विपन्न वर्गलाई प्राधिकरणले दियो निःशुल्क विद्युत् मिटर 

विपन्न वर्गलाई प्राधिकरणले दियो निःशुल्क विद्युत् मिटर 

अर्थ डबली
आइतवार, जेठ २८ २०८०
अर्थ डबली
आइतवार, जेठ २८ २०८० (अर्काइभ बाट)
  • विपन्न वर्गलाई प्राधिकरणले दियो निःशुल्क विद्युत् मिटर 

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिक रूपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेस प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषा धाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो ।

    images
    images

    प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको  सिङ्गल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन ।

    मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा प्रति घरपरिवार १२ हजार देखि १५ हजार रुपैयाँ खर्च हुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषा धाम वितरण केन्द्र अन्तर्गतका पालिकाहरूमा बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क मिटर वितरण गरे । गौशाला र धनुषा धाम वितरण केन्द्रअन्तर्गतका क्रमशः ६८ र १६२ विपन्न घरपरिवारलाई निःशुल्क मिटर वितरण गरिएको हो ।

    कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकहरूलाई विद्युत् पुर्याउन विद्युतीकरणको  अन्तिम माइलको यात्रा चलिरहेको बताए ।

    ‘विद्युत् पुगेका ठाउँको लोडसेडिङ अन्त्यको चरण पार गरी अहिले २४ सै घण्टा लोडसेडिङ भएका ठाउँमा विद्युत् पुर्‍याउने चरणको अन्त्यतिर छौँ, अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ, विद्युत् नै नपुगी सधैँ लोडसेडिङमा रहेका घरमा विद्युत् पुर्‍याउने कार्यलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्रमा विद्युतीकरण गर्ने गरी अन्तिम माइलको यात्रामा छौँ,’ घिसिङले भने ।

    मधेसलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै विद्युत् नपुगेको ठाउँ भएमा तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न आग्रह गरे । मधेस प्रदेशमा वैशाखसम्ममा वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ ।

    एक सय केभिएसम्मका जुनसुकै ग्राहकका लागि र २ सय केभिएसम्म दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिँचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरिएको छ । मधेस प्रदेशका ८ वटा जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये ग्राहस्थ ग्राहकको सङ्ख्या ९ लाख ३४ हजार छ । 

    यसमध्ये घरमा पाँच एम्पियरको सिङ्गल फेज मिटर राखी मासिक रूपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत्  निःशुल्क पाउने ग्राहकको सङ्ख्या २ लाख रहेको छ ।

    साताको लोकप्रीय