भनिन्छ, भमरोको घर पनि हुन्न, भर पनि हुन्न । रसको खोजीमा घुमन्ते जीवन बाँचिरहेका भमरोलाई बास दिइरहेका छन् मौरीपालक किसान पुर्मल बस्नेतले । २० बर्ष नेपाल आर्मी र पाँच बर्ष अफगानस्तानमा बिताएका बस्नेतले वि.सं. २०६७ सालमा दुई ओटा घारबाट मौरी पालन सुरु गरेका हुन् । कृषि व्यवसायमा लाग्ने रहर उनको । साढे ९ धुर जग्गामा सम्भव थिएन । त्यसैले मौरी पाल्न लागेको उनी बताउँछन् ।
मौरी चराउन प्युठान, बाँके, दाङ, कैलालीलगायतका क्षेत्रमा पुग्दा उनले रैथाने मौरीहरू लोप भएको थाहा पाए । उनी भन्छन्, “आयातित मौरीलाई माया गरेर पाल्ने हामी यही सेक्टरको अन्य कीट लोप हुँदा चुप लागेर बस्न मेरो मन मानेन,” उनी भन्छन् ।
पत्रपत्रिकामा भमरो लोप हुन लागेको समाचार पढेपछि उनी झन दुःखी बने । त्यसपछि पुत्का मौरी, भमरो, सेरेना, घरमौरी आदिको अध्ययन गर्न थाले । विज्ञहरूले भमरो पाल्न सकिदैन भने । छिमेकीहरूले पागल भने । तर, हरेस खाएनन् उनले । “सामुदायिक वन भाडामा लिएपछि त छिमेकीहरूले झनै अब यो पागल भयो । जङ्गल पस्छ भने । तर, म निरन्तर लागिरहेँ ।” बस्नेत नोस्टाल्जिक बने ।
उनले युट्युव हेरेर भमरा पाल्न सिके । सिमलको काठ किनेर एक बर्षसम्म सुकाए । त्यसपछि दुईदेखि चार एमएमसम्मको प्वाल बनाएर राखिदिए । आवश्यकताअनुसार भमरो आफैँले प्वाल ठूलो बनाउँछ । “यो घुमन्ते जात हो । हामी घुम्न जाँदा कतै होटलमा बास बसेको जस्तै यो घुम्दै आउँछ र बास बस्छ,–” उनले भने । बस्नेतकाअनुसार हनिमुन आएको भमरा १५/२० दिनसम्म बस्छ । धेरै दिन बस्दा भमरोले बच्चा पनि उत्पादन गर्छ । पुत्का मौरी र भमरो हुनु भनेको दुलर्भ वन्यजन्तु छ भन्ने सङ्केत भएको उनले बताए । उनी भन्छन्, “म बाँके राष्ट्रिय निकुञ्जको छेउछाउ बस्छु । यहाँ विश्वकै दूलर्भ पाटेबाघ र सालक पाइन्छ ।”
बस्नेतले औसतमा ८०/९० घार मेलिफेरा मौरी पालेका छन् । बार्षिक ४० क्विन्टलसम्म मह उत्पादन हुन्छ । जसको १५ देखि २० प्रतिशत कीट संरक्षणमा खर्च गर्छन् उनी । छोराछोरीको उच्च शिक्षादेखि अन्य खर्चसमेत मौरीपालनले धानेको छ ।
उनीसँग ३०/३५ घार पुत्का मौरी छ । यसको महले आँखा र मुटु रोगीहरूलाई निकै फाइदा पु-याउने बस्नेतको दाबी गर्छन् । औषधिय गुण भएको यो मौरी व्यवसायिकरण हुन भने सकेको छैन । यसका लागि पुत्कालाई आधुनिक घारमा सार्दैछन् बस्नेत ।
“यो मौरी पाल्न भारतको केरलाबाट तालिम लिएको छु । अनुभव पनि छ । गर्नसक्छु भन्ने आत्मविश्वास छ–”उनले भने । सानो सानो सफलताबाट खुशी देखिन्थे उनी । तर, यहाँसम्म आइपुग्न निकै हण्डर खेपेको अनुभव उनले सुनाए । उनी भन्छन्, “सुरुमा नयाँ बाटो हिड्दा एक्लै भइने । त्यसपछि पनि गन्तव्यसम्म पुग्न धेरै हण्डर र भनाइ खानुपर्ने/सहनुपर्ने । तर, राम्रो बाटोमा हिडियो भने गन्तव्यमा पुगिदो रैछ ।”
सरकारले यस वर्षदेखि जैविक विविधता वर्ष मनाउन सुरु गरेको छ । यसलाई उनी आफ्नो कर्मको फल सम्झन्छन् । बस्नेतले भने्, “हामीजस्तो किसानले गरेको सानो कामले सार्थकता पाएको छ ।” त्यसो त पुत्का संरक्षण गर्न पाल्नुप-यो भन्दै किट संरक्षण निर्देशनालयलगायतका सरकारी कार्यालय पुग्दा बाहिर निकालिनु परेको घटना उनले भुलेका छैनन् । “त्यसपछि झन् गरेरै देखाउँछु भनेर लागि परेँ,”उनी भन्छन् ।
बस्नेतले डब्लुडब्लुएफबाट अवार्ड, राष्ट्रपतिबाट पदक र प्रदेश रत्न पाएका छन् । पदक पाएपछि समाजले आफ्नो कामलाई स्वीकार गरेको उनी बताउँछन् । सातै प्रदेशबाट सहकारी, मौरीपालक किसानहरू, कृषि क्याम्पसका विद्यार्थीहरू, जेटिए पढाउने प्राविधिक शिक्षालयहरू अवलोकनका आउने उनले जानकारी दिए ।
“कति त नार्कबाट बजेट ल्याएर अध्ययनका लागि दुई/तीन दिन बस्नेगरी आउँछन्,”उनी भन्छन्, “मन्त्री, सचिवदेखि वैज्ञानिकसम्म आउनुहुन्छ । मेरी श्रीमती पनि मेरो कामप्रति गर्व गर्छिन् ।” आफू हिँडेको बाटो सही रैछ भनेर खुशी लागेको उनले बताए ।
बस्नेत थप्छन्, “साना साना कुराले ठूला ठुला मानिसहरूलाई भेट्ने र सिक्ने/जान्ने अवसर मिलेको छ ।” उनी अहिले पुत्कासँगै भमरा, लाही, कुमालकोटीको संरक्षणमा पनि जुटिरहेका छन् । अन्नपानी, जङ्गली वनस्पति, कीट, जलचर सुक्ष्म किटाणु र पशुपन्छीको संरक्षण गर्न विद्यालयहरूमा पनि यससँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरेको उनले जानकारी दिए ।
कीरा संरक्षण कसरी गर्ने ?
कीट जिन बैङ्कमार्फत साथै प्रयोग/पालेर कृषि कीरा संरक्षण गर्नुपर्छ । यसअन्तर्गत कीरा फिल्ड जिन बैङ्क, किरा पार्क, घरायासी किरा फिल्ड जिन बैङ्क, सामुदायिक जिन बैङ्क, स्कूल किरा फिल्ड आदि गर्न सकिने बस्नेतको भनाइ छ । उनकाअनुसार प्रचार प्रसार, सङ्ग्राहलय, जन–चेतनामूलक कार्यक्रम र कीरामैत्री वातावरण बनाएर पनि कीराको संरक्षण गर्न सकिन्छ ।
कीराहरूको प्रयोगमा दिने र फाइदा लिन सके मात्रै पनि कीराको संरक्षण हुने उनी बताउँछन् । उनी भन्छन्, “उनीहरूको बासस्थान, खानाहरूको अध्ययन अनुसन्धान, जोखिम क्षेत्र, लोपोन्मुख प्रजातिका साथै उत्पादन तथा प्रविधिहरूको प्रयोग गर्न सके कीट संरक्षणमा टेवा पुग्ने देखिन्छ ।”
बस्नेतका अनुसार राष्ट्रिय जिन बैङ्क खुमलटारको सहयोगमा बाँकेमा पुर्मल घरायसी कीरा फिल्ड जिन बैङ्क र बैजनाथ गाउँपालिकाले गावर भ्याली सामुदायिक जिन बैङ्क स्थापना गरेका छन् ।
आर्थिक दृष्टिले महत्त्व भएको (खानयोग्य र उत्पादन दिने) र बाली बिरुवामा लाग्ने शत्रु किराविरुद्ध प्रयोगमा आउने फाइदाजनक (मित्रु शिकारी), परागसेचनका कीरा वनस्पतिहरूको नियमित जीवन चक्रको लागि अनिवार्य भएको उनले बताए ।
जैविक विविधता जोगाउन प्राकृतिक घरहरू बनाउने र विषादी प्रयोगमा ध्यान दिनुपर्ने बस्नतेलको भनाइ छ । इकोसिस्टम चलायमान राख्न मौरी, भमरा मात्रै नभई सबै कीरा महत्त्वपूर्ण रहेको उनी बताउँछन् ।
*केही तथ्याङ्कमा त्रुटि हुन गएकोमा सच्याइएको छ । - सम्पादक
कृषि ज्ञान पत्रिकाबाट