व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन,  डिपोमा पाँच केजी पाउन घण्टौँ लाइन

व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन,  डिपोमा पाँच केजी पाउन घण्टौँ लाइन

अर्थ डबली
बिहिवार, साउन ११ २०८०
अर्थ डबली
बिहिवार, साउन ११ २०८० (अर्काइभ बाट)
  • व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन,  डिपोमा पाँच केजी पाउन घण्टौँ लाइन

    बझाङ बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै थिए। उनको हातमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो।

    images
    images

    चिनेजानेकाले बिहानै नुन कता पाइयो भने सोधे। उनले सटिक जवाफ दिए( पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ।

    उनी सदरमुकाम चैनपुर बस्न थालेको पाँच वर्ष भइसक्यो। एअरपोर्टमा बस्दाबाहेक बीच बजारमा सरेपछि उनले हरेक पटक नुन विभिन्न पसलहरूबाट किनिरहेका छन्।

    उनले किनेको नुन पसलेले कहाँबाट ल्याउँछ त्यो थाहा छैन। थाहा पाउन जरूरी पनि ठान्दैनन् उनी।

     ‘नुन सकिएपछि जुन पसल खुला हुन्छ, त्यो पसलमा जान्छु। नुन मागेपछि पाइहाल्छु,’ उनले भने।

    सुर्माकी रमा बोहरालाई पनि चैनपुरमा नुन किन्न कहिल्यै समस्या परेन। बजारमा जानेबित्तिकै नुन पाइरहेको उनले सुनाए।

    ‘आएको डेढ वर्ष हुन लागिसक्यो, उनी भन्छिन्, ‘सबै मान्छे नुनै पाइँदैन भन्छन्। मलाई भने अहिलेसम्म कहिल्यै समस्या परेन।’

    दुर्गाथली गाउँपालिका जुजीका हेमराज जोशी पनि बझाङमा नुन सङ्कट भएको भन्ने अचम्म मान्छन्।

    ‘हिजो मात्रै मैले मन्दिर नजिकैको पसलबाट एक पाकेट नुन ल्याएको हुँ। कसरी सङ्कट भयो ?’ उनले भने।

    बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हो। साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन। तर, राजेश, रमा, हेमराज जस्तै सयौँ ग्राहक भने साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन्।

     साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन्।

    व्यापारीले साल्ट ट्रेडिङकै नुन बिक्री गरिरहेको जानकारी पाएपछि राससको टिम ग्राहक बनेर जाँदा एक पसलले १५ रुपैयाँमा एक पाकेट ‘भानु” नुन थमाए।

    साल्ट ट्रेडिङको नुन किन बेचेको भन्ने प्रश्नमा भने उनले जवाफ दिएनन्।   ‘ग्राहक नुनका लागि आउनुहुन्छ। उहाँहरूलाई समस्या नहोस् भनेर आफूलाई खानका लागि ल्याएको केही पाकेट नुन पसलमा राखेको हुँ,’ उनी रक्षात्मक सुनिए।

    आफूले मात्रै नभई बजारमा धेरैले बिक्री गर्ने गरेको उनले बताए।

    चैनपुरका केही पसलहरूमा निर्धक्कसँग साल्ट ट्रेडिङको नुन बिक्री भइरहेको। डिपोबाट कट्टाका हिसाबले नुन ल्याउने र महँगोमा व्यापारीले विक्री गर्ने गरेको खप्तडछान्ना–६ का महेश थापा बताउँछन्।

    ‘व्यापारीले बर्खा नलाग्दै क्विन्टलका हिसाबले डिपोबाट नुन उठाए। अहिले डिपोमा नुन घट्यो, किन्नेको चाप बढ्यो। यता व्यापारीहरू लुकिछुपी बेच्न थाले,’ उनले भने।

    यसरी अवैधानिकरूपमा किनबेच गर्नेलाई सरोकारवालाले अनुगमन गरेर कारबाही गर्नुपर्ने उनले बताए।

    डिपोमा पाँच केजी पाउन घण्टौँ लाइन

    मष्टा गाउँपालिका–१ की सरूदेवी विक आइतबार नुन किन्न डिपोको लाइनमा थिए।  बिहानैदेखि लाइनमा बसेकी सरूदेवीले तीन घण्टापछि पाँच प्याकेट मात्रै नुन पाइन्।

    ‘सहुलियतको नुन लिन बिहानै देउरानी, जेठानी चैनपुर आयौँ,’ उनले भने, ‘यता पाँच केजी नुन मात्रै पाइयो। अब यो कतिसम्म चल्छ होला र १’ पाँच पाकेट नुनकै लागि धेरै खर्च गर्नुपरेको उनले बताए।

    गाउँमा वर्षायामका बेला नुनको सङ्कट नहोस् भनेर डिपोमा आएको मष्टाकै सुमी विकले बताइन्।

    ‘एक दुई पोका नुन त थियो। तर, नुनको सङ्कट भएको भनेर सुन्यौँ। बर्खामा चैनपुर आइरहन सकिँदैन। त्यसैले मौसम पनि ठीकै, आइतबार पानी परेको हुँदा नुन लिन आएकी हुँ। यता एक ज्यानको पाँच पोका मात्रै पाइँदो रहेछ,’ सुमीले भनिन्।

    नुन वितरणमा दुरूपयोग हुने गरेको गुनासो आएपछि गत महिनायता चैनपुर डिपोले आइतबार मात्रै बिक्री वितरण गर्दै आएको छ।

    डिपोले जनसङ्ख्याको तुलना गरेर औसतमा एक परिवारलाई पाँच केजी नुन वितरण गर्दै आएको हो।

    ‘नुन लिन आउने सबैलाई पुर्‍याउन एक जनालाई पाँच केजी दिएका हौँ,’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय प्रमुख नरबहादुर भाटले भने, ‘ग्राहकले मागेअनुसारको नुन दिएमा अरूलाई नपुग्ने देखियो। 

    त्यसैले प्रत्येकलाई पाँच केजी दिने निर्णय गरेका हौँ,’ अब यो संकट यसै साताबाट टर्ने उनले बताए। भाटका अनुसार नुन थपका लागि माग गरिएको र नयाँ लटको नुन पनि आउने बेला भएको हुँदा दोस्रो साताबाटै नुन वितरण सहज हुने उनले बताए।

    चैनपुर डिपोमा सरकारले गएको आर्थिक वर्षमा तीन हजार पाँच सय क्विन्टल नुन उपलब्ध गराएको थियो। यसपटक थलारा र बुंगलसहितका डिपो थपिएपछि चालु आर्थिक वर्षका लागि जिल्लाभर १४ हजार दुई सय क्विन्टल नुनका लागि सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।

    ‘चैतको अन्तिमतिरै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय धनगढीमा आयोडिनयुक्त नुनको माग गरिसकेका छौँ,’ उनले भने।

    प्रजिअ पाण्डेयका अनुसार चालु आवका लागि चैनपुर डिपोमा सात हजार, बागथला पाँच हजार, तलकोट एक हजार पाँच सय र साइपाल बिक्री केन्द्रका लागि सात सय क्विन्टल आवश्यक पर्ने प्रारम्भिक अनुमानअनुसार माग गरिएको हो।

    ‘अहिले पनि नुनको सङ्कट भने होइन,’ उनले भने, ‘आवश्यकताअनुसार नुन वितरण भइरहेकै छ। सङ्कट भएको हल्ला मात्रै हो।’

    केही कम हुन सक्छ कि भनेर प्रतिव्यक्ति पाँच पाकेट वितरण गरिरहेको उनले बताए।

    ‘अब नयाँ सिजन पनि सुरू भइसक्यो। सायद अर्को साता नै प्रतिव्यक्ति १० पाकेट वितरण गर्ने तयारी गरेका छौँ,’ उनले भने।

    बजारमा नुन बिक्री भइरहेको विषयमा भने अब लगत्तै बजार अनुगमन गरिने उनले बताए

    ‘यो गुनासो सुनिरहेका छौँ,’ उनले भने, ‘बजारमा कसैले नुन बेचेको खबर हामीलाई गरे तत्काल कारबाही हुन्थ्यो। 

    धेरैलाई खबर गर्न आग्रह पनि गरेका छौँ। आधिकारिक जानकारी कसैले दिएको छैन। अब कसैलाई ग्राहक बनाएर पठाउने र गडबड भए कडा कारबाही गरिनेछ।’ भूमिराज पिठातोली/ रासस

    साताको लोकप्रीय