काठमाडौं/ शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज सि.सं. ३२ औं कमाण्ड तथा स्टाफ तालिमको औपचारिक शुभारम्भ गरिएको छ।
तालिमको उद्घाटन बलाधिकृत रथी निर्मल कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
उद्घाटन समारोहमा सम्बोधन गर्दै रथी थापाले तालिमले सहभागी अधिकृतहरूलाई अन्तराष्ट्रिय, क्षेत्रीय र आन्तरिक सुरक्षा चुनौतीहरूको गहिरो विश्लेषण गर्न सक्ने र त्यस अनुसार फर्मेशन तथा युनिट तहमा व्यवहारिक योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्षम बनाउने बताए ।
साथै, उनले स्वदेशी तथा विदेशी शिक्षार्थीहरूमाझ अनुभव आदानप्रदान र मित्रभाव प्रवर्द्धन गर्दै तालिमको अधिकतम उपयोग गर्न सुझाव दिए ।
उक्त तालिममा नेपाली सेनाबाट महिला ४ जना सहित ८१ अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट १ १ जना गरी ३ जना, र मित्रराष्ट्रहरू—चीनका २ जना तथा बंगलादेश, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानबाट १ १ जना गरी ८ जना विदेशी अधिकृतहरू सहभागी छन्।
कुल सहभागी संख्यामा ९२ जना अधिकृतहरू रहेका छन्।
वि।सं। २०४९ सालको पौष १४ गते स्थापना भएको सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट हालसम्म नेपाली सेनाका १२२७, नेपाल प्रहरीका १६, सशस्त्र प्रहरी बलका २८, राष्ट्रिय अनुसन्धान विभागका १९, रक्षा मन्त्रालयका १ र मित्रराष्ट्रहरूका १२४ जना सहित कुल १४१५ जना अधिकृतहरूले तालिम प्राप्त गरिसकेका छन्।
कार्यक्रममा शिक्षाध्यक्ष उपरथी चोक बहादुर ढकालले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा रथीवृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, कलेजका पूर्व शिक्षाध्यक्षहरू, पूर्व रथीवृन्द, प्राध्यापकहरू, विभिन्न राष्ट्रका सैनिक सहचारीहरू तथा शिक्षार्थी अधिकृतहरूका परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो।