पेट्रोलको विश्वव्यापी संकट: मूल्यवृद्धिको विरोधमा विश्वका ९० देशमा प्रदर्शन

पेट्रोलको विश्वव्यापी संकट: मूल्यवृद्धिको विरोधमा विश्वका ९० देशमा प्रदर्शन

अर्थ डबली
बुधवार, कार्तिक २ २०७९
अर्थ डबली
बुधवार, कार्तिक २ २०७९ (अर्काइभ बाट)
  • पेट्रोलको विश्वव्यापी संकट: मूल्यवृद्धिको विरोधमा विश्वका ९० देशमा प्रदर्शन

    बढ्दो मुद्रास्फीतिका कारण विश्वभर जनजीवन प्रभावित भएको छ । कयौं देशका जनताहरु खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुको मूल्यवृद्धिको विरोधमा सडकमा उत्रिएका छन् ।

    images
    images

    बढ्दो इन्धनको मूल्यले हाम्रो दैनिक जीवनलाई धेरै तरिकाबाट असर गर्छ । मालवाहक वाहनदेखि निजी गाडीसम्मलाई प्रभावित बनाउँछ । जसका कारण खानाको खर्च, बिजुलीको बिलको खर्च बढ्छ । संसारभर यस महँगीको विरोधमा प्रदर्शनहरु भईरहेको छ, धेरै महँगो पेट्रोलको मूल्य घटाउन माग गरिरहेका छन् । कतिपय मुलुकमा प्रदशन शान्तिपूर्ण छन् भने केही स्थानमा प्रदर्शनकारी सरकारविरुद्ध आक्रामक देखिएका छन् । 

    अगस्ट १० मा सानो अफ्रिकी मुलुक सियरा लियोनमा भएको यस्तै प्रदर्शनले हिंसात्मक रुप लियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा छेउको आफ्नो घरबाट प्रदर्शन हेरिरहेकी खादिजा बाहलाई गोली  लागेको थियो । उन तल झरिन् र त्यही उनले अन्तिम सास लिइन् । सियरा लियोनमा सामान्यतया यस्तो प्रदर्शन र हिंसा त्यति हुँदैन । तर यस वर्ष अगस्टमा भएको प्रदर्शन २५ जनाको मृत्यु भयो, जसमध्ये पाँच प्रहरी अधिकारी थिए । मर्नेहरू सबै देशको राजधानी फ्रिटाउनमा भएको प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा मारिएका थिए ।

    पेट्रोल र डिजेलको मूल्यवृद्धिले ढुवानीमा मात्रै असर गर्दैन, त्यसले खाद्यवस्तुको मूल्य पनि बढाइदिन्छ । सियरा लियोनमा इन्धनको मूल्य मार्चदेखि दोब्बर भएको छ । जसका कारण खाद्यवस्तुको मूल्य ह्वात्तै बढेको छ । मुद्रास्फीतिको चपेटामा परेको यस मुलुकमा यसै वर्षको साउनमा केन्द्रीय बैंकले नयाँ नोट जारी गरेर अर्थतन्त्रप्रति जनताको विश्वास जगाउने प्रयास गरेको थियो । साथै हिंसात्मक प्रदर्शन रोक्न सरकारले पूरै सहरमा कर्फ्यू लगाउनुपरेको थियो । इन्टरनेट सेवा पनि सीमित हुनुपर्यो ।

    सियरा लियोनका राष्ट्रपति जुलियस माडा बोयोले पछि प्रदर्शन खासमा उनलाई सत्ताबाट हटाउनको भएको आरोप लगाए । तर प्रदर्शनकारीहरूले उनी मुद्रास्फीतिको विरुद्ध सडकमा उत्रेको बताइरहेका थिए । तर अहिले महँगीको सामना गर्ने मुलुक सिएरा लियोन मात्र होइन । यस्तै द्वन्द्व संसारका अन्य धेरै ठाउँहरूमा भइरहेको छ । 

    पेट्रोलको विश्वव्यापी संकट
     
    संसारमा भईरहेको विरोध प्रदर्शनको तथ्यांक संकलन गर्ने संस्था हो, आम्र्ड कान्फ्लिक्ट लोकेशन एण्ड इवेन्ट डेटा प्रोजेक्ट । यसको तथ्यांक विश्लेषण गरेर बीबीसीले यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म ९० भन्दा बढी देशमा खाद्यान्न र इन्धनको मूल्यलाई लिएर प्रदर्शन भएको पत्ता लगाएको छ । तीमध्ये एक तिहाइ देशमा सन् २०२१ मा इन्धनको मुद्दामा कुनै प्रदर्शन भएको थिएन । उदाहरणका लागि, २०२१ मा स्पेनमा कुनै प्रदर्शन थिएन, जबकि यो वर्ष मार्चमा मात्रै देशभर ३३५ प्रदर्शनहरू भए । पछिल्लो नौ महिनामा विश्वका हरेक महादेशमा कतै कतै मुल्यवृद्धि विरुद्ध प्रदर्शन भएका छन् ।

    यो वर्ष इन्डोनेसियामा पेट्रोलको मूल्यवृद्धिको विरोधमा हालसम्म ४०० प्रदर्शन भइसकेका छन् । यस वर्षको पहिलो आठ महिनामा इटालीमा २०० वटा प्रदर्शन भएका छन् । त्यसको तुलनामा गत वर्ष दुईवटा मात्र प्रदर्शन भएको थियो । यस वर्षको जुन महिनामा मात्रै महँगी र इन्धनको मुल्यवृद्धिविरुद्ध इक्वेडरमा एक हजारभन्दा बढी प्रदर्शन भएका छन् । हेनरी विल्किन्सन ‘ड्र्यागनफ्लाइ’ नामक संस्थाका प्रमुख इन्टेलिजेन्स अधिकारी हुन् । यो कम्पनीले सुरक्षा र गुप्तचर क्षेत्रमा काम गर्छन् र उनका अनुसार हाल विरोध भएका क्षेत्रहरुको नाम हेर्दा अचम्म लाग्दो छन् ।

    विल्किन्सनले यसबारे व्याख्या गदै भनेः ‘ यस पटक यस्ता ठाउँहरुमा पनि विरोध प्रदर्शनहरू देखिएका छन्, जहाँ सामान्यतया पहिले प्रदर्शन हुँदैनथे । यो युक्रेन युद्धको ठूलो साइड इफेक्ट हो । यदि त्यो युद्ध समाप्त भयो भने, विश्वव्यापी संकट धेरै हदसम्म समाधान हुनेछ ।’

    के युक्रेनको कारणले मात्रै पेट्रोलको मूल्य बढेको हो ?
     
    अहिले युक्रेन युद्धको कारणले मात्र पेट्रोलको मुल्य बढेको भने होइन । विश्वमा पेट्रोलको मूल्य बढ्नुको मुख्य तीन कारण छन् ।

    कच्चा तेल (क्रुड ओयल)
    कोभिड संकटको सुरुवातमा कच्चा तेल सस्तो थियो किनभने धेरै व्यवसायहरू बन्द थिए । ऊर्जाको मागमा उल्लेखनीय गिरावट आएको थियो । तर जनजीवन सामान्य हुन थालेपछि ऊर्जाको माग बढ्दै गयो र मूल्य उकालो लाग्न थाल्यो ।

    अमेरिकी डलर
    हाल, अमेरिकी डलर ब्रिटिश पाउन्ड, यूरो (युरोपेली देशहरूको मुद्रा), युआन (चीनको मुद्रा) र येन (जापानको मुद्रा) को तुलनामा उच्च स्तरमा छ । कच्चा तेल जसबाट पेट्रोल बनाइन्छ अमेरिकी डलरमा भुक्तानी गरिन्छ । यदि स्थानीय मुद्रा डलरको तुलनामा अवमूल्यन हुन्छ भने, स्पष्ट रूपमा इन्धनको मूल्य पनि बढ्ने गर्छ ।

    युक्रेन–रुस युद्ध 
    युक्रेन युद्धका कारण धेरै देशहरूले रूसी तेल आयातमा प्रतिबन्ध लगाएका छन् । त्यसले गदा अन्य उत्पादक देशहरूको तेलको मूल्य बढेको छ । 

    आर्थिकदेखि राजनीतिक अस्थिरतासम्म

    इन्धनको मूल्यमा अस्थिरता भोग्ने ९० देशमध्ये श्रीलंकाले धेरै समाचारमा छायो । हजारौं प्रदर्शनकारीहरू राष्ट्रपति निवासमै प्रवेश गरेका थिए । चर्को विरोधपछि राष्ट्रपति गोताबाया राजापाक्षेले पद त्याग्नुपरेको थियो । एसियाली महादेशमा सबैभन्दा उच्च मुद्रास्फीति दर भोगेको श्रीलंकामा इन्धनदेखि औषधि र खाद्यान्नसम्म सबै चीजहरूको मूल्य आकाश छोएको छ ।

    विमला डिसनायके कोलम्बो उपनगरमा तरकारी पसल चलाउँछिन्, जसका अनुसार महँगी बढेर अहिले उनको परिवार मुस्किलले बाच्न मात्र सक्षम छ । ‘मेरो तीन छोराछोरी छन्, मुद्रास्फीति यति बढेको छ कि अहिले हरेक बालबालिकाको विद्यालय जाने गाडीको भाडा १०० छ, तिनको आउजाउमा दैनिक ६०० भाडामा जान्छ । हरेक कुराको भाउ बढेको छ तर आय बढेको छैन ,’ विमलाले भनिन् । ‘मूल्य यति बढेको छ कि मेरा ग्राहकहरू पनि खासै धेरै सामान किन्न चाहँदैनन् । पहिले एक किलो तरकारी किन्नेहरू अहिले १०० ग्राम वा २०० ग्राम किन्छन् । पहिले गाडीमा यात्रा गर्नेहरू अहिले पैदल हिँडिरहेछन् ,’ विमलाले दुखी हुदै भनिन् । 

    महँगी तत्कालै अन्त्य हुने छैन

    विश्वभरका सरकारहरूले आफ्नो देशको आर्थिक संकटको समाधान खोज्ने प्रयास गरिरहेका छन् । तर त्यसको असर महसुस नहुँदा महँगीविरुद्ध प्रदर्शन पनि भइरहेको छ । यसको मूल्य धेरैले चुकाउनु परेको छ ।बीबीसीले गरेको अनुसन्धानले विगत नौ महिनामा मात्रै आन्दोलनका कारण ८० जनाभन्दा बढीले ज्यान गुमाएको देखाएको छ । मृत्यु हुनेमा अर्जेन्टिना, इक्वेडर, गिनी, हाइटी, काजाकिस्तान, पनामा, पेरु, दक्षिण अफ्रिका र सियरा लियोनजस्ता देशका नागरिक छन् ।

    अर्कोतर्फ, सिएरा लियोनको फ्रीटाउनमा सडकहरू शान्त छन् । अधिकांश पसलहरु खुलेका छन् । चीजहरू सामान्य अवस्थामा फर्किदै गएको देखिन्छ । तर, खादिजाको आमा र बुबाको जीवन कहिल्यै उस्तै हुने छैन। ‘मेरी छोरी धेरै होनहार थिइन् तर अब उनी कहिल्यै फर्केर आउने छैनन् , अहिले रहेनन् ,’ खादिजाकी आमाले भनिन् ।

    साताको लोकप्रीय