मोबाइल आयात अहिलेसम्मकै उच्च

मोबाइल आयात अहिलेसम्मकै उच्च

अर्थ डबली
मंगलवार, जेठ ११ २०७८
अर्थ डबली
मंगलवार, जेठ ११ २०७८ (अर्काइभ बाट)
  • मोबाइल आयात अहिलेसम्मकै उच्च

    कोरोना सङ्क्रमणका कारण अभौतिक (भर्चुअल) गतिविधि बढ्दा त्यसको प्रत्यक्ष प्रभाव मोबाइल आयातमा देखिएको छ । 

    images
    images

    भन्सार विभागका अनुसार चालू आर्थिक २०७७/७८ को वैशाखसम्म नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ ।

    तथ्याङ्कअनुसार १० महिनाको अवधिमा मात्रै नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार थान मोबाइल आयात गरेको छ । 

    मोबाइल आयातबाटै नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी भन्सार राजस्व प्राप्त गरेको छ । जब कि अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६८ करोड रुपियाँको मोबाइल आयात भएको थियो ।

    तुलात्मक रूपमा यसअघि आव २०७४/७५ को वैशाखसम्म सबैभन्दा धेरै २१ अर्ब १७ करोड रुपियाँको मोबाइल आयात भएको तथ्याङ्क छ । चालू आवमा भने मोबाइल आयातको यसअघिको सबै ‘रेकर्ड’ तोडिएको हो ।

    उच्च सङ्ख्यामा मोबाइल आयात हुँदा नेपालले धेरै आयात गर्ने वस्तुहरूको सूचीमध्ये मोबाइल चौथो स्थानमा परेको छ । मोबाइलभन्दा धेरै आयात हुनेमा डिजेल, अर्धप्रशोधित फलामका उत्पादन, कच्चा भटमास रहेका छन् ।

    विभागको तथ्याङ्कअनुसार वैशाखसम्म यी वस्तुको आयात क्रमशः ७० अर्ब, ५७ अर्ब र ३७ अर्ब रुपियाँ नाघेको छ । मोबाइलपछि सबैभन्दा धेरै एलपी ग्यासको आयात भएको देखिन्छ । जुन २९ अर्ब ५१ करोड रुपियाँको आयात भएको तथ्याङ्क छ ।

    निर्यात एक खर्ब नाघ्यो
    चालू आवको १० महिनामै नेपालको निर्यात एक खर्ब नाघेको छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारको इतिहासमा एक खर्ब नाघेको पहिलो पटक हो ।

    भन्सार विभागका अनुसार वैशाखसम्म नेपालले एक खर्ब आठ अर्ब रुपियाँभन्दा बढीको मालवस्तु निर्यात गरेको छ । 

    अघिल्लो आवको वैशाखको तुलनामा यो ३२।१९ प्रतिशतले बढी हो । त्यतिबेला नेपालको निर्यात करिब ८२ अर्ब रुपियाँ थियो ।
    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    साताको लोकप्रीय