images
images

फेरियो चैते दसैँ मेला, हराए मौलिक गीत

फेरियो चैते दसैँ मेला, हराए मौलिक गीत

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • फेरियो चैते दसैँ मेला, हराए मौलिक गीत
    images
    images
    images
    images

    गलकोट (बागलुङ) / ‘एउटो पैसो कैलेलाई, चैते दसैँलाई, त्यो पनि मागे, दिन्न कसैलाई’ 

    यो गीतले चैते दसैँका लागि वर्षभरी पैसा जम्मा गरेर राख्ने परम्परा झल्काउँछ । गीतले भनेजस्तो वर्षभरी पैसा जम्मा पारेर चैते दसैँमा खर्च गर्ने परम्परा अहिले हराइसकेको छ । 

    चैते दसैँको अवसरमा बागलुङ कालिका मन्दिर परिसरमा शुक्रबारदेखि चैते दसैँ मेला लागिरहेको छ । ऐतिहासिक चैते दसैँ मेला लागेपनि मेलाको रुप पहिलेको  भन्दा फरक छ । 

    मौलिक भाका हराइसकेका छन् । चैते दसैँमा कालिका मन्दिर दर्शन गर्न आउने र वर्षभरीलाई आवश्यक सामग्री खरिद बिक्री गर्ने चलन अब रहेन । 

    चैतेदसैँको अवसरमा गाइने ‘रेरे साइलो’, ‘यानीमया’, ‘ठाडो भाका’ र सालैजो’ जस्ता मौलिक भाका सुन्नै छाडिएको छ । रेकर्ड गरिएका गीतमा नाचगान गर्ने चलन बढेको छ । मेलामा लिङ्गे पिङ र चर्खेपिङ देखिन छाडेको छ । त्यसको सट्टामा रमाइलो झुला (आधुनिक पिङ) राखिएका छन् । 

    “चैते दसैँ मेला ८० वर्ष अघिसँग तुलना त हुन्न, समय अनुसार परिवर्तन हुने नै भयो, डाला, नाङ्ला र ठेकीको व्यापार अहिले हुँदैन”, स्थानीय ८६ वर्षीय दुर्गा अचार्यले भने, “रातभरी रेरे साइलो, सालैजो गीत गाएर जाग्राम बसिन्थ्यो, अहिले त कलाकारले ट्र्याकमा गीत गाउँछन्, मौलिकता हरायो, मेलाप्रतिको चाख घटेको छ तर दर्शनार्थीको सङ्ख्या चाहीँ बढेको छ ।”

    ‘चैते दसैँ मेलैमा
    माया बस्यो ख्याल ख्यालैमा’ 
    ‘बागलुङ बजार मेलैमा 
    झर्छ आँशु छुट्ने बेलैमा’

    गायक विमलराज क्षेत्रीको यो गीतले बागलुङको चैतै दसैँ मेलामा प्रेमी प्रेमिकाको भेट हुने ठाउँ रहेको पुष्टी गर्छ । मेलामा भेटिएका जोडीले पुनः अर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षेत्रीले धेरै वर्ष पहिले गीतमा उतारेका थिए । 

    चैते दसैँ मेला फेरिएजस्तै चैतैदसैँसँग सम्बन्धित  मौलिक भाकासमेत फेरिएका छन् । चैते दसैँमा गाइने लोकदोहरीले सयौँ कलाकार बागलुङले जन्माइसकेको छ । 

    कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रुपमा प्रसिद्ध छ । जिल्लाको आर्थिक सामाजिक र सांस्कृतिक विकासमा कालिका मन्दिरको छुट्टै महत्व छ । त्यसैले बागलुङ कालिका मन्दिर र चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत गाइएका छन् । 

    “पहिले चैते दसैँ मेला लोकदोहोरी गाउने चौतारी जस्तो थियो, यहीँ गीत गाउने धेरै जना राष्ट्रियकलाकार बने”, स्थानीय हरिओम शर्माले भने, “अहिले तिनै कलाकारले चैते दसैँ विर्सेका छन्, मेलाको महत्व घटेको छ तर मन्दिरको महत्व बढ्दै छ ।”

    चैते दसैँ मेलाका लागि पैसा साँचेर राख्ने र मेलामा नरिवल, मिस्री किनेर खाने चलन अहिले हराएको शर्माको भनाइ छ । चैते दसैँ मेला बागलुङको मौलिक परम्परा भएपनि संरक्षणमा स्थानीय निकायले चासो नदिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । 

    बागलुङ कालिका मन्दिरमा आउने दर्शनार्थीले किनबेच गर्ने थलो नै चैते दसैँ मेलाको रुपमा विकास भएको हो ।

    “यो मेला समग्र बागलुङ जिल्लावासीको हो, मेलाले पर्यटन प्रवद्र्धन गर्दै बागलुङ बजारको खस्कँदो व्यापारलाई बढाएको छ तर मेलालाई नाफाको रुपमा नलिइ परम्परा धान्ने काम मात्र भएको छ”, अध्यक्ष खड्काले भने, “चैते दसैँ मेलामा रु ५५ लाख खर्च हुने गरेपनि कालिका मन्दिरले पूरै खर्च धान्न सक्दैन, स्थानीय तहले मेलाको अपनत्व नलिँदा परम्परा धान्नै समस्या भएको छ ।” 

    विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेको र राजकुमारीले आफुसँगै दाइजोको रुपमा ल्याएकी माझकी देवीको मूर्तिलाई अहिलेको कालिका मन्दिर भएको ठाउँमा राखियो । पछि मूर्तिसहितको डोली उठाउन खोज्दा उठाउन नसकेपछि त्यही ठाउँमा मन्दिर स्थापना गरिएको किंवदन्ती छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com