बालाजी सिमेन्ट बन्यो सिमेन्ट निर्यात गर्ने तेस्रो कम्पनी, १० महिनामा ५५ करोडबढीको सिमेन्ट निर्यात 

बालाजी सिमेन्ट बन्यो सिमेन्ट निर्यात गर्ने तेस्रो कम्पनी, १० महिनामा ५५ करोडबढीको सिमेन्ट निर्यात 

बैशाख मसान्तसम्म ३० करोड २४ लाख ९३ हजार रुपैयाँ बराबरको क्लिङ्कर र २५ करोड १९ लाख ३२ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ ।

अर्थ डबली
सोमवार, जेठ २९ २०८०
अर्थ डबली
सोमवार, जेठ २९ २०८० (अर्काइभ बाट)
  • बालाजी सिमेन्ट बन्यो सिमेन्ट निर्यात गर्ने तेस्रो कम्पनी, १० महिनामा ५५ करोडबढीको सिमेन्ट निर्यात 

    काठमाडौँ / भैरहवा कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिज सिमेन्ट निर्यात गर्ने तेस्रो कम्पनी बनेको छ । बालाजी सिमेन्ट इण्डस्ट्रिजले उत्पादन गरेको  ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डका पिपिसि सिमेन्ट भारत निर्यात गरेसँगै सिमेन्ट निर्यात गर्ने कम्पनीको सूची थपिएको हो । 

    images
    images

    भारत सरकारको गुणस्तर विभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) प्रदान गरेसँगै भारतमा सिमेन्ट निर्यात सम्भव भएको बालाजी सिमेन्टका इन्डस्ट्रिजका संस्थापक ऋषिकेश अग्रवालले बताए । 

    उनका अनुसार पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई आज ४२ टन सिमेन्ट निर्यात गरिएको हो । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो ।

    कपिलवस्तुबाट भारतमा सिमेन्ट निर्यात पहिलो पटक भएको हो । विस्तारै निर्यातको परिमाण बढाउँदै लैजाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताए ।

    भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । नेपाल सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरिसकेको छ । 

    सरकारले ५० करोड रुपैयाँभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीलाई सहज भएको उद्योगका संस्थापक सन्दीप काडियाले बताए ।

    “वर्तमान असहज एवं आर्थिकमन्दीको अवस्थामा भारतमा सिमेन्ट निर्यातले सकारात्मक सन्देश दिएको छ, हाम्रो कम्पनीको स्थापना नै निर्यातको सोच सहित भएको थियो”, उनले भने । उनले सरकारले अझ बढी उद्योग र निर्यातमैत्री नीति ल्याउन सुझाव दिए । सिमेन्ट निर्यातले भारतसँगको व्यापार घाटा कम गर्न सहयोग गर्ने उनको भनाइ छ । 

    बालाजी सिमेन्ट उद्योगसँग दैनिक एक हजार छ सय टन सिमेन्ट उत्पादनको क्षमता रहेको कम्पनीका प्रवन्ध निर्देशक रौनक अग्रवालको भनाइ छ । 

    उद्योगबाट हाल बाहुबली र श्रृष्टी ब्रान्डमा ४३ ग्रेडको ओपिसी र पिपिसी सिमेन्ट उत्पादन हुँदै आएको छ । सन् २०७७ सालमा स्थापना भएको उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रबिधि जडान छ ।

    नियमित निर्यात 

    सरकारले चालु आवको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै दुई सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गर्दै आएका छन् । नेपालबाट बैशाख मसान्तसम्म ५५ करोड ४४ लाख २५ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ । चालू आर्थिक बर्षको १० महिनामा ३० करोड २४ लाख ९३ हजार रुपैयाँ बराबरको क्लिङ्कर र २५ करोड १९ लाख ३२ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको हो । 

    विभागले चालू आर्थिक बर्षको बैशाखसम्मको तथ्याङ्क अनुसार यस अवधिमा ३ लाख ७९ हजार टन क्लिङ्कर र ४ लाख १० हजार ७ सय टन सिमेन्ट निर्यात भएको छ । 

    यसअघि पाल्पा सिमेन्टले गत असार २४ गते श्री स्टीलले साउन ४ गते तथा अर्घखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरिसकेका छन् । 

    पाल्पा र अर्घखाँची सिमेन्टले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भैरहेको बताएका छन् । अर्घखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले ठूला चाडपर्वमा निर्यातमा केही सुस्तता आएपनि हाल नियमित रूपमा निर्यात भइरहेको जानकारी दिए । अर्घाखाँची ब्राण्डको सिमेन्ट पनि हाल भारतको युपी सहरमा निर्यात भइरहेको छ । 

    चालु आर्थिक बर्षको बजेटमार्फत सरकारले सिमेन्ट, स्टीललगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक १० करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । 

    सिमेन्ट उत्पादक सङ्घले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरु भएको हो । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ ।

    सिमेन्ट उत्पादक सङ्घको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।

    साताको लोकप्रीय