विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँगमात्रै छ – महेश बस्नेत 

विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँगमात्रै छ – महेश बस्नेत 

अर्थ डबली
आइतवार, जेठ २८ २०८०
अर्थ डबली
आइतवार, जेठ २८ २०८० (अर्काइभ बाट)
  • विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँगमात्रै छ – महेश बस्नेत 

    काठमाडौं / नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देश विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँगमात्रै रहेको दाबी गरेका छन् । 

    images
    images

    हिजो शनिबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग मात्रै स्थिर सरकार र लिडरसिपको भिजन रहेको बताएका हुन् । 


    ‘नेपाली जनताले विकास, समृद्धि र परिवर्तन चाहेका छन् । त्यो पनि तीव्र गतिमा चाहेका छन् । त्यसको निमित्त मुलुकमा स्थिर सरकार चाहेका छन् । 


    राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ ।’ उनले भने, ‘स्थिर सरकारभित्र भिजन भएको र दृष्टिकोण भएको लिडरसिपले मात्रै त्यो पूरा गर्न सकिन्छ भन्ने कुराको अन्तराष्ट्रिय अनुभव र नेपालको अनुभव हामीसँग छ ।’ 
    एमाले अध्यक्ष केपी शर्मा ओलीको ४० महिने सरकारले उनलाई विकासको स्तम्भको रूपमा स्थापित गरेको उनको दाबी छ । 

    भारतमा आगामी २०२४ मा हुने निर्वाचनमा भाजपाले दुईतिहाईको अपेक्षा गरिरहेको प्रसंगलाई जोड्दै स्थितर सरकार नभएसम्म मुलुकमा विकास नहुने उनले बताए । अहिलेको सरकारले विकासका क्षेत्रमा कुनै भूमिका निर्वाह गर्न नसकेको उनको आरोप छ । 


    ‘भारत २०२४ मा पुनः राष्ट्रिय चुनाव गर्दै छ र दुई पटक मोदीको कार्यकालको उसले गम्भीर समीक्षा गर्दै छ । आउँदो चुनावमा दुई तिहाईको लक्ष्यसहित हामी जान्छौं भनेर भाजपाले योजना बनाइरहेको छ ।’ 


    उनले भने, ‘भारतीय जनताले राजनीतिक स्थिरताभित्रमात्रै विकास हुन्छ भन्ने अनुभूति गरेका छन् । नेपालका ४० महिने केपी ओलीको सरकारलाई विकासको आधार स्तम्भको रुपमा हेर्न सकिन्छ । त्यसपछाडि बनेको सरकारले विकासको सन्दर्भमा कुनै भूमिका खेल्न सकेन ।’


    कुनै दलको बहुमत नभएको अवस्थामा प्रतिपक्ष पनि बलियो नहुने र साना दलले च्याखे थाप्ने गरेको उनको भनाई छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रमको उपलब्धी केही पनि नरहेको उनको दाबी छ । 


    ‘प्रधानमन्त्री भारत भ्रमणमा गइरहँदा हाम्रो परम्परागत सम्बन्धमा नयाँ उचाईबाट के कुरा प्राप्ति भयो त भन्दो यो चाहिँ भयो भन्ने केही पनि रहेन । आज मुर्रा भैसीं ल्याउनु भयो प्रधानमन्त्रीले त्यो सारा ट्रोलको विषय बनेको छ । राष्ट्रिय अन्तराष्ट्रिय जगतले त्यसलाई उडाइरहेको छ । हँसाइरहेको छ,’– उनले भने । 


    दुई देशबीच खुलम्खुल्ला छलफल गर्न प्रचण्ड सरकारले नसकेको बस्नेतले बताए । भारत भ्रमणका क्रममा भएको केही सम्झौता पुरानै निरन्तरता भएको र मूलुकको हितमा नयाँ कुनै काम नभएको उनको दाबी छ । 


    ‘प्रधानमन्त्रीको भारत भ्रमण मूलुकको हितमा होइन, भारतलाई खुसी पार्ने र प्रचण्ड कमरेडको कुर्सी जोगाउने । कांग्रेस लगायतको सत्ता साझेदार दलहरुलाई समर्थन गरिरहन बाध्य पारिरहने । किनभने भारत अथवा चाइन वा अरु कुनै मुलुक मसँग निकट छ, मैले खुसी बनाएँ भन्ने सन्देश दिन उनी चाहन्थे,’– उनले भने । 

    प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्व्याउन सफल भएको बस्नेतले बताए । अहिले माओवादीको नेता कार्यकर्ताहरुले पनि प्रचण्डको भारत भ्रमणलाई प्रचण्डको हितमा रहेको विश्लेषण गरिरहेको उनले बताए । 
    ‘मुलुकको हितको निमित्त यो भ्रमण कति सफल भयो थाहा भएन । प्रचण्डको हितको निमित्त यो भ्रमण सफल भयो भन्ने ढंगले माओवादीका साथीहरुले विश्लेषण गरिरहेका छन्,’– उनले भने ।

    प्रधानमन्त्रीले चीनको दूतावासमा आफ्ना प्रतिनिधि पठाएर भ्रमणको समय मिलाउन पहल गरिरहेकोसमेत उनले खुलासा गरे । मित्र राष्ट्रलाई खुसी पारेर आफ्नो सत्ता लम्ब्याउने दाउमा प्रधानमन्त्री रहेको बस्नेतको आरोप छ । 
    प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई आम माफी दिने निर्णय मन्त्रिपरिषद्बाट पारित गराएर भारतलाई कोशेली लिएर गएको उनको आरोप छ । 

    ‘रेशम चौधरीको मुद्दा फिर्ता गरियो । किन हथाट भए यी कुरहरु ? यी कुराहरु किन भए भने भारतले नमागेको कोशेली लिएर उहाँ जानुभयो,’– उनले भने । 

    नागरिकता विधेयक प्रमाणीकरणले राष्ट्रपति रामचन्द्र पाडेलमाथि पनि विभिन्न प्रकारका आशंकाहरु उत्पन्न भएको उनले बताए । राष्ट्रपति पौडेलको भारत भ्रमण उपचारमामात्रै सीमित थियो भनेर नेपाली जनताले विश्वास गर्न नसक्ने बस्नेतले बताए । 


    ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू अगाडिको राष्ट्रपतिज्यूले सवारीको सन्दर्भमा गरेको भद्रगोललाई व्यवस्थित गर्दै नयाँ ढंगले जान खोज्नुभयो भन्ने सन्देश दिइरहेको बेलामा भर्खरै उपचार गरेर भारतबाट उहाँ फर्किनु भएको थियो ।’ 
    उनले भने, ‘ उहाँको भारत भ्रमणलाई उपचारमामात्र सीमित थियो भनेर आम जनताले विश्लेषण गरिरहेको बेलामा रेशम चौधरीको मुद्दा फिर्ता लिने सन्दर्भ र नागरिकता विधेयकलाई प्रमाणीकरण गरेको सन्दर्भबाट उहाँमाथि असंख्य प्रश्नहरु उठे ।’ 
    रामचन्द्र पौडललाई नेपाली जनताले राष्ट्रवादी भनेर चित्रण गरिरहेपनि नागरिकता विधेयक प्रमाणीकरणले उनी राष्ट्रघाती हुन् भन्ने कुरा पुष्टि गरेको उनको भनाई छ । 


    ‘रामचन्द्र पौडेलजी राष्ट्रवादी नेता भनेको उहाँ राष्ट्रघाती नेता हुनुहुँदो रहेछ । उहाँलाई महाअभियोग लगाउन पर्छ भन्ने सम्मका छलफल भए । प्रचण्डज्यूको सत्ता स्वार्थका लागि राष्ट्रपति किन यत्ति तल ओर्लेर नागरिकता विधेयक प्रमाणीकरण गर्नुभयो भन्ने कुरामा हामी अक्कनबक्क परेका छौं,’– उनले भने । 

    संसद्ले निर्णय गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण भएमा त्यसलाई पुनः संसद्को विषय बनाउन पर्ने उनको भनाई छ । नेपाली नागरिकले नागरिकता पाउनु पर्छ भन्नेमा आफूहरु प्रष्ट रहेको र त्यसमा कुने दुईमत नरहेको उनले बताए । विधेयक अंगिकृत नागरिकताको विषयमा नखुलेको उनको दाबी छ ।

     

    सिन्दुरसँग नागरिकता साट्न नसकिने उनले बताए । नेपाल वीरताकोमात्रै मुलुक नभएर बौद्धिकताको मुलुक पनि भएको उनले बताए । अखण्ड भारतको नाममा भारतको संसद्मा राखेको नक्साका बारेमा प्रचण्डले भारत रिसाउँछ भनेर बोल्न नचाहेको बरु भूमि साट्न सकिने जस्ता कुराले प्रश्रय पाएको उनले बताए । 


    अहिलको बजेट समानुपातिक विकासको मोडालिटीमा नरहेको उनको आरोप छ । बजेटको विरोध गर्नु प्रतिपक्षका सांसदको धर्म भएपनि सत्ता पक्षकै सांसदहरुमा व्यापक असन्तुष्टि बढेको उनले बताए । 


    ‘अघिल्लो वर्ष खर्च नभएको पुँजीगत खर्चको पाँच अरबमध्ये २ अरब ३८ करोड तीन वटा जिल्लामा बाँडियो । त्यो मध्ये एक अरब १० करोड डडेलधुरामा, झण्डै ८५ करोड गोरखामा बाँडियो र बाँकी रहेको वर्तमान अर्थमन्त्रीज्यूको श्रेत्रमा बाँडियो । यही हो त हामीले चाहेको समानुपातिक विकासको मोडालिटी ?’– उनले प्रश्न गरे । 
    हिजो कनिका छरेको जस्तो बजेट छर्यो भन्ने नेतहरुले आज निश्चित नेताको स्वार्थमा बजेट विनियोजन गरेको उनको आरोप छ ।
    राजश्व चुहावट रोक्ने सन्दर्भमा सरकारले कतै बोल्न नचाहेको उनको आरोप छ । प्रहरी, कर्मचारी र भन्सारका हाकिमहरु कमिशनको भरमा सरुवा बढुवा भइरहेको उनले आरोप लगाए । राज्यले राजश्व चुहावट वैधानिक ढंगले नै गरिरहेको उनको आरोप छ । 

    भन्सार छलिएका चिनी, लुगा, विल, विजकमा चलखेल भएर हाम्रो राजश्व घटिरहेको उनले बताए । सरकार मुलुकको समस्यामा केन्द्रीत हुन नसकेर सत्ता कसरी बचाउने भन्नेमात्रै खेलमा रहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले सत्ता बचाउन दलहरु छानिछानी सरकारमा ल्याइरहेको उनले बताए । 


    प्रदेश नामाकरणको सन्दर्भमा पनि प्रधानमन्त्री प्रचण्डले संरक्षण गरेको उनको दाबी छ । यस सन्दर्भमा प्रधानमन्त्री र गृहमन्त्री बेखबर भएको उनले बताए । अहिले प्रहरी प्रशासन र कानुन निकम्मा भएको आफूहरुले महसुश गरिरहेको उनले बताए । 
    नक्कली भुटानी शरणार्थी प्रकरण एमालेका नेताहरुलाई केन्द्रीत गरेर अगाडि बढाइए पनि एमालेले प्रमाणहरु बाहिर ल्याएपछि मञ्जु खाँण र आरजु राणासम्म पुगेको उनले बताए । 


    ‘हिजो नक्कली भुटानी शरणार्थी प्रकरण एमालेका नेता टोपबहादुर रायमाझी र रामबहादुर थापा ‘बादल’ मा केन्द्रीत गरेर सूरु भएको थियो । एमालेले प्रमाणहरु बाहिर ल्याएपछि आरजु राणा र मञ्जु खाँणसम्म पुग्यो । बालकृष्ण खाँणलाई कुनै सल्लाह नगरी समायो । म प्रहरीलाई धन्यवाद दिन चाहन्छु,’– उनले भने । 


    नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुले प्रचण्डको घरमा यो योजना बनेको उनले बताए । बालसैन्य प्रकरणमा अहिले प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै गरेको र पाँच हजारको जिम्मा लिन्छु भनेको अभिव्यक्तिमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनलाई पदमा बस्न नैतिकताले नदिनेसमेत उनले बताए । साथै, बालुवाटार काण्ड छानविनको सुरुवात गरेकै कारण एमाले विभाजन भएको उनको दाबी छ ।

    प्रधानमन्त्री प्रचण्डले ‘क्यान्टोनमेन्ट घोटला छानविन गरौं दोषी भए जेल जान्छु’ केवल पब्लिक कन्जम्सनका लागि भनेको उनको दाबी छ । 
    साथै, यति काण्ड, ओम्नी काण्डको छानविनका लागि एमाले तयार रहेको उनले बताए । 


    एमालका सचिव रहेका टोपबहादुर रायमाझीमाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेपछि एमालेले निलम्बन गरेर छानविनका लागि थप सहज वातावरण निर्माण गरेको उनको दाबी छ । कांग्रेसले खाँणलाई निलम्बन नगरेको प्रति असन्तुष्टि जनाउँदै उनले यस सन्दर्भमा धेरै कांग्रेसीहरु मौन रहेको आरोप लगाए । 
    ‘बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्छ भन्ने हुती भएका कांग्रेसमा कति जना हुनुहुन्छ ? गगनजी लगायतको एक दुई जनाको फाट्टफुट्ट स्वर सुनेका छौं । धेरै मान्छेहरु मौन छन्,’– उनले भने ।  


    समृद्ध मुलुक निर्माणका लागि खुल्ला छलफलका लागि उनले सबै दललाई आग्रह गरे । आफूहरु सत्ताको फोहरी खेलमा नलाग्ने उनले बताए । प्रचण्डको विकल्पमा टालाटुली बटुलीको खेलमा आफूहरु नलाग्ने उनले बताए । एमाले र कांग्रेसले देशका बारेमा ठण्डा दिमागले सोच्ने बेला आएको उनले बताए । एमाले र कांग्रेस मिलेबीच समझदारी बनेको खण्डमा मात्रै देशले निकास पाउन सक्ने उनको दाबी छ ।

    ‘एमाले र कांग्रेस एक ठाउँमा बसेर यो मुलुकलाई विकल्प दिन तयार हुनुपर्छ भन्ने मलाई लाग्छ । एमाले र कांग्रेसकोबीचमा सहमति बन्यो भने यो देश ठीक ढंगले जान सक्छ । कांग्रेस र एमालेबीचमा उच्च तहको समझदारी बन्यो भने जनतामा आशा जाग्न सक्छ । नत्रभने यो देश फेरि पनि प्रचण्डको सत्ता लिप्साको वरिपरी घुम्ने छ,’– उनले भने । 

     

     

     

     

     

    साताको लोकप्रीय