काठमाडौँ / नयाँ बर्ष २०८२ को सुरुवातसँगै बढेको सेयर बजारको बृद्धिले आज पनि निरन्तरता पाएको छ । यो दिन नेप्से परिसूचक २६.४९ अङ्कले बढेर २७ सय बिन्दु नाघेको हो ।
बर्षको सुरुवातसँगै सकारात्मक रहेको सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि बढ्दा नेप्से परिसूचक २७२२.७३ बिन्दुमा उक्लिएको हो । यस दिन १८७ कम्पनीको मूल्य बढ्दा ५९ ओटाको भने घटेको छ ।
धेरै समयपछि कारोबार रकम पनि आज उच्च बिन्दुमा पुगेको छ । बुधबार ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज बढेर १० अर्ब नाघेको हो ।
बिहीबार ३११ स्टकको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटकमा खरिद बिक्री हुँदा १० अर्ब ७९ लाख ७३ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेन्सेटिभ इण्डेक्स ६.३९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स १.८८ अङ्कले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अङ्कले बढेको छ।
लगानी सेक्टरमा लगानीकर्ता झुम्मिए
बिहिबार कारोबारमा आएका व्यापार समूहबाहेक सबै सेक्टरको परिसूचक बढेको छ । बढेको समूहमध्ये लगानी समूहमा लगानीकर्ताको आकर्षण बढ्यो । यो समूहको परिसूचक सर्वाधिक बढी २.९९ प्रतिशतले बढ्यो । त्यस्तै, विकास बैंक १.३५ प्रतिशत, बैंकिङ उपसमूह १.१४ प्रतिशत, हाइड्रोपावर १.१३ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, बित्त समूह ०.७२ प्रतिशत, होटल तथा पर्यटन ०.३९ प्रतिशत, निर्जीबन बिमा ०.९६ प्रतिशत, म्युचुअल फण्ड ०.६२ प्रतिशत, जीवन बिमा ०.८४ प्रतिशत, अन्य ०.३७ प्रतिशत र उतदन तथा प्रशोधन समूह ०.०५ प्रतिशतले बढेको छ । यता, व्यापार समूह भने ०.१५ प्रतिशतले घटेको छ ।
दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
बिहीबार दुई कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बृद्धि भएको छ । सर्वाधिक बढी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ । यसैगरी, हाइडेइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ६.८२ प्रतिशत र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ६.६७ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक बढी गुमाउनेमा १० प्रतिशत ब्याजदर रहेको एनआइसी एशिया डिवेन्चर २०८५/८६ का लगानीकर्ता रहेको छ ।
यो म्युचुअल फण्डको मूल्य ४.७९ प्रतिशतले घटेको हो भने बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ४.४६ प्रतिशतले घटेको छ । बोटलर्स नेपालको सेयर मूल्यमा गिरावट आएसँगै आज व्यापार समूहमा पनि घटेको हो ।
हिमालयन पावरको कारोबार डेढ अर्ब
बिहीबार सेयर बजारमा एउटै कम्पनीको कारोबार रकम डेढ अर्ब नाघेको छ । यसअघि बलेफी हाइड्रोपावरको कारोबार रकम २ अर्ब माथि पुगेको थियो । आजको कारोबार रकममा हिमालयन पावरको कारोबार रकम १ अर्ब ५८ करोड २५ लाख ११ हजार रुपैयाँ बराबरको हिस्सा छ ।
यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६२ करोड ४६ लाख ५० हजार रुपैयाँ, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ४९ करोड ६१ लाख १४ हजार बराबरको सेयर कारोबार भएको छ ।