मुलुकभरि माछापालन व्यवसाय फष्टाउँदो छ । किसानहरु पछिल्लो समय माछापालनमा आकर्षित छन् । माछा उत्पादनमा मुलुक आत्मनिर्भन्मुख भइरहेको बेला भारतिय बजारबाट भन्सार छलेर गुणस्तरहीन माछा भित्रिदा किसान मर्कामा छन् ।
चेक जाँच छलेर वा छलाइएर नेपालमा गुणस्तरहीन माछा आइपुग्दा नेपाली किसानका स्वस्थ माछाले बजार नपाएको माछा पालक किसान संघका अध्यक्ष उमेश प्रसाद (शाह) गुप्ता बताउँछन् । अध्यक्ष गुप्ता बारा जिल्ला परवानीपुर गाउँपालिका ५ का हुन्। उनी विगत ७ वर्षदेखि माछापालन व्यवसायीसँगै सामाजिक क्षेत्रमा पनि परिचित छन् ।
व्यवसायी राजनीतिक रुपमा पनि परिचित छन् । गुप्ता नेकपा एमाले मधेस प्रदेश सदस्य छन् यस्तैगरी अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिव तथा मधेस प्रदेशका इन्चार्जसमेत हुन् । यस्तै बारा जिल्लाका पूर्वभूमि समस्या सामाधान आयोगका विज्ञ सदस्यका रुपमा समेत आफ्नो अनुभव निखारेका छन् ।
अध्यक्ष गुप्ता किसानको जीवनस्तरमा परिवर्तन आए मात्रै मुलुकले समृद्धि पाउने बताउँछन् । किसानको हकहित र अधिकारका लागि हिडिरिहेका उनीसँग पछिल्लो समय नेपालमा माछापालक किसानको अवस्था बारे गरिएको छोटो कुराकानीको सम्पादित अंश यस्तो छः
नेपालमा माछापालक किसानहरुको अवस्था कस्तो छ ?
नेपालमा माछापालन गर्ने किसानहरु बढ्दो क्रममा छन् । तर, संगठित छैनन् । साना एउटा पोखरीदेखि धेरै लगानीमा माछापालन गर्ने किसानहरु थपिएका छन् । यस क्षेत्रमा आकर्षित छन् । विशेषगरी तराई मधेस क्षेत्रमा माछापालन फष्टाएको देखिन्छ तर, यो प्रयाप्त होइन । यसको विकास हुन जरुरी छ । राज्यले किसानहरुलाई एकत्रित गरी गणना गर्दै विकसित गर्नु जरुरी छ । म अध्यक्ष छु अहिले माछा पालक किसानहरुकै हक हितका लागि लडिरहेका छौं । हाम्रो संस्था भर्खरै संगठित भएको छ । यसलाई द्रुतगतिमा देशभर विकास गर्नु मैले आवश्यकता ठानेको छु । किसानहरुको आवाज राज्यको निकायसम्म पुर्याउन जरुरी छ ।
माछापालक व्यवसायीहरुका समस्याहरु केके हुन् ?
माछापालक व्यवसायीहरुको समस्या धेरै छन् । गुनासो धेरै छ । राज्यले सहि ढंगले मूल्यांकन गर्न सकेको छैन । यहाँ सिधै भारतबाट माछा आउन पाउँछ । नेपाली माछाले राम्रो बजार पाउँदैन ।
एउटा सानो गल्तीले हाम्रो माछा खाल्टोमै पुर्नुपर्ने अवस्था छ । राज्यले माछा उत्पादनमा जोड गरेको त देखिन्छ । तर, किसानको हितमा अझै धेरै नीति नियम बनाउनु पर्दछ ।
यस्तैगरी माछाको उत्पादन क्षेत्रमा लगानी अनुदान, सुरक्षाका विषयहरु धेरै छन् । समयमा माछाको दाना उपलब्धता, बजारमूल्य जस्ता विषयहरु र मूख्य कुरा नेपालको माछा दुईदिनमै गुणस्तरहीन हुने १५ दिन लगाएर भारतको आन्ध्र प्रदेशबाट आउने माछा कसरी गुणस्तरयुक्त भएर नेपाल भित्रिन्छ यो मूख्य कुरा हो । राज्यले रोक्नै पर्छ । आयात गर्नैपर्ने भए गुणस्तरिय माछा आयात गरौं सकेसम्म नेपालमै उत्पादित माछा उपभोग गर्न राज्यले किसानदेखि उपभोक्तासम्म सचेत गराउनुपर्दछ।
केही समय अघि मात्रै पनि हामीले मुग्लिङबाट त्यस्तो ब्यापारीको माछा समायौं । यसैले राज्यको कमजोरीका कारण गुणस्तरहीन माछा नेपालीले खाइरहेका छन् । यता हामी नेपाली किसान टाट पल्टेका छौं ।
यस्तैगरी माछापालक किसानको विजुलीको मिटर अन्य सरह छन् । कृषि क्षेत्रभित्रै समेटेर जानुपर्छ । यसलाई राज्यले सोच्नै पर्दछ । बिमा सुरक्षा छैन । गर्न मान्दैन । यस्तैगरी माछाका जातहरुको अनुसन्धान भएर आएको छैन । जसले किसानहरु अझै कस्तो माछा पालन गर्ने, कसरी गर्ने भ्रमित छन् । माछापालकहरुका लागि एम्बुलेन्सको ब्यवस्था अर्को मूख्य कुरा हो । जसले माछाको सरक्षा हुन्छ किसान पनि सुरक्षित हुन्छ । समयमै बजार पुग्छ ।
तपाई माछापालक संस्थाको अध्यक्ष पनि हुनुहुन्छ कसरी किसानहरुलाई बुझाउनुहुन्छ ?
पहिलो कुरा त किसानहरुलाई संगठित बनाउनु पर्छ । आफ्ना समस्या विचार राख्न सक्ने बनाउनु पर्छ । उनीहरुलाई आफू समस्यामा किन परेको थाहै हुन्न । कहाँ भन्ने कसरी भन्ने जान्दैनन् ।
संगठनमार्फत यस्ता विषय राज्यको निकायमा पुरयाउन सजिलो हुन्छ । म त्यसैका लागि हिडिरहेको छु । पूर्वदेखि पश्चिमसम्म हामी किसान एक हुनु पर्दछ ।
माछा पालन गर्ने तरिकामा केके परिवर्तन आएको छ ? राज्यले के गर्नुपर्दछ ?
राज्यले मात्रै किसानको सुरक्षा गरे पुग्छ । सँगै मल विउ बिमा र बजार जस्ता विषयलाई सुनिश्चित गर्नुपदर्छ । माछा किसान आफैँले पाल्छन् बजार लान्छन् । अहिले आधुनिक जमानामा माछा पालन गर्ने तरिकाहरुमा पनि परिवर्तन आएको छ । पोखरी मात्रै माछा पाल्ने तरिका होइन ।
अब निजि क्षेत्रलाई ठूला ताल तलैया, खोला, तथा विशेष गरी जलविद्युत आयोजनाका ड्यामहरुमा पनि माछा पालन गर्ने व्यवस्था राज्यले गर्नुपछ ।
अन्त्यमा केही भन्नुहुन्छ ?
राज्यले यस क्षेत्रमा लगानीसँगै सचेतना पनि जगाउनुपर्छ । भारतीय माछालाई आवश्यकता हेरी आयात रोक्नुपर्छ नेपाली किसानप्रति राज्य उदार हुनुपर्दछ । यस्तैगरी ठूला व्यवसायमा लगानीको वातावरण बनाउनुपर्दछ ।
बजारमा माछाबाट बन्न सक्ने विविध परिकारमा उत्पादन गर्नुपर्ने देखिन्छ ।