images
images

नेपाल मेडिसिटी अस्पतालमा ‘स्ट्रोक युनिट’ सुरु, स्ट्रोकको उपचार एक जना चिकित्सकबाट मात्रै किन सम्भव छैन ?

नेपाल मेडिसिटी अस्पतालमा ‘स्ट्रोक युनिट’ सुरु, स्ट्रोकको उपचार एक जना चिकित्सकबाट मात्रै किन सम्भव छैन ?

मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • नेपाल मेडिसिटी अस्पतालमा ‘स्ट्रोक युनिट’ सुरु, स्ट्रोकको उपचार एक जना चिकित्सकबाट मात्रै किन सम्भव छैन ?

    काठमाडौँ / विश्व स्ट्रोक दिवसको अवसरमा नेपाल मेडिसिटी अस्पतालले नेपालमै उत्कृष्ट स्तरको ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । विरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्नका लागि उक्त युनिट सञ्चालनमा ल्याइएको हो ।

    स्ट्रोक युनिटका लागि तालिम प्राप्त नर्सिङ सेवादेखि छुट्टै बेड, अपरेशन थिएटर, आइसियु र जाँच गर्ने ठाउँ छुट्याइएको छ ।

    त्यस्तै, यो युनिट सञ्चलान गर्नका लागि अस्पतालले अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल र गाइडलाइन तयार पारेको छ जसमा स्ट्रोकको आपतकालीन अवस्थाको मुल्याङकन गर्ने, कुन अवस्थामा थ्रोमबेकटोमी तथा थ्रोमबोलाइसिस् उपचार विधि अपनाउने, विरामीलाई स्वालोइङ तथा स्पिच थेरापी, फिजियोथेरापी र डिकम्प्रेसिभ हेमिक्राइनेकटोमीको आवश्यकता पर्छ, त्यही अनुसार सेवाहरूको व्यवस्था गरिएको छ ।

    नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा स्ट्रोकका विरामी बढ्दै गएको र यसको अपतकालीन समयबारे मानिसहरूमा कम जनचेतना रहेका कारण उक्त युनिट सञ्चालनमा ल्याइएको बताए । 

    उनले भने, “हामीले स्ट्रोक युनिट अस्पताल तथा चिकित्सकहरूको प्रचारका लागि नभई मानिसहरूमा जनचेतना जगाउन र यस अवस्थाबाट गुज्रेका विरामीहरूलाई सेवा प्रदान गर्न शुरु गरेका हौं ।”

    स्ट्रोक युनिटलाई पूर्ण रूपमा सञ्चालन गर्न अस्पतालमा हेलिकप्टरद्वारा उद्धार गर्ने सुविधा पनि उपलब्ध रहेको छ । स्ट्रोकको विरामीलाई स्ट्रोकको लक्षण देखाएको केही घण्टाभित्रै उपचार पु-याउनुपर्ने भएका कारण हेलिकप्टरबाट उद्धारसँगै स्ट्रोक टीम पनि उपचारका लागि साथ रहन्छ ।

    न्यूरोलोजी विभाग तथा स्ट्रोक युनिटका प्रमुख डा. बाबुराम पोखरेलले नेपालमा स्ट्रोकका विरामीहरूका लागि यसरी विशेष स्ट्रोक युनिट सञ्चालनमा ल्याउनु भनेको एकदमै राम्रो कदम रहेको बताए । उनले अन्य विरामीहरू माझ स्ट्रोकका विरामीलाई राखेर उपचार गर्नुभन्दा छुट्टै ठाउँमा राखेर उपचार गर्दा चाँडो निको हुने सम्भावना धेरै र पुर्नस्थापना पनि छिटो हुने बताए । 

    medicity.jpg

    डा.पोखरेलले भने, “स्ट्रोक युनिटमा रहँदा विरामीलाई आपतकालीन उपचार, होमियोस्टेसिसको सामान्यीकरण, जटिलताहरूको रोकथाम, पुर्नस्थापना देखि विभिन्न विभागहरूबाट पनि हेरचाह गर्ने प्रबन्ध मिलाइएको हुन्छ, जसले गर्दा मृत्यु र अशक्तताको जोखिमलाई कम गर्दछ ।”

    डा. पोखरेलले यो युनिटको आवश्यकता पर्नुको अर्को मुख्य कारण भनेको बढ्दै गएको स्ट्रोेकको विरामीको संख्या रहेको बताए । हृदयघातपछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । हरेक ४ जनामा एक जनालाई स्ट्रोक हुने सम्भावना रहन्छ । त्यस्तै नेपालमा रोगका कारण मृत्यु हुनुमा स्ट्रोक चौथो स्थानमा रहेको छ । 

    नेपाल मेडिसिटी अस्पतालमा सञ्चालनदेखि नै स्ट्रोकको उपचार गरिँदै आएको छ । अस्पतालमा दैनिक ४ जना विरामीहरू स्ट्रोकका कारण भर्ना हुने गरेका छन् । एक अध्ययनका अनुसार हरेक वर्र्ष नेपालमा ३३ हजार मानिसहरूलाई स्ट्रोक हुने गरेको छ ।

    “धेरै जसो विरामीहरू ढिला अस्पताल आइपुग्ने गरेका छन् । स्ट्रोकको लक्षण देखिन थालेको ३ देखि ४ घण्टाभित्र अस्पताल आइपुगी उपचार गर्नसके विरामीमा कुनै किसिमका अपाङगता हुने सम्भावना कम रहन्छ । त्यतिबेलासम्ममा ब्रेन ड्यामेज रिभर्स गर्न सकिन्छ, तर ढिला भएमा मानिसको ज्यानदेखि जिन्दगीभर अशक्त भई बस्नुपर्ने अवस्था आउन सक्छ,” डा. पोखरेलले भने ।

    विभिन्न अध्ययनका अनुसार एक करोड पचास लाख मानिसहरूलाई स्ट्रोक हुन्छ भने ५० लाख मानिसहरू स्ट्रोकको उपचार गर्दागर्दै मृत्यु बेहोरिरहेका छन् । त्यस्तै, स्ट्रोककै कारण ५० लाखमा अपाङ्गता हुन्छ भने ५० लाख मानिसले मात्रै उपचारपछि गुणस्तरीय जीवन बाँच्न पाउँछन् । 

    stok unit.jpg

    न्यूरो सर्जरी विभागका  प्रमुख डा. गोपाल रमन शर्माका अनुसार ब्रेन स्ट्रोक हुने बित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ ।  उनी थप्छन्,“स्ट्रोक हुँदा हरेक एक मिनेटमा लाखौं नसाहरू मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरू मरेर प्यारालाइसिस भई अपाङगता हुने सम्भावना रहन्छ ।”
    स्ट्रोकको उपचार एक जना चिकित्सकबाट मात्रै सम्भव नभएको डा. शर्मा बताउँछन् ।

     “यसको लागि इस्केमिक स्ट्रोकमै विशेषज्ञता गरेका इन्र्टरभेन्सन न्यूरोसर्जन, न्यूरोलोजिस्ट, न्यूरोसर्जन, प्यारामेडिक्स्, क्रिटिकल केयरका क्लिनिसियन, एनेस्थेटिस, रेडियोलोजिस्ट र फिजियोथेरापिस्टहरूको संलग्नता रहन्छ । यही कुरालाई ध्यानमा राखी मेडिसिटी अस्पतालले स्ट्रोक युनिट सञ्चालनमा ल्याएको हो । यो सेवाबाट नेपाल भरिका सम्पूर्ण स्ट्रोकबाट पिडित विरामीहरूले अन्र्तराष्ट्रिय स्तरको उपचारको सेवा पाउने छन् ।”

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार