दलितको घरमा पुगेर पूजापाठ गर्दै 'गिरी बा

दलितको घरमा पुगेर पूजापाठ गर्दै 'गिरी बा

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • दलितको घरमा पुगेर पूजापाठ गर्दै 'गिरी बा

    पर्वत / अहिले पनि समाजमा छुवाछुत प्रथा पूर्णरुपमा हटिसकेको छैन । दलित समुदायका व्यक्तिले अझै पनि धेरै खालका जातीय समस्या भोग्दै आइरहेका छन् । समाजमा उनीहरूप्रति गरिने व्यवहार नै बेग्लै छ ।
     
     हिन्दू भएर पनि पूजापाठ, न्वारन, व्रतबन्ध, विवाह जस्ता धार्मिक कर्मकाण्ड गर्न उनीहरूको घरमा पण्डित पुग्दैनन् । दलितका घरमा पूजा गर्दा धर्म नाश हुने गलत बुझाइ अहिले पनि उस्तै छ । यही समाजमा एक पुरोहित पनि थिए, जो लामो समयदेखि दलितको घरघर पुगेर पूजापाठ गर्दै आएको छ ।
     
     कुश्मा नगरपालिका–६ साझा चोक घर भएका ८४ वर्षीय गोपाल गिरी दलित समुदायको घरमा पूजापाठ गर्दै आएको छ । छुतअछुतको कुरा कहीँ नलेखिएको तर केही टाठाबाठा ब्राह्मणले अर्कालाई निच देखाएर आफूलाई ठूलो देखाउन हिन्दू धर्मभित्र गलत परम्पराको सुरुवात गरेको गिरीको भनाइ छ । 
     
     मान्छेले मान्छेलाई भेद्भाव गर्न हुन्न भन्ने चेतना युवा अवस्थामै जागृत भए पनि उनले दलित समुदायको घरमा पुगेर पूजा गर्न सुरु गरेको तीन दशक भयो ।

    images
    images

      “धर्मले यो सानो यो ठूलो, यसलाई भेद गर भनेको छैन, केही मान्छेलाई आफूखुसी यो प्रथाको सुरु गराएका हुन्, एउटै हिन्दू धर्ममा बाँधिएका हामी सबै एकै हौँ, फरक धर्म नै माने पनि मान्छे त सबै एकै हुन्”, पण्डित गिरीले भने, “मैले युवा अवस्थाबाट जातका नाममा भेद्भाव गर्नुहुँदैन भन्दै आएको छु ।”
     
     तिरस्कार सहेरै भए पनि उनले जातीय भेदभाव र हिन्दू धर्मभित्र भगवानका नाममा गरिने बलि प्रथाको समेत खुलेर विरोध गर्दै आइरहेको बताए । उमेरले उकालो चढेपछि पहिले–पहिले जस्तै बोलाएका सबै ठाउँमा पुग्न नसक्ने गरेको तर जान सक्ने भएमा भने उहाँ त्यहाँ पुगेर कर्मकाण्ड गर्दै आएको बताए । 

     वर्षौँ पहिले जातीय छुवाछुतको अवस्था समाजमा व्याप्त थियो । पछिल्लो समयमा आएका सामाजिक परिवर्तनले यो समस्या कम हुँदै गएको छ ।

      यसैको उदाहरण गिरीकी श्रीमती देवी पनि थिए। श्रीमान्ले थालेको अभियानमा देवीको पनि साथ छ । उनले पनि अहिले छुवाछुतमा विश्वास मान्न छाडेको छ । 
     
     “सार्कीकामा, कामीकामा पूजापाठ गर्छ भनेर जिस्क्याए पहिले, जिस्क्याए पनि उहाँ जान छोड्नुभएन, जातभातका आधारमा मान्छेलाई हेला गर्नहुन्न भने”, उनले भने, “मैले पनि छुवाछुत गर्दिन, उहाँ कहीँ पूजामा जान परेमा सघाउँछु, उहाँको कुरा एक दिन त बुझ्लान् नि अरूले ।” 

     पुरोहित गिरीले छुवाछुत र जातीय विभेदुविरुद्ध दलितको घरमा पुगेर पूजापाठ गर्ने मात्र नभइ उनीहरूले बनाएको भोजनसमेत ग्रहण गर्ने गरेको बताए । त्यस जर्जर समय र परिवेशमासमेत खुलेरै समानताका पक्षमा लागेका उहाँलाई विभिन्न सङ्घ संस्थाले सम्मानसमेत गरिसकेका छन् ।
     
     कतिले त उनको साहसलाई क्रान्तिका रूपमा पनि बुझ्ने गरेका छन् । नेपाल दलित सङ्घका अध्यक्ष याम परियारले गिरीको साहसलाई आफूहरूले सम्मान गरेको जनाउँदै जातीय छुवाछुतको अन्त्यका लागि गिरीले गरेको आँटलाई जति सम्मान गरे पनि कमी हुने बताए ।

    – लक्ष्मीप्रसाद सापकोटा

    साताको लोकप्रीय