काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौँका विभिन्न स्थानमा रहेका दृष्टीविहीनहरूलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।
बैंकका ब्राण्डिङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्त्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरू, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरूमा वित्तीय साक्षरता प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा ४० जना भन्दा बढि दृष्टीविहीनहरूको उपस्थिती रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमको समापनमा बोल्दै दृष्टीविहीन कृष्ण खत्री अविरलले वित्तीय साक्षरता समयमै नपाउँदा आफूले बैंक मार्फत् कारोवार नगरेको, आफुले कमाएको, बचाएको पैसा साथीहरूलाई राख्न दिनुपरेको र उक्त पैसाको जतन हुने नहुने कुरामा समेत आफू विश्वस्त हुन नसकेको बताए ।
दृष्टीविहीनहरूले पनि अन्य व्यक्तिहरूले सरह अब बैंकमा खाता खोलेर कारोवार गर्न मिल्ने भए पछि अबदेखि आफ्ना वित्तीय कारोबारहरू बैंकमार्फत मात्र गर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै दृष्टीविहिन बिक्रम पथरियाले वित्तीय साक्षरता कार्यक्रम पश्चात आफुलाई सानो बचतले भविष्यमा ठुलो काम गर्न सकिने आशा पलाएको बताए ।
सोही कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका सौगात वाग्लेले दृष्टीविहीनहरूलाई कामना सेवा विकास बैंकले अन्य व्यक्तिहरूलाई जस्तै मोबाइल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधाहरू प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।
वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरूले जस्तै बैंकिङ सेवाहरू प्राप्त गरि सुरक्षित रूपले बैंकिङ सेवाहरू उपभोग गरिरहेको बताए ।
कामना सेवा विकास बैंकले दृष्टीविहीनहरूलाई लक्षित गरेर स्वाभिमान बचत खाता सञ्चालनमा ल्याईरहेको छ । उक्त खाता खोलेका दृष्टीविहीनहरूले अन्य व्यक्तिहरूले सरह मोबाइल बैंकिङ, एटिएम कार्डलगायतका सुविधाहरू प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले उक्त खाता खोल्नको लागि दृष्टीविहीन भएकै कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कोही साक्षी आवश्यक नपर्ने र खाता सञ्चालन सम्बन्धी सर्तहरू ब्रेल लिपीमा समेत उपलब्ध गराउने गरेको जनाएको छ ।