आयातलाई न्यूनीकरण गर्ने लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार

आयातलाई न्यूनीकरण गर्ने लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार

बिहिवार, असोज २४ २०८१
बिहिवार, असोज २४ २०८१
  • images
    images
    आयातलाई न्यूनीकरण गर्ने लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार
    images
    images

    काठमाडौँ / देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रूपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरूको प्रवर्द्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । 

    ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’भन्ने मूल नाराका साथ राजधानीको राष्ट्रिय सभागृह परिसरमा चलिरहेको दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैँ महोत्सव २०८१ को समापन समारोहमा उनीहरूले यस्तो बताएका हुन् । 

    घरेलु तथा साना उद्योग संघ काठमाडौँ र काठमाडौँ महानगरपालिकाको संयुक्त रूपमा गत बुधबारदेखि शुरु भएको थियो ।

    मेलाको समापन समारोहमा बोल्दै घरेलु तथा साना उद्योग संघ काठमाडौँकी अध्यक्ष पद्म कुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योहरूको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिंदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता औँल्याए ।

    घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुहरूलाई प्रवर्द्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरूको उपभोगमा बृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने प्रदर्शनीको उद्देश्य रहेको बताए ।

    काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यमी भन्ने यात्रामा लागेका उद्यमीहरूले कसरी गुणस्तरीय उत्पादन गर्ने, कसरी कजारीकरण गर्ने, ब्राण्डिङ गर्ने विषयमा अनुभव आदान प्रदान गर्नका लागि प्लेटफर्मका रूपमा मेला आयोजना गरिएको उनले बताए । 

    काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएको यस्ता उद्योगहरूको प्रवर्द्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

    काठमाडौँ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिंदै बाँकी १७ वटा वडामा पनि छिट्टै शुरु गरिन् लागेको जानकारी दिँदै उनले लघु, घरेलु तथा साना उद्योगीहरूको प्रवर्द्धनका लागि सरोकारवालासँग छलफल र सहकार्यबाट अगाडि बढ्ने बताए । 

    टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सेर बहादुर बीसीले लघु, घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन र विकासमा राज्यले नीतिगत रूपमा धेरै कुराको व्यवस्था गरेपनि व्यवहारीक रुपमा कार्यान्वयन हुन नसकेको बताए । 

    देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रूपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरूको ठूलो भूमिका हुने भए पनि यसका लागि धेरै काम हुन नसकेको भन्दै उनले नेपाली रैथाने उत्पादनलाई नेपालीहरूले प्रयोग गर्ने गरी आन्तरिक बजारमा स्थापित हुन सक्दैनन् तबसम्म हाम्रो अर्थतन्त्र पनि दिगो हुन सक्दैन । 

    काठमाडौँ महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समिक्षा निरौलाले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु-याउने लघु, घरेलु तथा साना उद्योहरूको प्रवर्द्धन र बजारीकरणमा सघाउन प्रदर्शनी आयोजना गरिएको बताए । 

    दश दिनको प्रदर्शनी सामग्री र वस्तुको मात्रै प्रदर्शनी नभएर उद्यमी महिलाहरूको धैर्यता, मेहनतको पनि प्रदर्शन भएको भन्दै महानगरपालिकाले लघु, घरेलु तथा साना उद्यमीहरुको आर्थिक र सामाजिक रूपान्तरण गर्ने परिकल्पनाका सम्बाहक र मेरुदण्ड नै यस्ता उद्यमी भएको बताए । 

    प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ ।

    यस्तै प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता उपभोक्ताहरूले मन पराएका थिए ।

    घरेलु तथा साना उद्योग संघ काठमाडौँका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले काठमाडौँ महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको  बताए । 

    प्रदर्शनीमा काठमाडौँ जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौँको सहकार्य र सहआयोजना रहेको थियो।

    प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयाको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका थिए ।

    समापन समारोहमा घरेलु तथा साना उद्योग संघ काठमाडौँका उपाध्यक्ष ईश्वर गुरुङ, काठमाडौँ महानगरपालिका प्रशासन विभाग प्रमुख ध्रुव काफ्ले, कानुन विभाग प्रमुख बसन्त आचार्य, लेखा विभाग प्रमुख डा. शिवराज अधिकारी, उद्यमशीलता विकास सहजकर्ता देवकी घिमिरेलगायतले बोलेका थिए भने प्रदर्शनीमा सहभागी उद्यमीहरूले पनि आफ्ना अनुभव राखेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com