ ’

    झापा / नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी  समस्यामा परेका  छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला  नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । 

    images
    images

    उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौँ काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताए ।

    उनले मुलुकमै चिया निर्यातबाट वार्षिक तीन अर्ब बढी रकम भित्रिरहँदा पनि सरकारको स्वदेशमै प्रयोगशाला स्थापनाको पहल नगरेको गुनासो गरे । “चिया उद्योगप्रति सरकारको व्यवहार विभेदपूर्ण छ,” उनले भने–“भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पु¥याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ ।” सरकारले चाहने हो भने प्रयोगशाला राख्नु कुनै ठूलो समस्या नभएको उनको भनाइ छ ।

    नेपाली चिया उत्पादकहरुले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त ल्याब खोल्न सरकारसँग पटक–पटक माग गरेका छन् । मुलुकमित्र चियाको गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गरे । मुलुकको आर्थिक सूचकाङ्कमा चिया उद्योग सफल उद्योगको रुपमा चित्रित भए तापनि सरकारको नीति र दृष्टिकोण भने सकारात्मक नभएको साना किसान चिया सहकारी सङ्घका अध्यक्ष हर्क तामाङको आरोप छ ।

     भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यको आधारमा ५० वर्षदेखि एउटै मूल्यमा नेपाली उद्योगी, व्यवसायी चिया बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड ल्याबमा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताए । उनले नेपालको कूल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश नं १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको ल्याब स्थापना गर्ने तयारी भइरहेको बताए । 

    उनले मुलुकमै गुणस्तर परीक्षण गर्ने ल्याब सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने बताए । नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ । त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

    हाल वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । कूल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । बोर्डका अनुसार चिया निर्यातबाट बर्सेनी रु तीन अर्ब ८० करोड विदेशी मुद्राआर्जन हुने गरेको छ । चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    नेपालमा चिया उत्पादन गर्ने ३०  अर्थोडक्स र ३८ वटा सिटिसी गरी ६८  ठूला चिया उद्योग सञ्चालनमा छन् । एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् । नेपालमा एक सय ६० भन्दा बढी चिया बगान रहेका छन् । चिया खेतीमा १५ हजार भन्दा बढी साना किसान आवद्ध छन् ।

    साताको लोकप्रीय