मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, कसले दिन पाउँछन् आवेदन ?

मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, कसले दिन पाउँछन् आवेदन ?

अर्थ डबली
मंगलवार, फाल्गुण ९ २०७९
अर्थ डबली
मंगलवार, फाल्गुण ९ २०७९ (अर्काइभ बाट)
  • मेन्छियाम हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, कसले दिन पाउँछन् आवेदन ?

    काठमाडौँ / मेन्छियाम हाइड्रोपावर लिमिटेडले बुधवार (भोलि) बाट पहिलो चरणको आईपीओ निष्कासन गर्दै छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो । 

    images
    images

    जारी पूँजी ५४ करोड रूपैँयाभन्दा बढीको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागिएको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर विक्री हुनेछ । 

    कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र संखुवासभाको साविक सिद्धकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दाहरूका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर संखुवासभाका बासिन्दाहरूमा विक्री गरिनेछ ।

    कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई विक्री गर्नेछ । यस आधारमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८ हजार ५१७ कित्ता शेयर विक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ । 

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि फागुन १० देखि २५ गतेसम्म आवेदन दिने अवधि तोकिएको छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा चैत ९ गतेसम्मका लागि आईपीओ विक्री अवधि थप हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ । 

    कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, मादी नगरपालिका–७ वागा, चैनपुर नगरपालिका–३, तीनखोप्रे रेडक्रस भवनका साथै एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

    वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत आवेदन दिन सक्नेछन् । 

    आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले संखुवासभामा ४.७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला– २ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी हाल परीक्षण उत्पादन गरिरहेको छ । 

    आयोजना निर्माणको कुल लागत १ अर्ब रुपैयाँभन्दा बढी छ भने प्रतिमेगावाट लागत रू। २७ करोडभन्दा माथि छ । अधिकृत पूँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ ।

    आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारीपछि कम्पनीको चुक्तापूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँ कायम हुनेछ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९ दशमलव ६४ वर्ष छ भने छूटमा लगानी फिर्ता हुने अवधि २७ दशमलव ३६ वर्ष रहेको छ । आयोजनाको विद्युत् उत्पादन अनुमति २८ वर्ष बाँकी छ । 

    साताको लोकप्रीय