राजनीतिक दलको महाधिवेशन : पर्यटनसँगै अर्थतन्त्र चलायमान

राजनीतिक दलको महाधिवेशन : पर्यटनसँगै अर्थतन्त्र चलायमान

अर्थ डबली
आइतवार, कार्तिक २८ २०७८
अर्थ डबली
आइतवार, कार्तिक २८ २०७८ (अर्काइभ बाट)
  • राजनीतिक दलको महाधिवेशन : पर्यटनसँगै अर्थतन्त्र चलायमान

    चितवन / जिल्लामा राजनीति दल र तिनका भातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ । 

    images
    images

    राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन् । यसले समग्र जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाएको हो ।

      देशको ठूलो राजनीतिक दल नेकपा (एमाले), नेकपा (माले) र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको महाधिवेशन जिल्लामा हुँदै गर्दा यहाँको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हो ।
     
    नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय महाधिवेशन नारायणगढको नारायणी कला मन्दिरमा कात्तिक २७ गतेदेखि जारी छ । उक्त अधिवेशन २९ गतेसम्म सञ्चालन हुनेछ । 

     पार्टीका नेता भगवती घिमिरेका अनुसार देशभरबाट ३५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन् । प्रतिनिधि जिल्लाका विभिन्न होटलमा बसिरहेका छन् । प्रतिनिधि बाहेकका पनि पार्टी शुभेच्छुक यहाँ आएको उहाँले जानकारी दिए ।
     
    नेकपा ९एमाले० को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म यही हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा गरिँदै छ ।

      महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि हुनेछन् । यसका अतिरिक्त सोही सङ्ख्याभन्दा बढी शुभेच्छुक, नेता कार्यकर्ता, विदेशी र स्वदेशी पाहुना हुने अनुमान गरिएको छ ।

     सो समयमा सौराहामा रहेका अधिकांश होटलका कोठा बुकिङ भइसकेका छन् । पार्टीले चार हजार बेड बुकिङ गरिसकेको छ । सौराहाको क्षमता ६ हजार ५०० शय्या हो । 

     क्षेत्रीय होटल सङ्घका अनुसार मङ्सिर ९ गतेदेखि १२ गतेसमम सौराहाका सबै कोठा बुकिङ भइसकेका छन् । ठूला राजनीतिक दलको महाधिवेशन यहाँ भएको यो पहिलो हो ।
     
    बन्द सत्र हुने सौराहा चितवन क्षेत्र नं १ मा पर्दछ । सो क्षेत्रका सांसदसमेत रहेको पाण्डेले यसले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने बताए ।

      नेकपा एमालेको महाधिवेशनमा मात्रै रु आठ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । प्रतिनिधि नभएकाबाट पनि ठूलै रकम खर्च हुने व्यवसायी बताउँछन् ।

      नेता पाण्डेले भन्नुभयो “एक दिने जात्रा र सभामा त ठूलो आर्थिक चलायमान हुन्छ भने महाधिवेशनले त जिल्लाका समग्र क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँछ ।” 

     प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जिल्लाको समग्र क्षेत्र लाभान्वित हुने पूर्व अर्थमन्त्री समेत रहनुभएका पाण्डेको भनाइ छ । यससँगै यहाँको पर्यटन देशभर प्रवद्र्धन हुने उन्को भनाइ छ । 
     
     देशैभरबाट आउने मानिसले यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पु¥याउने देखिएको छ । 

    नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन मङ्सिर १८ र १९ गते नारायणगढमा हुँदैछ । उक्त महाधिवेशनमा देशभरबाट ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

      केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार महाधिवेशनका प्रतिनिधिलाई भरतपुर र गैँडाकोटका होटलमा राखिँदैछ । 

     महाधिवेशनको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने हुँदा अन्य नेता, कार्यकर्ता र सहभागीसमेत आउने अधिकारीको भनाइ छ ।

    दुईवटा पार्टी र एउटा भातृ सङ्गठनको केन्द्रीय महाधिवेशनले यहाँको अर्थतन्त्र चलायमान बनाउन सुरु गरेको व्यवसायी बताउँछन् । 

     क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यसले व्यवसायीमा उत्साह थपिएको बताए । 

     कोभिडका कारण प्रभावित भएका होटल, रेष्टुराँ भरिभराउ हुन थालेको र महाधिवेशनका दिन सबै होटल बुकिङ भइसकेको उन्ले जानकारी दिए।

      ठूलो राजनीतिक दलको केन्द्रीय महाधिवेशन हुँदै गर्दा अरु दलका केन्द्रीय कार्यक्रम यहाँ आउने उहाँको विश्वास छ । 

    होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले महाधिवेशनको लहरसँगै होटल, रेष्टुराँको व्यापार बढ्न थालेको बताए ।

      यस्ता कार्यक्रमले यहाँको अर्थतन्त्र चलायमान हुने जिल्लाका व्यवसायी चुकेको भनाइ छ । कोभिड–१९ पछिको राम्रो व्यापार महाधिवेशनसँगै सुरु हुने उन्ले बताए  । 

     यी कार्यक्रमबाट यहाँको पर्यटकीय महत्वका क्षेत्रको बारेमा देशभर प्रचारप्रसार हुने व्यवसायी चुकेको भनाइ छ ।  
     
    नेकपा (माले) को नारायणी कला मन्दिर, नेकपा एमालेको नारायणी नदी किनार र सौराहाको होटल सेभेन स्टार तथा प्रेस सेन्टर नेपालको दियालो फुडल्याण्ड क्षेत्रपुरमा महाधिवेशन हुँदैछ ।

    साताको लोकप्रीय