मकै बेचेर जीवन निर्वाह गर्दै टीकापुरका कलैया थारु, भन्छन्– मजदुरी गर्नुभन्दा मकै बेच्नु राम्रो !

मकै बेचेर जीवन निर्वाह गर्दै टीकापुरका कलैया थारु, भन्छन्– मजदुरी गर्नुभन्दा मकै बेच्नु राम्रो !

अर्थ डबली
सोमवार, बैशाख ४ २०८०
अर्थ डबली
सोमवार, बैशाख ४ २०८० (अर्काइभ बाट)
  • मकै बेचेर जीवन निर्वाह गर्दै टीकापुरका कलैया थारु, भन्छन्– मजदुरी गर्नुभन्दा मकै बेच्नु राम्रो !

    भजनी / कैलालीको टीकापुर नगरपालिका–१ भूपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जीविका चलाउँदै आएका थिए । 

    images
    images

    दिनभर अरुकोमा मजदुरी गरेर जीविका चलाउँदै आएका कलैयाले अचेल सडक छेउमा मकै पोलेर बिक्री गर्छन् । 

    अरुको बारीबाट मकै खरिद गरेर उनी श्रीमतीसहित दिनभर मकै बेच्न व्यस्त देखिन्छन् । सानो मकै रु २० र ठूलो मकै २५ मा बिक्री हुन्छ । श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता चौधरी मकै पोल्न । 

    “केही गरेर खानलाई आफूसँग तागत भन्दा अरु कुनै सीप छैन । खेतीपाती गर्नका लागि जग्गा छैन”, कलैया भन्छन्, “अरुको बारीबाट मकै खरिद गरेर पोलेर बिक्री गर्ने गरेका छौंँ । त्यसैबाट आएको पैसाले घरखर्च चलाउन थालेका  छौंँ ।” त्यहीँ मकै बेचेर दैनिक एक हजारदेखि दुई हजारसम्मको कमाइ हुनेगरेको कलैया बताउछन् । 

    एकतापुर शिविरकी कल्याणी चौधरीले तीन वर्षदेखि मकै बिक्री गर्दै आएकी छन् । अहिले मकैको बेमौसम भएकाले पोलेको मकै बिक्रीमा समस्या छैन । “ज्यालादारीमा भनेबेला काम पाइदैन । पाएको काममा पनि कमाई भन्दा बढी वचन सुन्नुपर्ने”, कल्याणी भन्छन्, “त्यो भन्दा काँचो मकै ल्याएर पोलेर बिक्र गर्दा राम्रो । कमाइ पनि राम्रो, कुरा पनि कसैको सुन्नु नपर्ने ।” उनले आफुसँग खेती गर्न जग्गा नभएको बताउँदै अरुबाट काँचो मकै ल्याएर बिक्री गर्ने गरेको बताए । 

    टीकापुर नगरपालिका–२ बन्दीपुरकी सञ्जिवनी चौधरीका दुई छोरा सेनामा र श्रीमान् भारतमा काम गर्छन् । आफूसँग तागत हुँदासम्म आफ्नै व्यवसायमा व्यस्त सञ्जीवनी पनि दिनभर बजार क्षेत्रमा मकै पोलेर बेच्द्धन् । उनी भन्छन्, “आफ्नो कामबाट सन्तुष्ट छु ।”
     
    उनले पाँच कट्टा जग्गामा मकै खेती गरेकी छन् । आफैले फलाएको मकै ल्याएर उनी बजारमा बिक्री गर्छिन्। सञ्जीवनी भन्छिन्, “एक सिजनमा मकै बेचेर ५० देखि ६० हजार कमाइ हुन्छ । अन्य समयमा तरकारी खेतीबाट पनि आम्दानी हुन्छ ।” सिजनमा तरकारी खेतीबाट पनि उनले राम्रो आम्दानी गर्ने गरेको बताइन् ।  

    बजारका विभिन्न ठाउँमा रुखमुनि शीतलमा  बसेर मकै पोलेर बेच्ने बढ्दै गएका छन् । पुरुष भन्दा मकै पोलेर बिक्री गर्ने महिला बढी छन् । कतिपयले मकैखेती आफै गरेका छन् भने कतिपयले अरु किसानबाट रु १० मा मकै खरिद गरेर २० देखि २५ मा बेच्छन् । 

    विपन्न परिवारका पुरुष कमाउनको लागि बाहिर जाने र महिला सिजनमा गाउँमै ज्यालादारी गर्छन् । काम नभएको समयमा किसानबाट मकै ल्याएर दिनभर मकै पोलेर बेच्ने लगायतका काममा व्यस्त हुनेगरेका छन् । 

    टीकापुर नगरपालिका–३ पुछरीका राधेश्याम चौधरी मकै बेच्नकै लागि पाँच किलोमिटर साइकलको यात्रा गरेर टीकापुर बजार पुग्छन् । श्रीमान श्रीमती दुबै साइकलमा टीकापुर पुगेर दिनभर मकै पोल्ने र बिक्री गर्ने गर्छन् । 

    ज्यालादारी गरेर जीवन निर्वाह गर्दै आउनुभएका उहाँ चार वर्षदेखि मकै बेच्छन् । “थोरै मिहेनतमा राम्रो आम्दानी हुनेभएपछि सिजनमा राम्रो आम्दानी हुने गरेको छ । मकै बेचेर केही महिनाको घरखर्च र अहिले छोराछोरीको विद्यालय भर्नाको जोहो भइहाल्छ”, राधेश्याम भन्छन्, “गर्मीयाममा मजदुरी गरेर जीविका चलाउन पनि मुस्किल हुन्छ । मजदुरी गर्नुभन्दा यो सिजनमा मकै बेच्नु राम्रो छ ।”

    साताको लोकप्रीय