ढिकी जाँतो विस्थापन गर्न विद्युतीय कुटानीपिसानी मिल वितरण

ढिकी जाँतो विस्थापन गर्न विद्युतीय कुटानीपिसानी मिल वितरण

अर्थ डबली
बुधवार, मंसिर १५ २०७८
अर्थ डबली
बुधवार, मंसिर १५ २०७८ (अर्काइभ बाट)
  • ढिकी जाँतो विस्थापन गर्न विद्युतीय कुटानीपिसानी मिल वितरण

    खोटाङ / हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका प्रत्येक टोलमा विद्युतीय कुटानीपिसानी मिल वितरण गरिएको छ । 

    images
    images

    ढिकी जाँतोमा अन्न पिस्दै आएका महिलालाई लक्षित गर्दै वडा कार्यालयले तीन आर्थिक वर्ष लगाएर प्रत्येक टोलमा धान, मकै, गहुँ, कोदो पिस्ने कुटानीपिसानी मिल वितरण गरेको हो ।

     आफू निर्वाचित भएपछि थालिएको विद्युतीय कुटानीपिसानी मिल वितरण अभियान पूरा भएको वडाध्यक्ष रमेश राउतले बताए ।

      “ढिकी जाँतो विस्थापन गर्न रु ४९ हजार पर्ने विद्युतीय कुटानीपिसानी मिल प्रदान गरिएको छ”, उनले भने, “वडा कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा चार, आर्थिक वर्ष २०७५/७६ मा नौ र चालु आर्थिक वर्षमा छ गरी कूल १९ वटा विद्युतीय मिल वितरण गरेको हो ।”

     ढिकी जाँतोमा अन्न पिस्न समय लाग्ने र शारीरिक बलको खर्च हुने भएकाले मिल वितरण गरिएको जनाइएको छ । नगरपालिकाबाट बजेट व्यवस्था गर्न सकिए महिला समूहलाई थप कुटानीपिसानी मिल उपलब्ध गराइने वडाध्यक्ष राउतले बताए ।

      “आधुनिक किसिमको मिल प्रयोगमा आएपछि परम्परागत ढिकी जाँतो प्रयोग गर्दा हुने शारीरिक श्रम र समय महिलाहरुले आयमूलक काममा उपयोग गर्ने अपेक्षा गरेका छौँ,” उनले भने, “महिलाहरुको शारीरिक श्रमको बोझलाई कम गर्नाका साथै समयको समेत बचत गर्न आमा समूहलाई कुटानीपिसानी मिल वितरण गरिएको हो ।”

     एउटा विद्युतीय कुटानीपिसानी मिलले टोलका १५/२० घरपरिवार लाभान्वित भएका छन् । एउटा टोलका एकजना व्यक्ति छनोट गरेर मिल सञ्चालनको व्यवस्था मिलाइएको वडाध्यक्ष राउतले जानकारी दिए ।

      एघार वडा रहेको उक्त नगरपालिकाको प्रत्येक वडाका हरेक टोलमा उक्त किसिमको कुटानीपिसानी मिल वितरण अभियान सुरु गरेको थियो । 

     यसअघि नगरपालिकाले ६१ वटा कुटानीपिसानी मिल वितरण गरिसकेको नगर उपप्रमुख बिमला राईले जानकारी दिए । 

     अन्न पिस्नका लागि उपयोग गर्न पाउने गरी सबै वडाका महिलालाई पायक पर्ने स्थानमा राख्ने गरी कुटानीपिसानी मिल प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ । 

      दस स्थानीय तह रहेको जिल्लाका हरेक गाउँघरमा हालसम्म अन्न (धान, कोदो, मकै, गहुँलगायत) पिस्नका लागि ढिकीजाँतोको प्रयोग हुने गरेको थियो  । 

    पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले अनुदानमा हरेक टोललाई उक्त किसिमको विद्युतीय कुटानीपिसानी मिल वितरण गर्न थालेका छन् ।

    थप समाचार :-

    रासायनिक मलबिनै खेती लगाउँदै किसान :

    भजनी / कैलालीको भजनी नगरपालिका–६ का रामप्रसाद चौधरीले दश बिघा क्षेत्रफलमा गहुँखेती गरेको छ । यसवर्ष ढिलोसम्म वर्षा भएका कारण अन्य वर्षभन्दा ढिलो गरी गहुँखेती सुरु गर्नुभएका उहाँले मल नहालेरै खेतमा गहुँ छरेको छ ।

     “युरिया मलजति पनि पाइन्छ , डिएपी मल जति खोज्दा पनि कतै पाइएन ।” उहाँले भन्नुभयो, “खेती लगाउनै प¥र्यो । खेत बाँझो राख्ने कुरा पनि भएन । भाडामा लिएर खेती गरेको जग्गा मालिकलाई भाडा दिनैपर्छ । मल बिना लगाएको खेतीको उब्जनी के होला र ?”

     रासायनिक मलको चरम अभाव देखिएपछि उहाँ मात्रै नभइ अधिकांश किसानले मलबिनै खेती गर्न थालेका छन् । धानका मौसममा युरियाको र गहुँका मौसममा डिएपी मलको अभावले किसान बर्सेनि चिन्तित छन् । खेती लगाउदा रासायनिक मलको प्रयोग बढी भएका कारण कम्पोस्ट मलले उब्जनी राम्रो नहुने भन्दै किसान रासायनिक मलको प्रयोग बढी गर्दै आएका छन् ।
      
    खेती गर्दा पनि माटोले रासायनिक मल प्रयोग नगरेर उत्पादन नै दिन नस्क्ने बताउँदै स्थानीयवासी अमर कठरियाले गहुँखेतीमा डिएपी मल अत्यावश्यक भएको बताए । उनले बर्सेनि रासायनिक मलको अभाव हुने गरेको बताउँदै तीन तहको सरकार भएर पनि किसानलाई कुनै राहत नभएको गुनासो गरे ।  
     
     कठरियाले  सरकारले धानको समर्थन मूल्य तोक्ने खाद्यले धान खरिद नगर्ने जस्ता समस्यामा अझै पनि किसान रहेको जनाउँदै वास्तविक किसानलाई सरकार छ,भन्ने कुनै महसुस नै नभएको गुनासो गरेको छ ।

     “चाहिएको समयमा नत मल पाइन्छ, नत सरकारले आफै तोकेको मूल्यमा हाम्रो उत्पादन बिक्री हुन्छ ।” उनले भने,“अनि कसरी भनौ किसानका लागि सरकार छ भनेर । यो वर्ष बाढी र डुवानका कारण भोकमरीको चिन्तामा किसान भए पनि सरकारले राहत दिने भनेको छ तर, कहिले दिन्छ त्यसको कुनै पत्तो छैन ।”

    कृषि सहकारीमा पनि मल छैन । छिटफुट रुपमा बजारमा रासायनिक मल पाइए पनि सामान्य किसानले त्यत्रो मूल्य तिरेर मल खरिद गर्न सक्ने अवस्था नरहेको जोशिपुर गाउँपालिका–१ का किसान सीताराम चौधरीले जानकारी दिए । “केही व्यापारीले भारतबाट अवैध रुपमा मल खरिद गरेर नेपाली बजारमा बिक्री गर्दै आएका छन् ।

     त्यो मल आम किसानले खरिद गर्न सक्दैन ।” उनले भने, “समयमा मल नपाउँदा गहुँखेती गर्ने समय ढल्किदैछ । मल पाइएको छैन । यो वर्ष उत्पादनमा निकै ह्रास आउने निश्चित छ ।” 

     जानकी गाउँपालिका–४ मा रहेको मुनुवा कृषक सहकारी संस्थासँग पनि रासायनिक मल छैन । सहकारीले करिब तीन सयभन्दा बढी हेक्टर क्षेत्रफलमा गहुँको बीउ उत्पादन गर्दै आएको छ । मल नपाएपछि गहुँ छर्न ढिलो भइसकेको बताउँदै सहकारीका व्यवस्थापक गोविन्दराज रावतले मलका लागि भैरहवा पठाएको गाडी खाली फर्किएको जानकारी दिए । 

    “भैरहवामा डिएपी मल छ, भन्ने सुनेपछि सहकारीको गाडी मल ल्याउनका लागि भैरहवा पठाएका थियौं । डिएपी ल्याउन पठाएको गाडीमा युरिया मल ल्याउनुपर्यो ।”

      उनले भने, “मलको अभाव हाम्रो क्षेत्रमा मात्रै होइन, देशैभरी हाहाकार छ । सरकारले आवश्यकता भन्दा बढी मल आयात भएको छ भन्छ । तर किसानको खेतमा एक दाना पनि मल पुग्दैन ।”

    –झलनाथ खनाल

    साताको लोकप्रीय