मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर अर्यालसँगको अन्तर्वार्ता : "मेलम्ची पर्यटन केन्द्र बन्नेछ "

मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर अर्यालसँगको अन्तर्वार्ता : "मेलम्ची पर्यटन केन्द्र बन्नेछ "

अर्थ डबली
सोमवार, कार्तिक २४ २०७७
अर्थ डबली
सोमवार, कार्तिक २४ २०७७ (अर्काइभ बाट)
  • मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बर अर्यालसँगको अन्तर्वार्ता : "मेलम्ची पर्यटन केन्द्र बन्नेछ "

    मेलम्ची नगर समृद्धिको आधारः कृषि, पर्यटन, उद्योग र जलाधार’ भन्ने मूलनाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले काम गरिरहेको छ ।

    images
    images

    अहिलेसम्म नगरपालिकाका के के काम सम्पन्न भए, विकास निर्माणको अवस्था कस्तो छ  र मेलम्चीलाई समृद्ध बनाउन के के काम भइरहेको छ भन्ने विषयमा   समाचारदाता देवराज सुवेदीले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, अर्यालसंँग लिइएको अन्तर्वार्ताको सारसंक्षेपः

    आजभोलि केमा व्यस्त हुनुहुन्छ प्रमुखज्यू ?

    आजभोलि नगरपालिकाकै काममा व्यस्त छु । हिँउद लागिरहेको छ । मेलम्ची नगरपालिकाले गर्ने कामहरु भइरहेको छ ।  टेण्डरको काम भइरहेको छ ।

    टेण्डरका लागि आएका निवेदनहरु स्वीकृत गर्ने कामहरु गरिरहेका छौँ। असारसम्म गर्ने कामहरु हेरिरहेका छौँ र ती कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाउनका लागि हामी निरन्तर जुटिरहेका छौँ । 

     नगरपालिकाका विकासनिर्माणको काम चाहिँ कसरी अगाडि बढ्दै छ ?

    नगरपालिकाको नगरसभाद्वारा बनेका जति पनि हाम्रा योजनाहरु छन्, ती हामीले अगाडि बढाइरहेका छौँ ।  ती योजना अगाडि बढाउने क्रममा कार्यपालिकाले पनि केही थप निर्णयहरु गरेको छ ।

    रु १० लाखसम्मको काम उपभोक्ता समितिमार्फत गर्ने र १० लाखभन्दा माथिको काम इबिडिङको माध्यमबाट गर्ने र १० लाखभन्दा तल अर्थात् ५ लाखसम्मको कामको योजना बनाउने, सम्झौता गर्ने काम वडाबाटै भइरहेको छ ।

    जति पनि उपभोक्ता समितिमार्फत कामहरु हुन्छन्, ती चाहिँ हामी नगरपालिकाकै माध्यमबाट अगाडि बढाउछौँ । यसरी हेर्दा यसभित्र कृषि,पर्यटन, स्वास्थ्य र शिक्षासँग सम्बन्धित काम पर्छन् ।  

    जनताको जीवनसँग जोडिने अरु सबै किसिमका कामलाई क्रमिकरुपमा अगाडि बढाइरहेका छौँ र यो करीबकरीब अन्तिम चरणमा छन् । यस सालको बर्खायाममा वर्षा धेरै भयो । यसले गर्दा विपद्हरु धेरै निम्तिएका छन् । त्यसैले यससँग सम्बन्धित काम पनि सँगसँगै अगाडि बढिरहेको छ । बर्खाबाट बिग्रिएका मोटरबाटोहरु निर्माणको चरणमा छ । खानेपानी, सिँचाइका कामहरु निर्माण चरणमा छन् ।  

    melamchi nagarpalika.JPG

    भूकम्पपछि निर्माण भएका घरहरु पनि भत्किने अवस्थामा पुगिसकेका छन् । त्यसैले  प्राविधिक अध्ययनको काम पनि शुरु भइसकेको छ । त्यसलाई नै संरक्षण गरेर हुन्छ या संरचना नै नया बनाउनुपर्ने हो, प्राविधिक रिपोर्टका आधारमा काम अगाडि बढिरहेका छन् ।

    त्यसैले विपद्का निम्ति नगरसभाद्वारा छुट्याइएका बजेटले  पुग्ने अवस्था छैन तर काम भने अगाडि बढिनैरहन्छ । हामी कम्तीमा आगामी पुसभित्र हिउँदे नगरसभा गरिसक्छौँ र नगरसभाद्वारा बजेट अनुमोदन गर्ने गरी  विपद्का कामहरु अगाडि बढाइरहेका छौँ । 

    विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस गर्दा विकासनिर्माणको काम रोकियो कि रोकिएन ?

    काममा असर त पु-यायो नै, हाम्रा कतिपय विकास निमार्णको कामहरु रोकिएका छन् । ती रोकिएका कामहरु सम्पन्न गर्नका लागि हामीले चार महिना म्याद थपेका थियौँ साउन,भदौ, असोज र कात्तिक ।

    अब कात्तिक मसान्तसम्म ती काम सम्पन्न हुन्छ  । गत सालको जिम्मेवारी जति सबै हाीिलाइ सरेको छ र यस महिनाको मसान्तसम्ममा ती कामहरु सम्पन्न हुन्छ ।

    जुन रफ्तारमा काम हुनुपर्ने हो, त्यो गतिमा चाहिँ हुन सकेन । वर्षा र कोभिड हाम्रो विकासका लागि बाधक बनेका छन् ।  हामीले विभिन्न समस्यासँग जुध्दै काम अगाडि बढाइरहेकै छौँ । 

    अनि  चुनावका बेला बोलेका कुरा कति पूरा भए, कति बाँकी छन् रु गरेरै छाड्छु भनेर गरिएका प्रतिबद्धता कति पूरा भए ?

    अब यो वर्ष सम्पन्न हुँदा तीन वार्षिक योजना सम्पन्न गछौँ । त्यसैले हामीले भनेका जति पनि प्रतिबद्धता थिए,  त्यसको ७० प्रतिशत काम सम्पन्न भइसकेका छन् । हामीले बोलेका कुरा मात्र हैन, जनताको आवश्यकता र चाहनालाई समेत बुझेर काम अगाडि बढाइरहेका छौँ ।

    बाँकी रहेका ३० प्रतिशत काम पनि अगाडि बढिरहेको छ र झण्डै शतप्रतिशतको हाराहारीमा पुग्न सकौँला भन्ने अनुमान गरेका छौँ ।

    यदि प्राकृतिक प्रकोपको कारण हामीले बनाएका संरचना वा विकासनिर्माणको काममा क्षति पुग्छ भने त्यो बेग्लै कुरा हो नत्र हामी हाम्रो लक्ष्यमा पुग्नै लागिसक्यौँ ।  मेलम्ची नगरपालिका र वडा कार्यालयसम्मको बाटालाई बाह्रै महिना चल्ने बनाउनका लागि काम भइरहेको छ ।

    बसपार्क, फोहोर व्यवस्थापन, ग्रिनसिटी पार्क निर्माणको काम अन्तिम चरणमा छ र अब छिट्टै यो सम्पन्न हुन्छ । यस सँगसँगै मठमन्दिर र गुम्बा निर्माणको काम र मेलम्ची नगरपालिकालाई काठमाडौँसम्म जोड्ने सडकहरु हाम्रै प्रयत्नबाट पीच हुँदै छन् ।

    मेलम्ची –जिरोकिलो, साँखु –मेलम्चीसम्मको सडकपिचको काम पनि लगभग शुरु भइसकेको छ । क्रमशः मेलम्चीदेखि नगरपालिकाकै वडा नम्बर ७ जाने दुई वटा सडक पिच हुँदै छन् । त्यसैले यस वर्षसम्म हामीले मुख्य काम ग-र्यौँ । अबको वर्षदेखि हामीले गरेका काम देखिन थाल्छ र जनताले स्थानीय सरकार सँगसँगै विकास भएको महसुस गर्न थाल्नेछन् ।

    dambar aryal.JPG

    पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले के गर्दै छ ?

    पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निर्माणको काम धमाधम छ ।  त्यसमा जिपिएस हाल्ने काम पनि भइरहेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ४,५,६ तीन वटै वडालाई छोएको धौलेलाई प्रवद्र्धन गर्ने हिसाबले योजना बनाएका छौँ । जनैपूर्णिमाको दिन मेला लाग्ने धौले प्रचारप्रसारको हिसाबले ओझेलमा परेको महसुस भइरहेको छ । त्यसैले यसलाई पर्यटकीय गन्तव्य बनाउन  लागिपरेका छौँ ।

    पोखरी निर्माणको काम भइसक्यो र अब एउटा मन्दिर र एउटा स्तूप बनाउने योजना छ ।  त्यस्तै जलवायु सम्मेलन भएको  वडा नम्बर ९ मा रहेको गुफाडाँडालाई पनि पर्यटकीय क्षेत्र बनाउने काम भइरहेको छ । पर्यटकहरुका लागि सहज होस् भन्नका लागि सिँढीं निर्माण भइरहेको छ ।

    त्यस्तै मेलम्चीदेखि धौले र गुफाडाँडा जाने सडक मर्मत तथा व्यवस्थित बनाउनका लागि बजेट विनियोजन गरेर काम भइरहेको छ । 

    हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको केन्द्र अर्थात् मुख्य बजार नै  मेलम्ची हो । यसलाई व्यवस्थित बनाउन केके काम भइरहेको छ ?

    मेलम्ची बजारलाई व्यवस्थित बनाउनका लागि बजार पिच हुँदै छ । बजारकै छेउमा बसपार्क निर्माण भइरहेको छ । बजारमा भएका सबै सवारी साधन बसपार्कमा बस्नेबित्तिकै अव्यवस्थित पार्किङको अहिलेको समस्या हल हुन्छ ।

    त्यस्तै सुरक्षित बजार बनाउनका लागि सिसिटिभी जडानका काम सकिएका छन् । शान्तिसुरक्षाको हिसाबले पनि उपयुक्त हुने खाले काम गर्दैछौँ ।

    बजारमा पुराना शैलीका मन्दिर निर्माणकोे काम भइरहेको छ । त्यहाँ पनि नगरपालिकाले सहयोग गरेको छ । बजार व्यवस्थापन समिति गठन गरेर बजारलाई सुन्दर र सफा राख्न काम तीव्र गतिमा भएको छ । 

    नगरवासीले  नगरपालिकालाई स्थानीय सरकारको रुपमा लिएका छन् त ?

    पक्कै पनि नगरपालिकाले आफ्नो काम तीव्र गतिमा गरिरहेकै छ । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको जिम्मेवारी पाएपछि सरकार हुने हो ।  सरकार आफैँले मात्र केही गर्ने हैन, यो कुरा सबैले बुझ्नुपर्छ र बुझेका पनि छन् ।  

    मलाई लाग्छ, कोही पनि व्यक्ति नगरपालिकाको कामप्रति असन्तुष्ट छैन ।  कुनै बेला कसैलाई चित्त बुझेन भने पनि नगरपालिकामा आएर गुनासो गर्न पाइन्छ । त्यो गुनासोको सम्बोधन गर्न हामी तयार छौँ । हाम्रो काम भनेकै जनतालाई सुखी र खुशी बनाउँदै नगरपालिकाको विकास गर्ने त हो नि ।

    राष्ट्रिय गौरवको  मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंँ पठाइसकेपछि यहाँका प्रभावित क्षेत्रका जनताले के आश गर्ने त ?

    मेलम्ची नदीको पानी काठमाडौँ गइसकेपछि हामीले लेबी माग गरेका छौँ । मेलम्ची मात्र हैन, माथि हेलम्बु तल इन्द्रावती पनि छ । त्यसैले लेभी निर्धारणका लागि हामीले एउटा समिति बनाएका छौँ । त्यो समितिका संयोजक यस क्षेत्रका सांसद शेरबहादुर तामाङ हुनुहुन्छ ।

    त्यसपछि जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ सदस्य हुनुहुन्छ ।  स्थानीय तहका प्रमुखहरु सदस्य रहेर बनेको समितिले लेभी निर्धारण सँगसँगै अन्य विकासनिर्माणको काम गर्नका लागि पहल गरिरहेको छ । 

    स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नका लागि कस्तो योजनाका साथ नगरपालिकाले काम गरिरहेको छ ?

    हामीले नगरपालिकाको कृषि क्षेत्रको कामलाई अगाडि बढाइरहेका छौँ, चाहे त्यो उत्पादनका क्षेत्रमा होस् या व्यापारको काममा होस् । तरकारी उत्पादन गर्नका लागि अनुदानको व्यवस्था गरिरहेका छौँ । पशुपालनका लागि बीमाको काम भइरहेको छ ।

    melamchi.JPG

    मेलम्ची नगरपालिकाका शतप्रतिशत पशुको बीमा गर्ने योजनामा नगरपालिका लागिपरेको छ । विशेषगरी यस वर्ष गाई र भैँसीको बीमा गर्ने काम भइरहेको छ र आगामी दिनमा सबै पशुको बीमा हुन्छ । साथै गाईभैँसी ब्याइसकेपछि उनीहरुलाइ पोषणका निम्ति पैसा दिने काम भइरहेको छ ।  पाडापाडी या बाच्छाबाच्छीको फोटो लिएर वडा कार्यालय गएमा अनुदान पाइनेछ । 

    तपाईँले देख्नुभएको मेलम्चीको भविष्यको मुहार कस्तो छ ?

    यसैबाट मध्यपहाडी लोकमार्ग आउँदैछ । सडक निर्माण र व्यवस्थापनको काम सकिन्छ । इन्द्रावती नदी किनारमा मेलम्ची स्वप्न सरोवर बनाउनका लागि डिपिआरको काम हुँदै छ ।

    यस हिसाबले मेलम्ची अब सम्झिरहने खालको हुन्छ भन्नेमा म विश्वस्त छु । छिमेकी पालिकाहरुसँग मिलेर पर्यटक भित्र्याउनका लागि काम गर्ने छौँ । त्यसको हब चाहिँ मेलम्ची हुन्छ भन्नेमा म ढुक्क छु  । 

    साताको लोकप्रीय