कर्जा प्रवाह अनुसारको आर्थिक बृद्धि देखिएन, ठूलाले पाए सानाले पाएन – अर्थमन्त्री 

कर्जा प्रवाह अनुसारको आर्थिक बृद्धि देखिएन, ठूलाले पाए सानाले पाएन – अर्थमन्त्री 

बैंकहरुले रु २४ अर्ब बराबरको रकम राष्ट्र बैंकसँग सापटी लिएर चलाएका छन् । चालु आवको हालसम्म रु तीन खर्ब बढिले कर्जा लगानी बढाउँदा निक्षेप भने तुलनात्मक रुपमा कम देखिएको छ । 

अर्थ डबली
शुक्रवार, कार्तिक २६ २०७८
अर्थ डबली
शुक्रवार, कार्तिक २६ २०७८ (अर्काइभ बाट)
  • कर्जा प्रवाह अनुसारको आर्थिक बृद्धि देखिएन, ठूलाले पाए सानाले पाएन – अर्थमन्त्री 

    काठमाडौं/  अर्थ मन्त्रालयमा आज शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नरसहित २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँगको छलफल गरेको छ । अर्थमन्त्रीले कर्जा प्रवाह भए अनुसारको आर्थिक वृद्धि हुन नसकेको भन्दै त्यसमा सुधार गर्नपर्नेमा जोड दिएका छन् । 

    images
    images

    बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएपछि त्यसको समाधान गर्ने उद्देश्यले अर्थमन्त्रालयले आज शुक्रबार छलफल गरेको हो ।

    ठूला व्यवसायीले उपभोग गरेको कर्जाको प्रतिफलका बारेमा आम रुपमा चर्चा भइरहेको बेला अर्थमन्त्रीले तरलताको अभाव भएको भए साना तथा मझौला कर्जामा ध्यान दिन आग्रह गरे ।  

    बैंक तथा वित्तीय संस्थामा निक्षेप खोसाखोस हुन थालेको तथा नयाँ लगानी गर्न नसक्ने अवस्थामा पुगेको सरोकारवालाहरुले बताएका छन् । 

    नेपाल राष्ट्र बैंकले टे«जरी, रिपोमार्फत तरलता दिए पनि समस्या समाधान हुन सकेको छैन । बैंकहरुले अन्तर बैंक सापटीमा कारोबार चलाएपनि प्रणालीमा निक्षेप थपिएको छैन । 

    janardan sharma.JPG

    शुक्रबार मात्रै बैंकहरुले रु २४ अर्ब बराबरको रकम राष्ट्र बैंकसँग सापटी लिएर चलाएका छन् । चालु आवको हालसम्म रु तीन खर्ब बढिले कर्जा लगानी बढाउँदा निक्षेप भने तुलनात्मक रुपमा कम देखिएको छ । 

    विप्रेषण कम मात्रामा भित्रिएको तथा पूँजीगत खर्च नभएका कारण प्रणालीमा पैसाको अभाव देखिएको छ । यो सन्दर्भमा अर्थमन्त्रीले  ‘क’ वर्गका २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग छलफल गरेको हो । 

    छलफलमा अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको खास प्रतिफल देखिन नसकेको भन्दै सकारात्मक प्रभाव पर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए । 

    उनले मुलुकको आवश्यकता, सरकारको चाहना अनुसारको आर्थिक गतिविधि अगाडि बढाउन तयार रहेको र सोही अनुसारको नीतिगत व्यवस्था गरेको भन्दै बैंक तथा वित्तीय संस्थाका केही समस्या भए त्यसलाई समाधान गरिदिन राष्ट्र बैंकलाई आग्रह गरे । 

    अर्थमन्त्रीले नीतिगत रुपमा केही समस्या भए त्यसको समाधानका लागि सम्बन्धित निकायले पहल गर्ने विश्वास दिलाए । 

    छलफलमा नेपाल बैकर्स सङ्घका अध्यक्ष अनिल उपाध्यायाले तरलता अभावका कारण तत्कालका लागि ठूला भनिएका कर्जा रोकेर साना कर्जामा ध्यान दिनुपर्ने अवस्था आएको बताए । 

    साना कर्जालाई प्राथमिकतामा राख्ने विषयमा आफूहरुले विशेष ध्यान दिने धारणा राखेको उनको भनाइ छ । 

     छलफलमा बैंक तथा वित्तीय संस्थाले वैदेशिक ऋण लिनेदेखि अन्य स्रोतका बारेमा आफ्नो धारणा राखेका थिए । स्थानीय तहले बैंकका राखेको निक्षेपलाई पनि शतप्रतिशत रुपमा नै सिडी रेसियोमा गणना गर्न दिनुपर्ने बताएका थिए । 

    अत्यावश्यक वस्तुको तुलनामा अन्य वस्तुको आयात अत्याधिक मात्रामा बढेको भन्दै त्यसलाई रोक्नुपर्ने बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको भनाइ थियो । 

    केहीले भने संस्थागत निक्षेपकर्ताले सामान्य बढी ब्याजको लोभमा निक्षेप सार्ने काम गर्दा समस्या आएको बताएका थिए । उनीहरुले संस्थागत निक्षेपकर्ताका लागि छुट्टै कानूनी प्रबन्ध गर्नुपर्ने बताउँदै निजी क्षेत्रका कम्पनी जस्तो गरेकामा गुनासो गरेका थिए । 

    सामान्य अङ्कले ब्याज बढ्ने वित्तिकै निक्षेप अर्कोमा सार्ने अवस्थाले झनै समस्या भएको र निक्षेप खोसाखोस हुने अवस्था आएको उनीहरुको भनाइ थियो । 

    janardan sharma- finance.JPG

    केही बैंकका प्रतिनिधिले भने तरलता अभावका कारण बैंकमा पैसा सकिएको भन्दै समस्याको समाधान गरिदिन अर्थमन्त्रीसँग माग गरेका थिए । 

    छलफलमा अर्थमन्त्रालयका तर्फबाट वर्तमानको अर्थतन्त्र विषयक प्रस्तुति गरिएको थियो । यस्तै, नेपाल राष्ट्र बैंकले पनि पछिल्लो विवरण प्रस्तुत गरेको थियो ।

    साताको लोकप्रीय