काठमाडौँ / आगामी कार्तिक १४ गते रिलिज हुन लागेको नेपाली फिल्म ‘परान’ले आइतबार आफ्नो पोएट्रिक (काब्यिक) टिजर सार्वजनिक गरेको छ।
वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यो टिजरमा कवि नवराज पराजुलीका शब्द र आवाज समावेश छन्।
टिजरमा कवि पराजुलीका भावनात्मक शब्दहरू मार्फत एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने मनोकामना व्यक्त गरिएको छ। कविताले बाबु र छोराको सम्बन्धलाई गहिरो संवेदनासँग चित्रण गरेको छ।
कवितामा भनिएको छ
“जलाउनु अघि काँटीले आफ्नो सलाई छोड्दैन,
यो मेरो छोरो परान हो, मेरो मलाई छोड्दैन...”
टिजरमा यी कवितात्मक पंक्तिहरूलाई निर शाहमार्फत प्रस्तुत गरिएको छ, जसले फिल्मको भावनात्मक गहिराइ झल्काउँछ।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो टिजरले दर्शकहरूमा उत्सुकता जगाएको छ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइलीलगायतका कलाकारको अभिनय समावेश छ।
टिजरले फिल्ममा बाबु–छोराको सम्बन्ध, सामाजिक हैसियत र परिस्थिति अनुसार ती सम्बन्धमा आउने उतार–चढावको कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ।
‘परान’लाई ‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु)ले निर्देशन गरेका हुन्, र यो उनको डेब्यु निर्देशन हो ।
फिल्ममा रिदम कंडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर, शिवराम श्रेष्ठको सिनेमाटोग्राफी ९म्इए० र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।
देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा रहेको बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको यो फिल्मले बलियो पारिवारिक भावनालाई केन्द्रमा राखेको संकेत दिएको छ।
सार्वजनिक पोएटिक टिजरले देखाएअनुसार, ‘परान’ एउटा गहिरो पारिवारिक कथा र भावनात्मक सिनेमाको रूपमा दर्शकबीच प्रस्तुत हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ।

.gif)
.gif)
.gif)


