चतराको सप्तकोशी पुलः कोशी पुल हेर्नकै लागि बढ्यो आन्तरिक पर्यटक, बन्यो आयआर्जनको माध्यम

चतराको सप्तकोशी पुलः कोशी पुल हेर्नकै लागि बढ्यो आन्तरिक पर्यटक, बन्यो आयआर्जनको माध्यम

अर्थ डबली
बुधवार, कार्तिक १९ २०७७
अर्थ डबली
बुधवार, कार्तिक १९ २०७७ (अर्काइभ बाट)
  • चतराको सप्तकोशी पुलः कोशी पुल हेर्नकै लागि बढ्यो आन्तरिक पर्यटक, बन्यो आयआर्जनको माध्यम

    पूर्वी नेपालसँगको सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला तथा आसपासका स्थानीयवासीलाई यातयातमा सहज त भएकै छ, यो आन्तरिक पर्यटकहरुको गन्तव्य पनि बन्न थालेको छ ।  

    images
    images

    सप्तकोसी नदीमा पुल निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकहरु बढेका हुन् । कोशी पुल हेर्नकै लागि धरान, विराटनगर, इटहरीलगायत स्थानबाट पर्यटकहरु आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहल बढेपछि कोशी पुलको पारी बेलका नगरपालिका–७ मा स्तरीय होटलसमेत सञ्चालनमा आएका छन् । 

    स्थानीय शरद कोइरालाका अनुसार हाल यहाँ आधा दर्जन होटलले सेवा दिइरहेका छन् । दैनिक करिब ५०÷६० जना पर्यटक पुलसम्म आएर फर्किन्छन् र यो क्रम प्रतिदिन बढ्दै गएको उनले बताए । 

    आफ्नो काममा पूर्व पश्चिम हिँड्नेहरु पनि पुल वारिपारी सवारी रोकेर तस्बीर खिच्ने र एकैछिन् मनोरञ्जान लिने गर्छन् भने केहीले पुललाई गन्तव्यका रुपमा सवारी रोकेर खाना, खाजा खाने गरेका उनले बताए । 

    कोरोना महामारीका कारण सुनसान रहेको कोशी पुल यसपालीको दशैँमा भने भरिभराउ भएको छ । सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोशी पुलमा दशैँको नवमीदेखि फोटो खिच्ने र घुम्ने मानिसको भीड लागेको स्थानीयवासी कालुराम राईले बताए । 

    पूर्व–पश्चिम यात्रा गर्नेदेखि लिएर कोशी पुल घुम्नैका लागि आउने मान्छेको जमात बढेको उहाँले बताए । टीकाको दिन पुलमा साथीभाइ, परिवारसँग घुम्न जानेहरु थुप्रै थिए । कोशी पुलमा सेल्फी खिच्नेहरु, पुलमा उभिएर गफिनेहरु र कोशी नदीलाई नियाल्नेहरुको सङ्ख्या उल्लेख्य रहेको थियो । 

    ‘‘टीकाको दिनदेखि पूर्णिमासम्म नै यहाँ पुलभरि मान्छेको भिड लागेको थियो । यहाँ आएर मानिसले भौतिक दूरी नै विर्सिएका छन् ।’’– बेलका नगरपालिका–४ का शरद कोइरालाले भन्नुभयो–‘‘प्राकृतिक दृश्यालोकन गर्न र कोशी नदीमा सञ्चालित जेटबोट चलेको हेर्नेको निकै ठूलो भिड लाग्यो ।’’ उक्त पुल पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरे ।

    एशियाली विकास बैंकको सहयोगमा यो पुल बनेको हो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सन् २०१५ अगस्त ३ मा यसको उद्घाटन गरेको थियो । उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने यो पुल सञ्चालनमा आएसँगै हेटौँडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको छ । पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा सहजै रुपमा जोडिएका छन् । 

    यो पुलले मध्यपहाडी राजमार्गलाई पनि जोड्न सहयोग गर्छ । हेटौंँडाबाट धरान जोड्ने छोटो बाटो पनि खुलेको छ । हाल यो सडक मदन भण्डारी पूर्व–पश्चिम राजमार्गको रुपमा स्थापित भएको छ । पूर्वबाट राजधानीलगायतका पश्चिम नेपालको यात्रा प्रायः यही बाटो हुँदै मानिसहरु तय गर्दै आएका छन् ।

    पुल नहुँदाको पीडा

    पुल नबन्दा उदयपुर सुनसरी वारिपारी गर्न बाँसको नाउ बनाएर यहाँका स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । रामपुरबाट धरानको दूरी २२ किमी छ । तर उक्त दूरीको शहरमा किनमेल तथा स्वास्थ्य उपचारका लागि आउन रामपुर, फत्तेपुर, कञ्चनपुर, इटहरी हुँदै करिब १४० किमी दूरी पार गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो । 

    हाल पुल बनेपछि त्यो बाध्यता हटेको छ । पुल बनेपछि स्थानीयवासीहरु एकै छिनमा धरान, विराटनगर पुगेर फर्कने गर्छन् ।

    स्तरीय प्रविधिबाट बनेको पुल 

    करिब रु ७६ करोड ११ लाखको लागतमा यो पुल निर्माण सम्मन्न भएको थियो । यो रकम मध्ये एशियाली विकास बैंकको ६० प्रतिशत अनुदान र नेपाल सरकारको बाँकी ४० प्रतिशत लगानी रहेको छ । कालिका कन्स्ट्रक्सन् प्रालिले यो पुलको निर्माण गरेको हो । 

    दुई सय ६१ दशमलव ३ मिटर लामो यो पुलमा तीन वटा पिलर त्यसमाथि फ्लस राखेर माथिल्लो भागमा पिच गरेर बनाइएको छ । यो उच्च प्रविधिको भएको निर्माण कम्पनीले दाबी गरेको छ । यस्तो प्रविधि कर्लाणी पुल र कोशी पुलमा मात्र प्रयोग भएको उक्त निर्माण कम्पनीले जनाएको छ ।
     
    सन् २००८ मा सप्तकोशी नदीमा आएको बाढीले सप्तकोशी ब्यारेजमा असर गरेपछि त्यसको विकल्पको रुपमा एडिबीको सहयोगमा सरकारले यो पुल निर्माण थालेको थियो । सन् २०११ नोभेम्बर १४ बाट शुरु भएको पुलको निर्माण पाँच वर्षमा सम्पन्न भएको थियो ।

     कालिका कन्स्ट्रक्सनका निर्देशक पदम गुरुङले संसारकैस्तरीय प्रविधि ल्याएर पुल निर्माण गरिएको बताए । पुलको सम्भाव्यता अध्ययन झण्डै १३ वर्ष अगाडि गरिएको थियो । 

    कालिका कन्स्ट्रक्स प्रालिका निर्देशक पदम गुरुङका अनुसार कोशी पुल निर्माण भौगोलिक हिसाबले कठिन थियो । पानीमाथि तीनओटा पिलर निर्माणका लागि पायल फाण्डेशन भएको ८ मिटर चौडाइ र २६२ मिटर लम्बाइको पुल निर्माणका लागि पिलर नै पानी मुनि २० मिटर खनिएको छ । पानीमुनि खन्न क्यानाडाबाट डब्बल रोटरी मेसिन डिआर४० कम्पनीले ल्याएको थियो ।

     उक्त मेसिनले आफै खन्ने र खनेका स्थानमा पाइप पनि आफैँ लगाउछ । जसका कारण खनेका स्थानमा पानी पर्न पाउँदैन । रु २० करोडमा कम्पनीले सो मेसिन ल्याएको र कोशी नदीको उक्त पुल बनाउन प्रयोग भएपछि  अन्य कुनै काममा पनि सो मेसिन प्रयोगमा नआएको पनि निर्देशक गुरुङले बताए ।

    पूर्व–पश्चिम जोड्ने वैकल्पिक पुल 

    भारतले सप्तकोशीमा ब्यारेज बनाएको छ । उक्त ब्यारेजको अवधि ५० वर्षको थियो । आयु सकिएको पाँच वर्ष वितिसकेको छ । उक्त पुल कुनै पनि बेला भत्कन सक्ने सम्भावना भएकाले नेपालको पूर्व र पश्चिम जोड्न यही पुल विकल्प हो । 

    हाल सुनसरीको पकलीस्थित कान्छीचोक, नहडा, चतरा, कोशी पुल, उदयपुरको रामपुर, सप्तरीको फत्तेपुर, कञ्चनपुर निस्किने ५१ किमी अर्को सडक निर्माण भइसकेको छ । यस सडकलाई गाईघाट जोड्ने काम पनि सम्पन्न भएको छ ।

    मदन भण्डारी राजमार्गअन्तर्गत चार लेनको सडक उदयपुरको बेलटार, भिमा हुँदै गाईघाटसम्म सडक निर्माण भइसकेको छ । केही स्थानका खोलामा पुल निर्माण हुन मात्र बाँकी रहेको छ । 

    पुल निर्माण अघि सुख्खा रहेका उक्त क्षेत्रमा आर्थिक चहलपहल समेत बढेको छ । प्रति बिघाको रु एक लाख पर्ने जग्गा हाल रोपनीको रु पाँच लाखसम्ममा बिक्री भइरहेको स्थानीयवासी रमेश राईले बताए । उनले यहाँ ब्यापार व्यवसाय पनि फष्टाएको तर यति बेला भने कोरोना महामारीका कारण आर्थिक मन्दि रहेको बताए । 

    उत्पादन शहरसम्म पु¥याउन सहज

    पूर्वी पहाडी जिल्लाका कृषि उपजको प्रमुख बजार धरान हो ।  त्यहीँबाट व्यापारीले ती उत्पादन इटहरी, विराटनगर, काँकडभिट्टा हुँदै भारतका विभिन्न शहरमा बेच्ने गरेका छन् । नगन्य मात्रामा ताजा सागसब्जी भारत निर्यात हुने गरेको छ । उदयपुर, खोटाङ, भोजपुरका उत्पादन धरान लान हाल सजिलो भएको चतराका व्यापारीे बताउछन् ।  

    पुल सञ्चालन भएपछि उदयपुरका बेल्टार बसाहलगायत स्थानबाट मात्र आफ्ना उत्पादन सहज रुपमा बेच्न पाएका छन् । ‘‘पुल निर्माणले उदयपुरको पूर्वी भेगको चौदण्डी र बेलका नगरपालिकाका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ’’–स्थानीयवासी दीपेन्द्र राईले भने ।

    अर्को आकर्षण जेट बोट 

    बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ । यसले शुरु गरेको चतरामा हाल चार ओटा कम्पनीले सात ओटा सानो ठूलो बोट सञ्चालन गर्दै आएका छन् । 

    वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार कम्पनीले साना ठूला गरेर सात ओटा जेट बोटबाट कोशी पुलदेखि बराहक्षेत्र हँुदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका हुन् । अठार जनादेखि ६० जनासम्म अट्ने बोट सप्तकोशीमा सञ्चालन हुँदै आएका छन् । उक्त बोट चढ्न पनि कोशीपुलमा आन्तरिक पर्यटक पुग्ने गर्छन् ।
      
    धरानबाट २५ मिनेटमा पुगिने चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पुग्न पाँच मिनेट लाग्छ । सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभरी नै समय खर्चनुपर्ने हुन्छ । 

    सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा सात घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधैँ दुई घण्टामा यात्रा गर्न सकिन्छ ।

    सप्तकोशी नदी हुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याएको हो ।

     यसले उदयपुर, भोजपुर र खोटाङको सिमाना रानीटारसम्म बोट सञ्चालनका लागि सरकारबाट अनुमति पाएको छ । रानीटारसम्म पुग्न चतरा, रामपुर, बसाहा, चौदण्डीगढी हुँदै रानीटार पुग्न सडक यातायातबाट छ घण्टा लाग्छ । 

    भोजपुर सदरमुकामबाट रानीटारसम्म झर्न नौ घण्टा समय लाग्छ । चतराबाट बोटबाट ३० मिनेटमै पुग्न सकिने बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिका सञ्चालक विमलमान श्रेष्ठले बताए । 

    साताको लोकप्रीय