३ बर्षमा बनाउने लक्ष्य राखिएको हुलाकी सडक ६ बर्षसम्म पनि किन बनेन ? 

३ बर्षमा बनाउने लक्ष्य राखिएको हुलाकी सडक ६ बर्षसम्म पनि किन बनेन ? 

अर्थ डबली
सोमवार, फागुन १ २०७९
अर्थ डबली
सोमवार, फागुन १ २०७९ (अर्काइभ बाट)
  • ३ बर्षमा बनाउने लक्ष्य राखिएको हुलाकी सडक ६ बर्षसम्म पनि किन बनेन ? 

    कञ्चनपुर / कञ्चनपुरमा हुलाकी सडकको काम सुस्त गतिमा छ । तीन वर्षमा निर्माण पूरा गर्ने लक्ष्यअनुसार काम सुरु गरिए पनि छ वर्ष बितिसक्दा पनि सकिएको छैन ।

    images
    images

    सडक सञ्जालको विकास र विस्तार गरी दुर्गम क्षेत्र र विपन्न समुदायलाई उचित ध्यान दिई समग्र सामाजिक–आर्थिक विकास र एकीकरणलाई दिगो रूपमा विकास गर्ने लक्ष्यअनुसार निर्माण सुरु भएको हुलाकी सडक समयमै सम्पन्न नहुँदा यहाँका स्थानीयवासीले सास्ती खेप्दै आएका छन् । 

    निर्माण सुरु भएदेखि हालसम्म पाँच पटक म्याद थप भइसकेको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ । कैलाली र कञ्चनपुरको सीमा पुनर्वास नगरपालिकाको डोकेबजारदेखि पुनर्वास, बेलौरी, बेलडाँडी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बेदकोट नगरपालिकाको सिसैसासम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको काम तीन प्याकेजमा भइरहेको छ । 

    “तीन प्याकेजमा सडक निर्माणको काम भइरहेको छ, अहिले पनि काम धेरै सुस्त छ”, हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर बर्कबहादुर कठायतले भने, “अहिले यो आवभित्र काम सम्पन्न गर्ने गरी म्याद थप भएको छ ।” 

    सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दा निर्माण कम्पनीको म्याद स्वतः असार मसान्तसम्म थपिएको हो । उनले निर्माण कम्पनीले समयमा काम नगर्दा सडक समयमा निर्माण हुन नसकेको बताए ।

    डोकेबजारदेखि बेलौरी नगरपालिकाको बुटाबारीसम्म पहिलो प्याकेजको २० किलोमिटर र बेलडाँडीदेखि सिसैयासम्म तेस्रो प्याकेजको २२ किलोमिटर सडक निर्माणका लागि विसं २०७३ फागुनमा शर्मारराजेन्द्र जेभीसँग सम्झौता भएको थियो । पहिलो प्याकेज रु ३६ करोड ४७ लाख र तेस्रो प्याकेज रु ३८ करोड ५७ लाखमा ठेक्का सम्झौता भएको थियो । 

    हुलाकी सडक आयोजनाका कार्यालयका अनुसार पहिलो प्याकेजको काम ९० प्रतिशत सकिएको छ भने तेस्रो प्याकेजको काम ७५ प्रतिशत मात्रै सकिएको छ । त्यसैगरी दोस्रो प्याकेजअन्तर्गत २० किलोमिटर सडक निर्माणका लागि बाबाहंसरसिद्धि शाही जेभीसँग ४१ करोड ४१ लाखमा ठेक्का सम्झौता भएको थियो । 

    दोस्रो प्याकेजअन्तर्गत बेलौरी नगरपालिका–८ स्थित पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधका कारण काम हुन सकेको इञ्जिनीयर कठायतले बताए । “उक्त क्षेत्रमा दशगजामा पर्ने भन्दै एसएसबीले निर्माणमा अवरोध गरेकाले काम अगाडि बढ्न सकेको छैन ।” उनले भने, “अरु अवरोध छैन, निमार्ण व्यवसायीकै ढिलासुस्तीका कारण सडक निर्माण सम्पन्न हुन सकेको छैन ।”

    हुलाकी सडक निर्माण नहुँदा कञ्चनपुरको दक्षिणी क्षेत्रका जनताले धेरै दुःख भोग्नुपरेको पुनर्वास नगरपालिका–२ का वडाध्यक्ष डम्बरबहादुर थापाले बताए । 

    “सडक नहुँदा बैलगाडा हिँडाउन सक्ने अवस्था छैन,” उनले भने, “सडक नहुँदा यहाँको किसानले धेरै दुःख भोग्नुपरेको छ ।” थापाका अनुसार यहाँका कृषकले तरकारी बिक्रीका लागि धनगढीसम्म पु¥याउन समस्या छ । 

    “हुलाकी सडक बने यहाँका उत्पादन सिधैँ महेन्द्रनगर बजारसम्म पुगाउन सजिलो हुन्थ्यो,” अध्यक्ष थापाले भने, “निर्माण व्यवसायीको लापरबाहीले समयमा सडक सम्पन्न हुन सकेको छैन ।”

    हुलाकी सडक नबन्दा कञ्चनपुरको दक्षिणी क्षेत्रका बासिन्दा मार्कामा परेको यहाँका स्थानीय जगत चौधरीले बताए । “सडक नबन्दा नजिकैको महेन्द्रनगर पनि धेरै टाढा छ हाम्रो लागि आउन जान निकै सकस हुन्छ,” चौधरीले भने, “अझै पनि समयमा काम हुने छाँटकाँट छैन ।”

    स्थानीयले पटकपटक ताकेता गर्दा पनि समयमा काम हुन नसकेको स्थानीय बताउँछन् । 

    साताको लोकप्रीय