आजदेखि सुरु भयो जिल्लाकै ठूलो गौराति मेला

आजदेखि सुरु भयो जिल्लाकै ठूलो गौराति मेला

अर्थ डबली
बिहिवार, मंसिर २ २०७८
अर्थ डबली
बिहिवार, मंसिर २ २०७८ (अर्काइभ बाट)
  • आजदेखि  सुरु भयो जिल्लाकै ठूलो गौराति मेला

    चौतारा / धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध सिन्धुपाल्चोकको गौराति भिमेश्वरको मेलाको चहलपहल सुरु भएको छ । 

    images
    images

     कोभिड–१९ महामारीका कारण सामान्य पूजाबाहेक दुई वर्षसम्म रोकिएको मेला यस वर्ष जनस्वास्थ्यको मापदण्ड अपनाइ सुरु हुन लागेको हो । 

    प्रत्येक कात्तिक पूर्णिमाको दिनबाट सुरु भई तीन दिनपछि सकिने सो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने हुँदा यस मेला जिल्लाकै लामो मेलाका रुपमा मानिएको हो । 

     मेलाका उपलक्ष्यमा यही शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सदरमुकाम चौताराबाट चार किलोमिटर उत्तरपश्चिममा पर्ने चौतारा साँगाचोकगढी –६ स्थित गौरातिडाँडामा रहेको भीमेश्वर मन्दिरसम्म पुग्न यातायातको समेत सुविधा छ । 

     मेला भर्न जाने भक्तजनको सुविधाको लागि खानेपानी र विद्युत्को व्यवस्था मिलाउने काम सम्बन्धित निकायले जिम्मा लिएका छन् । मेला भर्न आउने भक्तजन बिरामी परेमा नगरपालिकासँग समन्वय गरी प्राथमिक स्वास्थ्योपचारको व्यवस्था मिलाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।

     मेलामा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट कडा सुरक्षा व्यवस्था मिलाउनुका साथै स्थानीय क्लबका समन्वयमा मदिरा बिक्री वितरणमा समेत कडाइ गरिएको छ । 

    कोरोनालाई दृष्टिगत गरी स्वास्थ्य मापदण्ड अपनाउन प्रत्येक नाकामा सुरक्षा टोली र स्वास्थ्यकर्मी खटाई मास्क लगाएर मात्र प्रवेश दिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

      मेलामा शान्ति सुरक्षा कायम गर्न मन्दिर परिसरमा सादा पोसाकसहित सुरक्षाकर्मी खटाइएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । 

      मेलामा कोही व्यक्ति हराएमा खोजतलासको लागि सुरक्षाकर्मी र स्थानीय क्लब समावेश गरी नगरपालिकाको कर्मचारीसहितको सचिवालयसमेत गठन गरिएको छ ।

    चौताराको पुरानोबजारस्थित गुठीघरबाट भीमसेनको मूर्तिलाई रथमा लगि पूर्णिमाको रात गौराति मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ । 

     गुठियारको घरघरमा समेत पूजा गर्ने चलन छ । तत्पश्चात् सिन्दूरे जात्रासहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा छ । गौराति भिमेश्वर मेलाकै अवसरमा सरकारी पूजासमेत हुने प्रचलन रहेको छ । मेला भर्न देशका विभिन्न भागबाट श्रद्धालु भक्तजन आउने गर्दछन् ।

    पौराणिककालमा जङ्गल रहेको सो डाँडामा गोठालाले खर्क राखी गाई चराउने गर्दथे । 

     गाईले राति–राति एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ति प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकाले सोही समयदेखि पूजाआजा गर्ने गरेको किंवदन्ति छ ।

      ‘गौ’ अर्थात् गाईले राति दूध चढाएको कारण गौराति र भूमि खनेर उत्पत्ति भएकाले भूमेश्वर हुँदै कालान्तरमा भीमेश्वर हुन गएको मान्यता छ । 

     धर्मशास्त्रमा सो कुराको उल्लेख भए पनि ऐतिहासिक प्रमाणको रुपमा भने पीपलडाँडा निवासी दलबहादुर कुँवर नामक व्यक्तिले सो मन्दिरमा विसं १६४२ मा चढाएको ढलौटको घण्टाको आधारमा ४३६ वर्ष पहिलेदेखि पूजाआजा गरिँदै आएको स्पष्ट हुन आउँछ ।

      मन्दिरमा मेला अवधिभर हजारौँ पशुपन्छीको बलि चढाउने गरिएको मन्दिरको पुजारीको कथन छ । मन्दिरलाई विभिन्न कालखण्डमा जीर्णोद्धार गरिँदै आए पनि विसं २०५३ मा पुनः निर्माण गरी तत्कालिन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भको अनावरण भएको थियो । सो समयमा  रुद्राक्षको बिरुवासमेत रोपिएको थियो ।

      अहिले सो रुद्राक्ष दाना फल्न लागेको  छ ।  समुद्री सतहबाट एक हजार ८२८ मिटरको उचाइमा रहेको मनोरम गौरातिडाँडा मनोरम दृष्यावलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिन्छ ।

    साताको लोकप्रीय