काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एमसीसी देशको लागि आवश्यक रहेको बताएका छन् ।
बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले राजधानीमा आयोजना गरेको पत्रकार केशव गौतमलाई आर्थिक पत्रकार सम्मान तथा आर्थिक जर्नल ‘अर्थचित्र’ विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
एमसीसीले मुलुकको विकासमा भाइटल रोल खेल्न सक्ने भन्दै उनले यसलाई रोक्न नहुने बताएका छन् ।
उनले भने “जब ब्याजदर ४–५ प्रतिशत माथि पुग्छ तब बैंकहरुमा पैसा सुक्छ । तरलता समस्याको कुरा गर्नुपर्दा विदेशी लगानीलाई ल्याउन सकिएको छैन । नीतिगत समस्याका कारण रोकिएको अवस्था छ ।”
यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजारमा देखिएको तरलता अभावको समस्या राष्ट्र बैंकले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
कोभिड १९ को प्रभावले मुलुकको अर्थतन्त्रमा समस्या पारेको बताउँदै उनले यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सम्बोधन गरेको बताए ।
उनले भने “सीडी रेसियोलाई छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने देखिन्छ । अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत भन्दा माथि गरिसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् ।
यसले निजी क्षेत्र प्रभावित हुन पुगेको छ । व्यवसाय गर्नका लागि लगानीको अभाव हुन थालेको छ । यस तर्फ राष्ट्र बैंकको ध्यान जान जरुरी छ ।”
सरकार र निजी क्षेत्र एकै रथको दुई पाङ्ग्रा भएर अघि बढ्न तयार रहेको उनको भनाई छ । मुलुकको आर्थिक विकासका लागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र सधै तयार रहेको उनले बताए ।
त्यस्तै, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रले मात्र होइन पछिल्लो समय सरकारले समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन नसकेको बताएका छन् । उनले भने “जति गर्नुपर्ने थियो त्यति गर्न सकिएन । तर, मुलुकको आर्थिक पुनरुत्थानका लागि सार्वजनिक निजी साझेदारी अपरिहार्य छ ।”
कोभिड १९ प्रभाव नेपालमा मात्र होइन सबै जसो मुलुकहरुमा परेको र अधिकांश मुलुकहरु विस्तारै उत्थानको चरणमा रहेको भन्दै उनले यसलाई नेपालले पनि चुनौतीको रूपमा नभई अवसरको रूपमा लिनुपर्ने बताए । सार्वजनिक निजी साझेदारीको रूपमा आर्थिक विकास तथा पुनरुत्थानमा लानुपर्ने उनको भनाई छ ।
उनी भन्छन् “सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदियो भने, नीतिगत व्यवस्था गरिदियो भने, लगानीको वातावरण मिलाइदियो भने अर्थतन्त्र उत्थानमा समस्या हुँदैन, छिटै आर्थिक पुनरुत्थानमा जान सकिन्छ ।”