काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढेको छ। मङ्गलबार नेप्से परिसूचक ४९.०९ अङ्कले बढेर २६७७.४५ को विन्दुमा कायम भएको हो । यो १.८६ प्रतिशतको वृद्धि हो ।
आज ३१० कम्पनीको १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७३ हजार ५४ पटक खरिद बिक्री हुँदा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ३.४२ प्रतिशतले बढेको छ ।
त्यस्तै, बैङ्किङ १.९१, विकास बैङ्क २.९५, वित्त २.४४, जलविद्युत् २.४५ र लगानी समूह २.३३ प्रतिशतले बढेको छ ।
यसैगरी, जीवन बीमा १.३२, उत्पादन तथा प्रशोधन १.८९, लघुवित्त १.१३, म्युचुअल फन्ड ०.३३, निर्जीवन बीमा १.७४, व्यापार १.४९ र अन्य समूह ०.८४ प्रतिशतले बढेको छ ।
सिन्धु विकास बैङ्क लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैङ्क लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ३.०९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको ४१ करोड ८० लाख बराबरको सेयर किनबेच भएको छ ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको १४ लाख ७२ हजार ३ सय कित्ता खरिद बिक्री भएको छ ।