दुर्गम क्षेत्रमा रेडियोको महत्त्व बढ्दो, छानोमा एन्टिनाको तार राखेर रेडियो सुन्छन् स्थानीय 

दुर्गम क्षेत्रमा रेडियोको महत्त्व बढ्दो, छानोमा एन्टिनाको तार राखेर रेडियो सुन्छन् स्थानीय 

अर्थ डबली
मंगलवार, फागुन २ २०७९
अर्थ डबली
मंगलवार, फागुन २ २०७९ (अर्काइभ बाट)
  • दुर्गम क्षेत्रमा रेडियोको महत्त्व बढ्दो, छानोमा एन्टिनाको तार राखेर रेडियो सुन्छन् स्थानीय 

    फुङ्लिङ / जीर्णोद्धार गरिएको र काठले छाएको घर निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको छानोमा एउटा अग्लो खम्बा गाडिएको छ । 

    images
    images

    त्यो रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो । यो दृश्य हो ताप्लेजुङको जिल्लाकै उच्च हिमाली तथा पूर्वी नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ को दुर्गम बस्ती याङ्माको । 

    याङमा गाउँका ठावा शेर्पालाई घरमा एक्लै बस्न विरक्त लागेपछि रेडियो सुन्छन्। गाउँका सबै याक गोठमा गएपछि गाउँ रुँग्ने एक्लै भएकाले रेडियो नै उनको साथी बनेको छ । 

    याङमा गाउँमा ११ घर परिवार बसोबास गर्दै आए पनि घरमा प्राय ताल्चा लागेको देखिन्छ । यहाँका समुदायको प्राय याक गोठमै समय बित्छ । अहिले पनि गाउँमा खासै मान्छे भेट्न मुस्किल परे पनि गाउँ रुँग्ने ६६ वर्षीय उनलाई भने सहजै भेट्न सकिन्छ । 

    त्यहाँ मोबाइलको टावर नभएकाले कसैसँग पनि न मोबाइल छ न त टेलिभिजन नै । स्थानीयवासी सबैले रेडियो सुन्न सक्दैनन् । घरको छानोमा एन्टिनाको तार राख्न सक्नेले मात्र रेडियो नेपाल र केही एक दुई रेडियोको फ्रिक्वेन्सी भने सुन्न सक्ने शेर्पाले बताए । 

    उनले भने, “सबैको घर बन्द छ । गोठमा गएपछि मेरो साथी भनेकै रेडियो हो ।” उनले रेडियोबाटै देश विदेशमा के भइरहेको छ भन्ने खबर प्राप्त गर्ने गरेको जानकारी दिए । उनले भने, “अगाडि त कोसी एफएम पनि अलिअलि टिप्थ्यो तर, हिजो आज त्यो पनि टिप्न छोड्यो ।” 

    याङ्मा क्षेत्रमा एक दुई वटा रेडियोका फ्रिक्वेन्सी सुन्नेबाहेक अन्य सञ्चारमाध्यमका पहुँच पुग्न सकेको छैन । रेडियो पनि घरको धुरीमा तार राखेर एरियल जोड्नुपर्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताए । 

    सञ्चारको पहुँच नभएकै कारण कुनै विशेष वा संवेदनशील खबर समयमै नपाउँदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दाले भनाइ छ । कुनै जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एक दिन पैदल हिँडेर ओलाङचुङगोला पुग्नुपर्दछ । 

    त्यहाँ भने करिब दुई वर्षअघि नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेकाले सञ्चार सम्पर्क गर्न सहज भएको हो । मोबाइलको टावर राख्नुअघि ओलाङ्चुङगोलामा पनि सञ्चारको समस्या उस्तै थियो । 

    बर्खा याममा भने याङ्मा–ओलाङ्चुङगोला आवतजावत गर्न सक्ने अवस्था नभएको याङ्मावासीको भनाइ छ । याङ्मा खोलामा हिउँदमा काठे पुल हालेर आवतजावत गरिन्छ भने बर्खामा पुल बगाउने भएकाले ओलाङ्चुङगोलासँग सम्पर्क टुट्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताए । 

    उनकाअनुसार याङ्मा गाउँदेखि एक÷डेढ घण्टा दूरीको डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनै बेला स्काइ मोबाइलमा सम्पर्क भए पनि सहजरूपले कुरा गर्न पाइँदैन । दुर्गम तथा दूरदराजको याङ्मामा थोरै परिवार र पातलो बस्ती भएकाले सञ्चारको पहुँच पुर्याउन तत्काललाई कुनै योजना नभएको गाउँपालिकाले जनाएको छ । 

    कुनै पनि सञ्चारमाध्यमका नेटवर्क नचल्ने हुँदा सञ्चार प्रवाहमा स्वयं मानिसको उपस्थिति वा चिठीपत्रबाहेक अर्को विकल्प नभएको अर्का स्थानीयवासी टासीफिन्जो शेर्पाले बताए। याङ्माका बासिन्दाको मुख्य व्यवसाय भनेको परम्परागत याकपालन हो । 

    प्राय याकगोठमै समय बिताउने याङ्मावासीले गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउने वा सुसेल्नु पर्ने हुन्छ। ठूलो आवाजमा कराएको र सुसेलेको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको याक गोठाला कान्देग्याबु शेर्पाको भनाइ छ । 

    जिल्लामा भने एफ एम रेडियोको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको पहिलो सामुदायिक रेडियो तमोर एफएम हो । तमोरले गत महिना मात्र १५औँ स्थापना दिवस मनाएको छ । रेडियो तमोरले स्थापना दिवसले ताप्लेजुङमा रेडियो स्थापना भएको १५ वर्ष पुगेको मान्न सकिन्छ । 

    रेडियो तमोर स्थापना भएयता तीन रेडियो स्थापना भएका छन् । तीन महिना अगाडि मात्र रेडियो काबेली स्थापना भएर नियमित प्रसारण सुरु गरेको छ । योसँगै जिल्लामा चार रेडियो स्थापना भएको छ । रेडियोले विपद्को समय, निर्वाचनको समय, विशेष प्रकारका प्रतियोगिता जस्ता समय भरपर्दो सूचना प्रवाह गर्नु महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । 

    ताप्लेजुङमा एउटा दैनिक पत्रिका र एउटा साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको र आधा दर्जन अनलाइन सूचना विभागमा दर्ता भई सञ्चालन हुँदै आएको नेपाल पत्रकार महसङ्घ ताप्लेजुङले जनाएको छ ।   

    साताको लोकप्रीय