१० बर्षपछि बेलायतबाट फर्किएका चापागाईको चेन होटलमा लगानी

१० बर्षपछि बेलायतबाट फर्किएका चापागाईको चेन होटलमा लगानी

अर्थ डबली
बुधवार, भदौ २३ २०७८
अर्थ डबली
बुधवार, भदौ २३ २०७८ (अर्काइभ बाट)
  • १० बर्षपछि बेलायतबाट फर्किएका चापागाईको चेन होटलमा लगानी

    चितवन / दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याएका छन् । दियालो र अनुपम फुडल्याण्डको नाममा उनको समूहको होटल बिस्तार भइरहेको छ । 

    images
    images

    पन्ध्र वर्षअघि काठमाडौँको वसुन्धरामा उनको नेतृत्वको समूहको पहिलो होटल दियालो फुडल्याण्ड सुरु भएको हो । सोही नाममा वुटवलमा, भरतपुरमा र बालाजुमा पनि सञ्चालनमा रहेको छ । 

    त्यसैगरी अनुपम फुडल्याण्ड काठमाडौँको बत्तीसपुतलीमा सञ्चालनमा छ । अनुपमलाई पोखरा, हेटौँडा र नुवाकोटमा शाखा बिस्तार गर्ने उनको तयारी छ । चापागाईँले भने, “आउँदो पाँच वर्षमा २० स्थानमा शाखा खोल्ने तयारीमा छौँ ।” 

    भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उनले यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै उनी बेलायत पुगे । 

    नौ वर्ष आठ महिनाको लण्डन बसाइँमा उनको जिम्मेवारी राम्रो होटलको सेफको थियो । त्यहाँको आफ्नो अनुभवलाई स्वदेशमा नै प्रयोग गर्नुपर्छ भन्ने लागेपछि स्वदेश फर्किएर काम थालेको चापागाईले बताए । उनले भने, “मैले त्यहाँ पैसा र सीप पाएपछि स्वदेशमा नै गएर काम गर्ने रहर भयो ।” 

    नेपाल फर्किएसँगै काठमाडौँमा एक जना साझेदारसँग मिलेर उनले दियालो फुडल्याण्ड सुरु गरे । 

    ती साझेदार हुन् माधव पाण्डे । यससँगै साझेदारको सङ्ख्या थप गरेर व्यवसाय बिस्तार हुन थाल्यो । सुरुमा दुई जनाले रु दुई करोड २० लाख लगानीबाट थालिएको यो व्यापार आजसम्म आईपुग्दा रु ५० करोडभन्दा माथिको भएको छ । 

    साझेदार २७ जना पुगेका छन् । मुख्य समूहमा चापागाईसहित पाँच जना छन् भने शाखामा स्थानीय साझेदार ३० प्रतिशत राख्ने गरिएको छ । सबैलाई जोड्दा यो सङ्ख्या पुगेको हो । 

    आम्दानीको २० प्रतिशत व्यवसाय बिस्तारका लागि खर्च गरिँदै आएको उनले बताए । राजधानीमा ठूला कार्यक्रमका लागि चापागाई परिचित नाम हो । राजनीतिक दलका सभासम्मेलन गर्न पर्दा आउने नाममध्येमा उनलाई पहिलो लहरमा लिने गरिन्छ । आफ्नो गृह जिल्ला चितवनमा उहाँले सबैभन्दा ठूलो सभाहलसहितको दियालो फुडल्याण्ड सञ्चालनमा ल्याएको छ । 

    उनले भने, “हाम्रो हलमा दुई हजार २०० कुर्सी अट्छ । राजधानी बाहिर यति ठूलो हल कसैको छैन ।” कला कौशलले सजिएको बेलायती शैलीको आकर्षक हलसँगै २० कोठा दियालोमा छ । उहाँको दाबी छ सबैकोभन्दा मीठो खाना हामी खुवाउन सक्छौँ । 

    आफैँ सेफ भएकाले उनका होटलमा परिकारमा बढी जोड दिइन्छ । दियालो समूहका अध्यक्ष चापागाई काठमाडौँका जस्ता सेफ स्थानीयस्तरमा पाउन कठिन र एकै खालका खानाका लागि राजधानीका सेफ राखेर बाहिरी शाखा सञ्चालनमा आएको बताए। चितवनमा राष्ट्रियस्तरका कार्यक्रम गर्न सहयोग पुगोस् भन्नका लागि ठूलो हलमा खर्च गरेको उनको भनाइ छ । यहाँको शाखामा मात्र रु १२ करोड खर्च भएको चापागाईले जानकारी दिए । 

    होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले विदेशको सीप उपयोग हुने गरी स्वदेशमा व्यवसाय बिस्तार गर्नु सकारात्मक भएको बताए । 

    अहिलेको परिस्थिति सकारात्मक नभए पनि आउँदा दिनमा होटल व्यवसाय राम्रो हुने उनको भनार्इ छ । चितवन देशकै केन्द्रबिन्दु भए पनि ठूला हलको अभावमा कार्यक्रम हुन नसकेको भन्दै उनले चापागाई समूहको होटल ठूला कार्यक्रमका लागि प्रभावकारी हुने छ भने । 

    दियालो फुडल्याण्ड चितवनका साझेदार सनदकुमार पियाले विदेशमा आर्जन गरेको सीप यहाँ ल्याएर यसको प्रतिफल नेपालीलाई दिने उदाहरणीय काम चापागाईले गरेको बताए। नेतृत्वकर्तासँग सीप भएकाले आफूहरु लगानी गर्दा ढुक्क रहेको उनको भनाइ छ । 

    साताको लोकप्रीय