images
images

नयाँ वर्षमा कहाँ जाने घुम्न ?, यी हुन सक्छन् उपयुक्त गन्तव्य

नयाँ वर्षमा कहाँ जाने घुम्न ?, यी हुन सक्छन् उपयुक्त गन्तव्य

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • images
    images
    नयाँ वर्षमा कहाँ जाने घुम्न ?, यी हुन सक्छन् उपयुक्त गन्तव्य

    काठमाडौँ / नयाँ वर्ष लाग्यो, सबैलाई शुभकामना ! कस्तो रह्यो २०८० ? कहाँ–कहाँ घुम्नुभयो ? घुमेर कतिको यादगार पलहरू संगालेर राख्नुभयो ? घुम्ने बानी छैन भने, थोरै ठाउँ घुम्नुस् तर २०८१ मा कतै न कतै नयाँ गाउँ, ठाउँ जाने प्रयास गर्नुस् । घुम्दा गाउँले बाँचेको जीवन देख्नुहुन्छ, शहरबारे गाउँले के सोचिरहेको छ थाहा पाउनुहुन्छ, समाज र देश बुझ्ने, प्रकृति निहाल्ने अवसर मिल्छ । 

    images
    images

    नयाँ वर्ष नयाँ सोच, नयाँ उत्साह र नयाँ उमंगको पर्व हो । नयाँ वर्षलाई मानिसहरुले गलत कुरा परित्याग गर्ने र असल आचरण अपनाउन सुरु गर्ने अवसरका रुपमा पनि लिने गर्छन् । न जाडो, न गर्मी । घुमफिर गर्नका लागि यतिबेलाको मौसम निकै उपयुक्त मानिन्छ । 

    नयाँ वर्षमा हामीमध्ये धेरैले घुम्न जाने योजना बनाउँछौं । नयाँ वर्षमा पारिवाका सदस्य तथा साथीसंगीसँग घुम्न गएर रमाइलो गर्ने गर्दछन् । कोही परिवारसँगै बाहिर खाना खाएर मनाउँछन् भने कोही परिवार तथा साथीभाइहरुसँग घुम्न गएर । तर गन्तव्य कहाँ त ? 

    नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँहरु रहेका छन् । हामी गन्तव्यहरु रोजेर सहजै घुमफिरमा जान सक्छौं । पछिल्लो समय नेपालीहरु विदामा घुम्न जान थालेपछि धेरै गन्तव्यहरु तयार भएका छन् । राम्रो आम्दानी हुनेहरु विदेश घुम्न जान्छन् । सानो बजेटमा घुमफिर गर्न चाहानेहरुको रोजाइ चाँहि नेपालकै विभिन्न ठाउँहरु हुने गरेका छन् । 

    नयाँ वर्षमा घुम्न लायक केही ठाउँहरुबारे यहाँ चर्चा गरिएको छ ।

    १. नगरकोट

    राजधानी काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा रहेको सहजै पुग्न सकिने ठाउँ हो नगरकोट । नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । यो ठाउँ सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । यस क्षेत्र काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित रहेको छ । 

    यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । यति मात्र होइन, नगरकोटबाट लाङटाङ हिमशृंखला र अझ सफा मौसममा त सगरमाथा समेत अवलोकन गर्न सकिन्छ । गर्मीमा पनि चिसो हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ । 

    यहाँबाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरी हिमश्रृङ्खलादेखि कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमाल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ । नगरकोटमा खानपिन तथा बसोबासका लागि सामान्यदेखि स्तरीय होटल तथा रिसोर्टहरू उपलब्ध छन् । 

    काठमाडौंबाट मोटर यात्राबाट सजिलै नगरकोट पुग्न सकिन्छ । भक्तपुर–चाँगुनारायण–नगरकोट मार्ग, सुन्दरीजल–साँखु–नगरकोट, खरिपाटी–तेलकोट–नगरकोट पदयात्रामार्फत पनि नगरकोट पुग्न सकिन्छ । यसैगरी बौद्ध स्तुपा, स्वयम्भुनाथ, पशुपतिनाथको मन्दिरलगायतका क्षेत्रहरू पनि आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको रूपमा रहेको छ ।

    २. बन्दीपुर

    तनहुँको बन्दीपुर पुरानो बजार हो । पुराना घरहरुलाई कलात्मक रुपमा सिंगारिएको बन्दीपुर मुलुककै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकमा पर्न सफल भएको छ । डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुरमा स्वदेशी विदेशीको बाक्लो भिड लाग्ने गर्छ ।

    यहाँको आकर्षण भनेको नेवारी वस्ती र सुन्दर दृश्यावलोकन नै हो । यहाँबाट तनहुँको सुन्दर फाँटहरु, हिमाल लगायतका दृश्यहरु हेर्न पाइन्छ । वातावरणका हिसावले पनि यो ठाउँ उत्तम रहेको छ । नयाँ वर्षमा बन्दीपुर गएर परिवार तथा साथीभाईसँग मज्जाले रात विताउन सकिन्छ ।

    ३. कालिञ्चोेक

    काठमाडौंबाट सवारी साधनमा सहजै जान सकिने अर्को मनमोहक ठाउँ दोलखाको कालिञ्चोक हो ।  प्रकृतिको हरियालीका साथै हिमाली दृश्य हेर्न पाइने भएकाले आन्तरिक पर्यटकले निकै रुचाउने गरेका छन् । कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । 

    मन्दिर परिसरबाट लाङटाङ, रोलवालिङ हिमशृंखला देख्न सकिन्छ । चिसो मौसममा यस क्षेत्रमा हिउँ पर्ने भएकाले राजधानीवासी हिउँ खेल्नकै लागि समेत जाने गर्छन् ।

    काठमाडौंदेखि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटदेखि कुरीसम्म १७ किलोमिटर कच्ची बाटो छिचोल्न भाडाको जिप पाइन्छ । हिउँ परेको बेला भने जिपमा जान गाह्रो हुन्छ । कुरीबाट एक घण्टाको ठाडो उकालो हिँडेपछि समुद्री सतहदेखि तीन हजार ८ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोक भगवती मन्दिर पुगिन्छ ।

    ४. तीनजुरे–मिल्के–जलजले

    पूर्वी पहाडी जिल्ला तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थानमा रहेको तीनजुरे–मिल्के–जलजले लाली गुराँसको राजधानी नै मानिन्छ । पछिल्ला वर्षहरुमा यहाँ पर्यटकहरुको भीड लाग्ने गरेको छ । ढकमक्क फुलेको गुराँस हेर्न आन्तरिक मात्रै होइन, विदेशी पर्यटकहरु पनि यहाँ जाने गर्छन् ।

    तीनजुरे–मिल्के–जलजलेमा मात्रै २९ प्रजातिका गुराँसहरु फुल्ने गरेको राष्ट्रिय लालीगुराँस संरक्षण समितिले जनाएको छ । यस क्षेत्रमा पर्ने मेन्छ्यायम डाँडाबाट दूरबिनको सहायताले आसपासका ६ जिल्लका सदरमुकाम, सप्तकोशी नदी, धरान, दमक, बिराटनगर लगायतका शहरहरू देख्न सिकन्छ ।

    ५. सिन्धुलीगढी 

    ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कति न राम्रो दरबार’ यो गीत नसुन्ने मानिस सायदै भेटिन्छ । यो गीतले भनेजस्तै प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा सिन्धुलीगढीलाई लिन सकिन्छ । 

    सिन्धुलीगढी काठमाडौंबाट करिब १ सय ५० किलोमिटर पूर्वमा रहेको ४ हजार ६ सय ४८ फिट उचाइमा रहेका छ । नेपाल–अंग्रेज युद्धको जिउँदो इतिहास मानिने यस क्षेत्रमा निर्माण गरिएका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू हामीलाई अनौठो लाग्न सक्छन् । पछिल्लो समय सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । 

    सिन्धुली जिल्लाको राजनीतिक, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सिन्धुली गढीमा पुगेर हेर्दा हाम्रा पुर्खाहरूले कसरी युद्धको रणनीति बनाउने रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ । महाभारत पर्वतको झन्डै मध्यमागमा करिब ५९ किलोमिटर बिन्दुमाल रहेको सिन्धुलीगढी जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करिब २० किलोमिटरको दुरीमा छ । 

    सिन्धुलीगढी अवलोकन गर्दा  इतिहासको कालखण्डमा निकै कुख्यात घटनाक्रमबारे जानकारी लिन सकिन्छ । १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राजनीतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्र आन्तरिक र बाह्य पर्यटकहरूको लागि महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।

    ६. पर्यटकीय राजधानी पोखरा 

    नेपालकै सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य हो पोखरा । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराले स्वदेशी र विदेशी पर्यटकलाई बराबरी लोभ्याउँछ । पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि प्रमुख गन्तव्य बन्ने गरेका छन् । 

    पोखरामा मूख्य आकर्षण भनेको फेवाताल र बाराही मन्दिर हो । फेवातालमा बोटिङको मज्जा लिन र डुंगा चढेर मन्दिरमा पुगेर पुजाआजा गर्नु अधिकांश पर्यटकहरु पोखरा पुग्ने गरेका छन् । फेवातालमा माछापुच्छ्रे हिमालको छायाँ देखिन्छ । जुन अत्यन्तै मनमोहक हुने गर्छ । 

    फेवातालमा बोटिङ मात्र नभई फिसिङसमेत गर्न पाइन्छ । फेवातालको किनारमा रहेको लेकसाइड बजार आफैमा आकर्षक छ । पोखरा पुग्ने पर्यटक लेकसाइडमै बस्न रुचाउँछन् । पश्चिमी गन्तव्यको आभाष गराउने लेकसाइड रातमा झिलिमिली देखिन्छ । पोखराका अधिकांश होटल तथा लजहरु यहीँ छन् । 

    त्यस्तै, डेभिड फल्स (पातले छाँगो) पोखराको अर्को आकर्षण हो, डेभिड फल्स । फेवातालको पानी डेभिड फल्सको गल्छीबाट गुप्तेश्वर गुफा हुँदै सेती नदितर्फ हानिन्छ । वर्षामा ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफ निकै मनमोहक देखिन्छ । 

    यसैगरी छोरेपाटनमा रहेको गुप्तेश्वर गुफा खाल्डोमा रहेको छ । यहाँ गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाभित्र रमाउन सकिन्छ । गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे डभिड फल्सको पानी देख्न सकिन्छ । पोखराको अर्को प्रमुखय पर्यटकीय गन्तव्य हो विन्दावासिनी मन्दिर । 

    अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ । विन्दावासिनी मन्दिर आफैमा पनि सुन्दर र सफा रहेको छ । सराङको पोखराबाट उत्तर–पश्चिममा रहेको अग्लो डाँडा हो । पोखरा पुगेपछि सराङकोट पुग्नैपर्ने ठाउँ हो । 

    यहाँबाट पोखरा र लेखनाथ शहर र हरियाली बनजंगल सिंगै देख्न सकिन्छ । साथै, आँखै अगाडि माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका हिमश्रृंखलाहरु पनि हेर्न पाइन्छ । प्याराग्लाइडिङ र जिप फ्लाई समेत सराङकोटबाट नै हुने गर्छ । बेगनास र रुपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन् । 

    तालको मिठो माछा खानका लागि बेगनास निकै चर्चित मानिन्छ । डाँडावारी बेगनास र डाँडापरी रुपाताल रहेको छ । बेगनास तालमा पनि डुंगा चढेर रमाइलो गर्न पाइन्छ । शहरी कोलाहलबाट अलि टाढा भएकोले यहाँ पुग्दा आत्मशान्ति मिल्छ । पोखराबाट बेगनास तालमा सार्वजनिक गाडी प्रशस्तै चल्छन् । 

    त्यस्तै महेन्द्र गुफा पोखराको निकै चर्चित ठाउँ हो । महेन्द्र गुफा नजिकै अर्को चमेरी गुफासमेत रहेको छ । महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गरेर फर्किन सकिन्छ । पोखरा पुग्ने अधिकांश मानिसहरू प्याराग्लाइडिङ नगरी फर्कदैनन् । 

    प्याराग्लाइडिङमा उडेर मज्जा लिनका लागि ठूलो संख्यामा स्वदेशी÷विदेशी पोखरा पुग्छन् । साहसिक खेलका रुपमा रहेको प्याराग्लाइडिङमा उड्दै पोखरा, हिमाल र आसपासको क्षेत्र हेर्नुको मज्जा बेग्लै हुन्छ । सराङकोटबाट उड्ने प्याराग्लाइडिङ फेवातालको किनारामा ल्यान्डिङ हुन्छ । पोखराको अर्को आकर्षण हो, अल्ट्रालाइट फ्लाइट । 

    अल्ट्रालाइटमा उडेर पोखरा शहर तथा हिमश्रृंखला हेर्न पाइन्छ । साहसिक पर्यटनमा रुची राख्नेहरुका लागि बञ्जीजम्म निकै रोमाञ्चक हुन्छ । पोखराको हेम्जामा टावरसहितको बञ्जीजम्म सञ्चालनमा आइसकेको छ । सराङकोटबाट हेम्जासम्म जीप फ्लाई गराइन्छ । 

    एक पटकमा दुईजनाले गर्न सकिने जीप फ्लाई युवायुवती र नयाँ जोडीका लागि आकर्षण बनेको छ । साहसिक खेलमा पर्ने जीप फ्लाई गर्दा थ्रिल महशुस हुन्छ । जीप फ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, आसपासको घना जंगल र हिमश्रृंखला अवलोकन गर्दै सराङकोटबाट हेम्जा झर्न पाइन्छ । 

    यसको अलवा पोखरामा थुप्रै घुम्न जाने ठाउँहरु रहेका छन् । माटेपानी गुम्वा, अन्य तालहरु, पामे लगायतका ठाउँमा पुगेर पनि मज्जा लिन सकिन्छ । पोखरा माथिल्लो मुस्ताङ, मुक्तिनाथ, पुनहिल, अन्नपूर्ण वेस क्याम्प, गुरुङहरुको सुन्दर वस्ती रहेको घान्द्रुक लगायतका विभिन्न स्थानमा ट्रेकिङका लागि प्रवेशद्वार समेत हो ।

    ७. बाघ हेर्न बर्दिया

    बाघ हेर्न चाहनेहरू बर्दिया राष्ट्रिय निकुञ्ज पुग्छन् । काठमाडौं, पोखराबाट सडक र हवाई मार्ग हुँदै बर्दिया पुग्न सकिन्छ । जहाजमा जाँदा नेपालगञ्ज विमानस्थल झरेपछि स्थल मार्ग प्रयोग गर्नुपर्छ । 

    सार्वजनिक सवारीमा जाँदा भने सिधै बर्दिया राष्ट्रिय निकुञ्ज पुग्न सकिन्छ । तर, हवाई जहाजबाट जाँदा भने नेपालगञ्जबाट फेरि गाडी चढेर जानुपर्छ । विमानस्थलबाट ८९ किलोमिटर टाढा रहेको निकुञ्ज पुग्न दुई घण्टा लाग्छ । काठमाडौंबाट निकुञ्ज ५ सय ९० किलोमिटर टाढा पर्छ । काठमाडौंबाट गाडीमा १५ घण्टा लाग्छ । 

    निकुञ्जअन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच–बीचमा घाँसे मैदान छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । 

    जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाइँ सरेर पुग्ने चराहरूको अभिलेख गरिएको छ । रारा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्जलगायत ठाउँ जान सकिन्छ । कस्तुरी मृग, थार, घोरल, लंगुर, मोनाल, बँदेल, हात्ती यी निकुञ्जमा देख्न पाइन्छ । 

    ८. लोमाङथाङ

    हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङका विविध आकर्षणमध्ये एक हो लोमान्थाङ । सौन्दर्य र सम्पदा दुवै दृष्टिकोणले यो स्थान अति विशिष्ट छ । जोमसोमबाट कालीगण्डकीको तिरैतिर लोमान्थाङ पुग्दा भ्रमणप्रेमीहरुलाई उच्चतम आनन्दको अनुभूति हुन्छ । लोमान्थाङ वरपर देखिने गुफाहरु जति रहस्यमय छन्, यहाँको जीवनशैली उत्तिकै मौलिक छ । 

    अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने लोमाङथाङ घुम्ने पर्यटकको संख्या बढिरहेको छ । गत वर्ष करिब तीन हजार पर्यटक लोमाङाथाङ पुगेका थिए । लोमाङथाङ जाने पर्यटकहरुको संख्या प्रत्येक वर्ष बढिरहेको छ । गुजुमुक्क घरहरु । घरमाथि एकनासले राखिएका दाउराका थुप्रा । यही ठाउँमा गुजुमजुक्क घरहरु भन्दा भिन्न, अग्लो र लामो एउटा घर । जुन घरलाई देखेपछि सबैले अनुमान लगाउन सक्छन । लोमाङथाङको पहिचान बनाएको ऐतिहासक दरबार भनेर ।

    गुम्बाको जिल्ला भनिने मुस्ताड जान मोटरको सुविधा छ । उक्त क्षेत्रमा जाँदा मुस्ताङको मुक्तीनाथ पनि जाने उपयुक्त गन्तव्य हो । लोमान्थाङ घुम्न मौसमको हिसाबले फागुनको अन्तिम सातादेखि असोज महिनासम्म उपयुक्त मानिन्छ । अधिकांश पर्यटकहरु जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमाङथाङ हुँदै कोरलासम्म जान रुचाउँछन् । विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्गले पनि लोमान्थाङ पुग्ने पर्यटकहरुको सख्या बढाएको छ । 

    मनाङको तिलिचो तालको अवलोकन गर्दै मुक्तिनाथ भएर पनि पर्यटकहरु लोमान्थाङ घुम्न जाने गरेका छन् । पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ पार गर्दा पर्यटकहरु आफूलाई भाग्यमानी ठान्छन् । लोमान्थाङ घुम्नको लागी आउने(जाने बाटोको समय बाहेक कम्तीमा पनि ७ दिनको समय छुट्याउनु उपयुक्त हुन्छ । दैनिक १५ सय जतिको बजेट बनाउनुपर्छ ।

    ९. खप्तड

    खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो। बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो। सुदुर पश्चिमाञ्चलमा पर्ने, १४०० देखि ३३०० मिटरसम्मको उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्जको स्थापना चर्चित धार्मिक व्यक्तित्व खप्तड बाबाको इच्छाअनुरुप १९८४ मा भएको थियो । 

    बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाका करिब २२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको खप्तड क्षेत्रलाई २२४ प्रजातिभन्दा बढी अमूल्य जडीबुटीहरु तथा प्राकृतिक इतिहासको जीवन्त संग्राहलय पनि भन्ने गरिन्छ । नेपालभरि पाइने करिब ५६७ प्रजातिका फूल फुल्ने विरुवाहरुमध्ये ११ प्रतिशत विरुवा खप्तडमा पाइने आँकलन गरिएको छ ।

    मनै लोभ्याउने खप्तड चराचुरुङ्गीहरुको दृश्यावलोकनको लागि सबैभन्दा उत्तम ठाउँहरुमध्येका एक मानिन्छ । २८७ प्रजातिका चराहरु पाइने खप्तडमा  भुक्ने मृग, जंगली कुकुर, बँदेल, घोरल, हिमाली कालो भालु र विभिन्न जातका बाँदरहरु  पनि पाइन्छ । पछिल्लो तथ्यांकअनुसार त्यहाँ २३ प्रजातिका स्तनधारी जनावार तथा सोही संख्यामा सरिसृप तथा उभयचरहरु पाइन्छ । खस्रेभ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघबुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । 

    विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ । बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५०मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल ९दह० रहेका छन्। खप्तड दह, नाग दह, माथिल्लो त्रिवेणी लगायत पर्यटकीय क्षेत्र समेटेको खप्तडका अन्य आकर्षणहरु खप्तड बाबाको आश्रम, धार्मिक धाम शैलेश्वरी, पाँच शहरका नामले चर्चित रामरोशन, मल्लिका देवीको घरको रुपमा चिनिने बडीमल्लिका, सुरमा सरोबर आदि पर्दछन् ।

    १०. मुस्ताङ्ग

    पछिल्लो समय अमेरिकी सञ्चारमाध्यम ‘द न्युयोर्क टाइम्स’ सन् २०२४ मा घुम्न उपयुक्त ठाउँको सूचीमा नेपालको मुस्ताङ पनि समावेश गरेको छ । द न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नका लागि उपयुक्त विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै उक्त सूचीमा नेपालको मुस्ताङ पनि समावेश गरेको हो ।

    हिमालपारीको जिल्लाको नामबाट चिनिने मुस्ताङ्ग जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको विचमा अवस्थित छ । करिव ३००० वर्ष भन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिएअनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत वीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ । 

    यसको सदरमुकाम जोमसोम हो । यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् । यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो । त्यस्तै,  माथिल्लो मुस्ताङ्गलाई हिमालयको मरुभूमि भनेर पनि चिन्ने गरिन्छ । यहाँको कला–संस्कृतिले नेपाली सांस्कृतिक विविधतालाई प्रष्ट्याएको छ । 

    बीचमा बन्जर मरुभूमि र छेउ–छाउमा सेता हिमालहरुका दृश्यले जोकोहिलाई पनि मोहित तुल्याउँ छ । बर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु माथिल्लो मुस्ताङ्गको भ्रमणको लागि पुग्ने गर्दछन् । मुस्ताङ्ग जिल्लामा लोमान्थाङ्ग ऐतिहासिक दरबार, मुक्तिनाथ क्षेत्र, टुकुचे निलगिरी हिमाल, धौलागिरी हिमाल, दामोदर कुण्ड, कागबेनीलगायतका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू पर्दछन् । 

    मुस्ताङ्गमा यारुझो भ्युटावर, नीलगिरि र धौलागिरि हिमालको दृश्यावलोकन, स्नो लियोपार्ट, घरपझोङ किल्ला, कुछ पतेरंगा गुम्बा, ऐतिहासिक संग्रहालय, मेसोकोन्दोपास र तिलीचो पदमार्ग छन् । यहाँको ठिनी गाउँ थकाली सभ्यताको उद्गमस्थल समेत मानिन्छ । मुस्ताङ आएका पर्यटकको अर्को रोजाइ पर्यटकीय गाउँ मार्फा हो ।

    जुन स्थान स्याउ र पर्यटकीय स्थलको रूपमा प्रख्यात छ । मार्फा संस्कृतिले उत्कृष्ट ठाउँ हो । यहाँका परम्परागत शैलीका एकआपसमा जोडिएका घर, स्याउका बुट्यान, डिस्टिलरी, कृषि फर्म हेर्न लायक छन् । उपल्लो मुस्ताङमा लोमान्थाङ दरबार, दामोदर कुण्ड, छोसेर गुुफा र कोरलापास घुम्ने मध्येका मुख्य गन्तव्य हुन् । 

    त्यसो त उपल्लो मुस्ताङमा हेर्नलायक दर्जनौं ऐतिहासिक गुम्बासमेत छन् । मुस्ताङ्ग घुम्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको संख्या बढीरहेको छ । मुस्ताङ्गको मनोरम प्राकृतिक भूवनोट, हिमाली जनजीवन, मुस्ताङ्गी सभ्यता र संस्कृतिले पर्यटकहरूलाई लोभ्याउँछ । कतिपय पर्यटकहरू भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँमा पुग्ने गर्छन् । 

    मुक्तिनाथ पुग्नका लागि म्याग्दी, बेनी हुँदै सडकमार्गबाट बस, जिप र मोटरसाइकलबाट मुस्ताङ्गको यात्रा गर्न सकिन्छ । पोखरा–जोमसोम दैनिक हवाई सेवा पनि सञ्चालित छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार