अझै गति लिएन छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो निर्माणले

अझै गति लिएन छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो निर्माणले

अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८ (अर्काइभ बाट)
  • अझै गति लिएन छाङ्गरु–तिङ्कर जोड्ने घोरेटो निर्माणले

    दार्चुला् / व्याँस गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी निर्माण सुरु गरिएको घोरेटो बाटोको कामले गति लिएको छैन । व्याँसीवासीलाई आफ्नै भूमि भएर आवतजावत गर्न गोरेटो  निर्माणको लागि ठेक्का भए पनि अहिलेसम्म कामले भने गति लिएको छैन । 

    images
    images
    images

     नेपालतिर बाटो नहुँदा व्याँस गाउँपालिका–१ छाङ्गरु, तिङ्कर, व्याँस –२ को दुम्लिङ, कल्जु, माललगायतका गाउँका स्थानीय आफ्नै भूमि भएर आवतजावत गर्न समस्यामा परेका छन् । दुई वर्षदेखि यहाँका नागरिकले भारतीय भूमि भएर आवतजावत गर्नुपरेको छ । 

     व्याँस–२ दुम्लिङदेखि छाङ्गरुसम्मको ३० किलोमिटर घोरेटो  निर्माणका लागि सम्झौता भएको आठ महिनासम्म पनि निर्माणको कामले गति लिन सकेको छैन ।

      संघीय सरकारको रु पाँच करोडमा बोलपत्र आह्वान गरेकामा कूल रु तीन करोड ३२ लाखमा लागतमा पुष्पाञ्जलि रिठगडे निर्माण सेवा दार्चुलासँग गत वैशाखमा ठेक्का सम्झौता भएको छ । 

     विसं २०७७ फागुनमा बोलपत्र भई २०७८ वैशाखमा निर्माण कम्पनीसँग घोरेटो निर्माणका लागि दुई वर्षको सम्झौता भएको छ तर ठेकेदारले समयमै काम नगर्दा यो पटक व्याँसीले कुञ्चा सर्दा भारतीय बाटोको प्रयोग गर्नुपरेको व्याँसका स्थानीयवासी विमल बोहराले जानकारी दिए । 

     आफ्नै भूमि भएर बाटो नहुँदा व्याँसको छाङ्गरु तिङ्कर पुग्ने नागरिकले सास्ती भोग्नुपरेको छ । व्याँसी सौका समुदाय छ महिना खलङ्गा तथा छ महिना छाङ्गरु र तिङ्करमा बसाई सर्ने गर्दछन् । 

     हिउँदेयाम सुरु हुने बित्तिकै सौका समुदायका मानिस लालाबालासहित खलङ्गा झर्ने गर्दछन् । नेपालबाट बाटो नभएकै कारण उनीहरु भारतको बाटो प्रयोग गर्दै आइरहेका छन् ।

      भारतको बाटो प्रयोग गर्दै खलङ्गासम्म आउन उनीहरुलाई भारतीय सुरक्षाकर्मीले विभिन्न बाहानामा ठाउँ ठाउँमा दुःख दिने गरेको बताइएको छ  ।

     उनले भने, “आफ्नै देशको भूमि जान भारतीय अनुमति लिनुपर्छ । उनीहरुले अनुमति नदिए गाउँ आउजाउ गर्न सकिने अवस्था छैन । योभन्दा हाम्रो लागि अरु विडम्बना के हुनसक्छे ।” छिटो बाटो निर्माणका लागि पत्रकार शङ्करसिंह धामीले सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घ सोडारीको  ध्यानाकर्षण गराएको छ । 

     प्रदेश गौरवका योजनाको अनुगमनको लागि दार्चुला पुग्नुभएका मन्त्री सोडारीलाई सरकारले व्याँसलाई विशेष क्षेत्रमा राखे पनि नागरिक हिँड्नसमेत बाटो बनाउन नसकेको जनाउँदै पत्रकार धामीले ध्यानाकर्षण गराए ।

      उनले भने, “नेपाली सेनाले साढे ४०० मिटर गोरेटो बाटो बनाइदिएको थियो । ” अहिले त्यही बाटो अवरुद्ध हुँदा पनि मर्मतको काम अघि बढ्न सकेको छैन । यसमा तीन तहको सरकारको ध्यान जानुपर्छ । 

     निर्माण व्यवसायी मानबहादुर बमका अनुसार जिरो पोइन्टदेखि दुई÷तीन किलोमिटर घोरेटो बाटो निर्माण गरे पनि गत भदौमा आएको बाढी र पहिरोले सबै बगाएर लगेको दाबी गर्नुभयो । अहिले बयली, दोपाखे र पोला भन्ने ठाउँमा घोरेटो बाटो निर्माणको काम थालिएको निर्माण उनले बताए । 

     वर्षा तथा कोरोना सङ्क्रमणका कारण भएको लकडाउनले काममा ढिलाइ भएको उनको भनाइ छ । 

     तीस किलोमिटर घोरेटो बाटोको कल्जु, बुदी, सगनाडी र अपि भन्ने ठाउँका खोलामा पुल निर्माण गर्नुपर्ने जनाइएको छ । 

     घोरेटोबाट तीव्रगतिमा निर्माण गर्न विष्फोटक पदार्थको अभाव रहेको निर्माण व्यवसायी बमले बताए । आवश्यक विष्फोटक पदार्थ उपलब्ध गराईदिन भन्दै जिल्ला प्रशासनमा निवेदन दिएको छु उनले भने ।

     घोरेटो  निर्माण गर्नुपर्ने ठाउँमा कडा चट्टानी भू–भाग रहेको भन्दै चट्टान तोड्न विष्स्फोटक पदार्थ आवश्यक रहेको निर्माण व्यवसायीबमले  गुनासो गरे ।
     
      यस्तै भारतले सडक निर्माणका क्रममा कल्जुभन्दा माथिल्लो क्षेत्रमा विष्फोट गराएको ढुङ्गा नेपालपट्टि आएर बढी क्षति भएको जनाइएको छ । 

    –नरेन्द्रसिंह कार्की

    साताको लोकप्रीय