काठमाडौँ / नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सोमबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेलगत्तै उनले रु ५०० र रु १,००० दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरे।
गभर्नरको जिम्मेवारी सम्हालेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा. पौडेलले मौद्रिक नीति र वित्तीय नीति छुट्टाछुट्टै विषय भएको स्पष्ट पारे।
यदि मौद्रिक नीतिले सरकारले ल्याएको वित्तीय नीतिको कार्यान्वयनमा अवरोध गरेको पाइएमा आवश्यक परिमार्जन गरिने पनि उनले बताए। उनका अनुसार उनले दुई विषयलाई प्राथमिकतामा राख्नेछन् - मौद्रिक नीतिका कार्यान्वयन र बैंकिङ क्षेत्रको सुपरीवेक्षण सुदृढीकरण।
“बैंकहरूमा सर्वसाधारणका ठूलो परिमाणमा निक्षेप छन्, ती निक्षेपको सुरक्षाका लागि सुपरीवेक्षण प्रणाली बलियो बनाउनु आवश्यक छ,” गभर्नर पौडेलले भने, “हामी धेरै नियम बनाएर होइन, प्रभावकारी सुपरीवेक्षणमार्फत बैंकहरूको कार्यदक्षता बढाउनेतर्फ लाग्नेछ।”
उनले राम्रो ‘ल्याण्डिङ पोलिसी’ (ऋण प्रवाह नीति) ल्याउने प्रतिबद्धता व्यक्त गर्दै यससम्बन्धी नीतिहरूको कार्यान्वयन प्रभावकारी छ कि छैन भन्ने निरन्तर मूल्याङ्कन गरिने बताए।
डा. पौडेलले नीति निर्माण प्रक्रिया जबरजस्ती नभई संवादमार्फत हुने उल्लेख गर्दै भने, “पहिला सरोकारवाला पक्षहरूसँग छलफल गरेर मात्र मौद्रिक नीति तय गरिनेछ। नीति थोपर्ने होइन, सहभागिता आधारित नीति निर्माणमा विश्वास गर्छु।”