प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै स्थानीय सरकार

प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै स्थानीय सरकार

अर्थ डबली
आइतवार, साउन ३१ २०७८
अर्थ डबली
आइतवार, साउन ३१ २०७८ (अर्काइभ बाट)
  • प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै स्थानीय सरकार

    पाँचथर/ यहाँका स्थानीय तहहरुले आ–आफ्ना प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै लगेका छन् । अधिकांश स्थानीय तहले प्रशासकीय भवनलगायत संरचना तथा वडा कार्यालय निर्माण पूरा गर्दै लगेका छन् । 

    images
    images

    केहीले भने चालु आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न गर्न बजेटको प्रबन्ध गरेका छन् । पाँचथरमा आठवटै स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रममा प्रशासकीय भवन निर्माणलाई प्राथमिकतामा राखेका छन् । कतिपय स्थानीय तहले भने चालु आवमा पालिका र वडाका कार्यालय भवन निर्माण पूरा गर्दैछन् ।

    फिदिम नगरपालिकाले बहुवर्षीय ठेक्कामार्फत विगत चार वर्षदेखि प्रशासकीय भवन निर्माण गर्दै आएको छ । भवनका दुई तला प्रयोगमा आइसकेका छन् । भाडाको घरमा रहेको नगरपालिकाको कार्यालय गत वर्ष नै आफ्नै कार्यालयमा सरेको छ । 

    भवनको बाँकी दुई तला चालु आवमा सम्पन्न गर्ने लक्ष्यका साथ बजेट छुट्यााई काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नं ८ बाहेक बाँकी १३ वटै वडाका कार्यालय भवन चालु आवमा निर्माण सम्पन्न गर्ने नगरपालिकाले लक्ष्य लिएको उपप्रमुख उर्मिला प्रधानले जानकारी दिए । 

    निर्माणको सुरुआत नभएका वडा नं १, ४ लगायतका वडा कार्यालय भवनसमेत चालु आवमा सम्पन्न गर्न बजेटको प्रबन्ध गरिएको छ ।

    उत्तरी याङ्वरक गाउँपालिकाले तीनतले प्रशासकीय भवन १४ महिनाअघि निर्माण थालेको थियो । चालु आवमा पहिलो तला ढलान गरी सञ्चालनमा ल्याउन प्रयासरत रहेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाइ छ । 

    याङवरकले रु पाँच करोड ४१ लाख ४३ हजारको लागतमा भवन निर्माणको ठेक्का सम्झौता गरेको छ । गत वर्षको जेठ २९ मा भएको ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्छ । 

    यद्यपि कोभिड–१९ सङ्क्रमणको महामारीका कारण यहाँको भवन निर्माण प्रभावित बनेको हो । प्रशासकीय भवन निर्माणका विषयमा अदालतमा मुद्दा परेपछि निर्माण समयमा सुरु गर्न नसक्दा आफ्नै कार्यकालमा भवन निर्माण पूरा गर्न नसकिएको उपाध्यक्ष योङहाङले बताए । 

    याङवरकका छ वटा वडामध्ये वडा नं २ र ५ को भवन निर्माण अन्तिम चरणमा पुगेको छ । बाँकी वडा कार्यालयले आफ्नै पक्की भवनबाट सेवा दिँदै आएका छन् ।

    दक्षिणी मिक्लाजुङ र तुम्बेवा गाउँपालिकाले प्रशासकीय भवन निर्माणलाई पूर्णतातर्फ लगेका छन् । मिक्लाजुङको भवन मिक्लाजुङ–४ रवि तथा तुम्बेवाको तुम्बेवा–३ मौवामा निर्माणाधीन छन् । 

    कुनै जटिलता नआए यी गाउँपालिकाले चालु आवबाटै प्रशासकीय भवन तथा अधिकांश वडाका भवनबाट सेवा सञ्चालन गर्नेछन् । दुवै गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँग लागत साझेदारीमा प्रशासकीय भवन निर्माण गरिरहेका छन् ।

    जिल्लाको फाल्गुनन्दमा गत आवमा प्रशासकीय भवन निर्माणका लागि गाउँपालिकाको वडा नं ५ मा निःशुल्क जग्गा प्राप्त भएको छ । प्रशासकीय भवनसहित अन्य सार्वजनिक संरचना निर्माणका लागि गत आवमा मात्रै ६० रोपनीभन्दा बढी जग्गा प्राप्त भएकाले चालु आवमा प्रशासकीय भवन निर्माणको सुरुआत हुने गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिए । 

    सङ्घ तथा प्रदेश सरकारसँग लागत साझेदारी गरी निर्माण थालिने कुरुम्बाङले बताउनुभयो । विसं २०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको काम थालेको छोटो समयमै निधन हुँदा यहाँ गाउँपालिकाको केन्द्र निर्धारणको विवादसमेत समाधान हुनसकेको थिएन । 

    गत वर्षको उपनिर्वाचनबाट कुरुम्बाङ अध्यक्ष चुनिएपछि भौतिक संरचना निर्माणका प्रक्रियाले गति लिएका छन् ।

    जिल्लाको हिलिहाङ गाउँपालिकाले गत आवमा मात्रै प्रशासकीय भवन निर्माण गर्ने जग्गा प्राप्त गरेको छ । गत आवमा भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी माटो परीक्षण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । 

    सङ्घ र प्रदेश सरकारसँग थप अनुदानका लागि प्रस्ताव गर्दै हिलिहाङले प्रशासकीय भवन निर्माणका लागि रु दुई करोड बजेट छुट्यााएको छ । 

    हिलिहाङले वडा नं १ र ५ को वडा कार्यालय भवन निर्माणका लागि समपूरक अनुदान प्राप्त भएको जनाएको छ ।

    वडा नं २, ३, ६ र ७ का भवन निर्माणका लागि चालु आवमा जग्गा प्राप्ति गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । वडा नं ४ को भवनमा भने अहिले गाउँपालिकाको कार्यालय रहेकाले गाउँपालिकाले नयाँ भवन निर्माण गरेपछि वडा कार्यालय आफ्नै भवन साविक पञ्चमी गाविसको कार्यालयमा सर्नेछ । 

    यो गाउँपालिकाले एक वडा एक सामुदायिक भवनको नीतिअनुसार भवन निर्माण गर्दै आएको छ ।

    कुम्मायक गाउँपालिकाले कुम्मायक–१ रानीगाउँ टोलमा जग्गा प्राप्त गरी चालु आवबाट निर्माण थाल्ने भएको छ । यस्तै सबै वडामा कार्यालय निर्माण र पाँचवटै वडामा सभाहल निर्माणलाई क्रमशः सम्पन्न गर्ने विषयलाई चालु आवको नीति तथा कार्यक्रममा समेटेको छ । 

    उत्तरी फालेलुङले गत आवबाट गाउँपालिकाको प्रशासकीय भवन निर्माण थालेको थियो । गत वर्ष असोज २७ गते फालेलुङ–३ थोक्लिम्बामा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास भएको थियो । 

    हालसम्म पहिलो तला ढलान सम्पन्न भएको छ । चालु आवमा निर्माणलाई निरन्तरता दिन गाउँपालिकाले रु एक करोड २४ लाख बजेट छुट्याएको छ । यहाँ तीन वर्षे ठेक्का सम्झौता गरी तीनतले प्रशासकीय भवन बन्न लागेको हो । 

    यस गाउँपालिकामा वडा नं ५, ६, ७ र ८ का वटा वडा कार्यालय भवन जनप्रतिनिधि निर्वाचित भएपछि निर्माण पूरा भई सञ्चालनमा आएका छन् । 

    भवन निर्माण बाँकी रहेका चारवटा वडामा दुई महिनाभित्रै भवन निर्माण पूरा भई सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले जानकारी दिए । 

    चालु आवमा स्थानीय तहको प्रथम निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा हुने भएकाले समेत सबै स्थानीय तहले भवनसहित प्रशासकीय पूर्वाधार निर्माणमा जोड दिएका हुन् । 

    तीन तहको सङ्घीय संरचनालाई संस्थागत गर्न गाउँपालिकालाई संस्थागत गर्नुपर्ने भएकाले विशेष महत्वका साथ भौतिक संरचना निर्माण थालिएको जिल्लाको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताए । 

    साताको लोकप्रीय