बजेटपछि किन बढ्दैछ सुनको भाउ ? अझै कति पुग्ला ? 

बजेटपछि किन बढ्दैछ सुनको भाउ ? अझै कति पुग्ला ? 

“सरकारको नीति नियन्त्रणमुखी भयो, प्रोत्साहनमूलक भएन”

अर्थ डबली
बिहिवार, जेठ १८ २०८०
अर्थ डबली
बिहिवार, जेठ १८ २०८० (अर्काइभ बाट)
  • बजेटपछि किन बढ्दैछ सुनको भाउ ? अझै कति पुग्ला ? 

    काठमाडौँ / सरकारले आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ ।

    images
    images

    सरकारले बजेटमार्फत सरकारले सुनको भन्सार दर परिवर्तन गरेपछि तीन दिनमै सुनको भाउ प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको हो । जेठ १५ गते सोमबारसम्म प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज बिहीबार १ लाख १२ हजार ५ सय रुपैयाँ पर्नेछ । यो मूल्य हालसम्मकै उच्च हो । 

    यसअघि सुनमा मूल्यको आधारमा नभई परिमाणको आधारमा  सरकारले भन्सार लगाउँदै आएको थियो। जसमा प्रति १० ग्राम सुनमा ८ हजार ५ सय रुपैयाँ भन्सार तोकिएको थियो । अब नयाँ व्यवस्था अनुसार प्रति केजी सुनको मूल्य जति पर्छ त्यसको १५ प्रतिशत भन्सार दर लाग्ने व्यवस्था गरिएको छ ।

    सरकारको नयाँ व्यवस्थाअनुसार अब भन्सार शुल्क सुनको मूल्य बढ्दा बढ्छ र घट्दा शुल्क पनि घट्छ । सरकारले भन्सारदर वृद्धि गरेका कारण सुनको मूल्यमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । 

    उनले सरकारले बजेटमार्फत गरेको गरेको व्यवस्था वैज्ञानिक र व्यवहारिक नभएको उनको भनाइ छ । उनी भन्छन्, “सुन अरु सामान जस्तो हैन । अन्तर्राष्ट्रिय बजारमै यसको मूल्य पारदर्शी हुन्छ । त्यसैले सुनको भन्सारदर फिक्स हुनुपर्छ । अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको मूल्य तोकिने भएकोले यसमा परिवर्तन गरिनु आवश्यक थिएन ।”

    बजेटअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १९ सय ४० हजार थियो भने अहिले १९ सय ६२ डलर पुगेको छ ।  सरकारले भन्सार दरमा गरेको परिवर्तनले आयातकर्ता, भन्सार, व्यापारी र उपभोक्ताहरूलाई नै मार परेको उनको भनाइ छ । 

    पूर्व अध्यक्ष शाक्यका अनुसार २०५८ सालअघि भन्सारदर ८ प्रतिशत थिो । जसमा ५ प्रतिशत भन्सार र ३ प्रतिशत स्वास्थ्य शिक्षा कर थियो । उक्त भन्सार शुल्कका कारण अन्तर्राष्ट्रिय मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि लविङपश्चात ३ प्रतिशत भन्सारदर हटाइएको उनले बताए । 

    हरेक महिनाको १ गते र १५ गते अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको मूल्य कायम गरिने सरकारको निर्णयले अन्यौल सिर्जना गरेको उनी बताउँछन् । उनी भन्छन्, “सुनको भाउ प्रतिशतका आधारमा हुनुहुँदैन । त्यस्तै, बजेटमा १ गते र १५ गते अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ कायम गरिने भनिएको छ । यसले अन्यौल सिर्जना गरेको छ । सुनको भाउ फिक्स नै हुनुपर्छ ।”

    पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण व्यापार व्यवसाय प्रभावित बनिरहेको छ । यस्तोमा सुनचाँदी व्यवसायीहरूले अपेक्षा गरे विपरित सरकारले बजेट ल्याएपछि आफूहरू निराश भएको शाक्यको गुनासो छ । गत मार्च महिनामा भारतले ल्याएको बजेटपछि अहिले भारतीय बजारमा १५ प्रतिशत छ । नेपालमा १० प्रतिशत भन्सार शुल्क छ । यसले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सकिने अवस्था रहेको उनले बताए । बजेटमा सुनचाँदी व्यवसायीहरूको सुझाव कार्यान्वयन नभएको उनले गुनासो गरे । 

    पूर्व अध्यक्ष शाक्य भन्छन्, “सरकारको नीति नियन्त्रणमुखी भयो, प्रोत्साहनमूलक भएन ।  त्यस्तै, विलासिता करले पनि व्यवसायमा समस्या सिर्जना गर्ने उनको भनाइ छ । व्यापार घटेको समयमा सङ्कटमा रहेका व्यवसायीहरूलाई बजेटले प्रोत्साहन गर्न नसकेको उनी बताउँछन् ।

    सरकारले ल्याएको व्यवस्था शंसोधन तथा परिमार्जन गर्नुपर्ने उनको तर्क छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय बेरोजगारी दर बढेका कारण सुनमा लगानी गर्नेहरू पनि बढेको उनले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दा मूल्य पनि वृद्धि भएको हो ।

    अन्तर्राष्ट्रिय मूल्य अस्थिर भएको कारण सुनको भाउ कतिसम्म पुग्छ भन्ने अनुमान गर्न कठिन रहेको उनी बताउँछन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्दा १९ सय डलरमा झर्ने अनुमान गरिएको छ भने बढ्यो भने २१ सय डलरसम्म पुग्ने देखिन्छ । सुनको भाउ बढेको खण्डमा यसअघिको भन्सारदरका आधारमा करिब १ लाख १५ हजार पुग्ने र अहिलेको भन्सारदर अनुसार प्रतितोला १ लाख २० हजार रुपैयाँसम्म पुग्ने सक्ने उनको अनुमान छ । 

    साताको लोकप्रीय