निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक, कसले के भने ?

निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक, कसले के भने ?

अर्थ डबली
सोमवार, पुस २५ २०७९
अर्थ डबली
सोमवार, पुस २५ २०७९ (अर्काइभ बाट)
  • निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक, कसले के भने ?

    काठमाडौँ / गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक चलिरहेको छ ।

    images
    images

    दिउँसो १ बजे बैठक सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

    बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामेछाने, निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतले सम्बोधन गरेका छन् ।

    प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा (एमाले) का ७९, नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा (एकीकृत समाजवादी) का १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एकरएक तथा स्वतन्त्र चार सांसद छन् ।

    – कसले के भने ?

    समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्छः प्रधानमन्त्री दाहाल

    प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन् । 

    उनले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताए । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्नेमा जोड दिए ।

    नेपाली जनताले असाधारण सङ्कल्पको अपेक्षा गरेका छन्

    प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको बताएका छन् । “यो संसद् हाम्रो परीक्षाको केन्द्र पनि हो ।

    परम्परागत अभ्यास र राजनीतिले मात्रै जनतामा जानसक्ने अवस्थामा छैनौँ । हामीले बिर्सनु हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौँ”, प्रधानमन्त्रीले भने, “मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्ने छौ । हामी साझा राजनीतिक लक्ष्यका साथ एक ठाउँमा उभिने छौँ ।”

    उनलेले जनताका अपेक्षा, गुनासा चासो र चिन्तालाई नजिकबाट देखेकाले समस्या केलाएर बस्ने छुट नभएको बताए । उनले  “हामीलाई समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नुपर्नेछ । समाधानतर्फ अगाडि बढ्नुपर्नेछ ।”

    प्रतिनिधिसभामा लैङ्गिक, जातीय, धार्मिक, क्षेत्रीय प्रतिनिधित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसले राष्ट्रको सच्चा प्रतिनिधित्व गरेको बताए । प्रधानमन्त्री दाहालले फरकफरक राजनीतिक पृष्ठभूमिबाट आएको भए पनि जनतासँग गरेको सुशासन र समृद्धिको प्रतिबद्धता भने साझा रहेको उल्लेख गरे । 

    यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन्ः सभापति देउवा
    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन् । 

    उनले भने, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।”

    सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको बताउँदै यसका लागि नेपालको संविधानको रक्षा र संविधानको भावना अनुरुप यसको कार्यान्वयन अनिवार्य शर्त भएको उल्लेख गरे । 

    एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँः अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताएका छन् । 

    निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताए । 
     
    “अहिलेको समीकरणले संविधानको रक्षाका लागि काम गर्नेछ”, उनले भने, “राष्ट्रियता, अखण्डता, देशको सार्वभौमसत्ता, स्वाभिमानको पक्षमा सरकार उभिन्छ ।” 

    सुशासन, भ्रष्टाचार नियन्त्रणमा सरकारको महत्वपूर्ण नीति हुने जनाउँदै भ्रष्टाचारप्रति शून्यसहनशीलतालाई जनताले पत्याउने गरी अगाडि लैजाने उनले विश्वास दिलाए ।
     
    “अब हामीले गम्भीर शिक्षा लिनुपर्छ । मुख्यरुपमा लोकतान्त्रिक मूल्य मान्यतामा अगािड बढ्नुपर्छ । सांसद र नेताले सम्पूर्ण समय देशका लागि खर्चनुपर्छ”, एमाले संसदीय दलका नेता ओलीले भने, “अहिले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता छ । एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ ।” सबैलाई देश निर्माणमा सकारात्मक योगदान गर्न आग्रह गर्दै उनले देशका लागि सँगै काम आह्वान गरे । 

    अपराध गर्ने आफ्नो मान्छे छोड्नुपर्‍यो भनेर फोन नगर्नुहोलाः रवि लामिछाने 

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा कुनैपनि अनियमिता नगर्ने बाचा गर्दै भष्टाचारी वा अपराध कर्ममा लागेका मान्छेको अनुसन्धान प्रभावित पार्नका लागि आफूलाई नभन्न आग्रह गरेका छन् । उनले आफ्नो दलका कुनैपनि सांसदहरुबाट अनियमिता हुन नदिने भन्दै छातीमा हात राखेर प्रतिबद्धता ब्यक्त गरेका हुन् । 

    उनले भने– ‘पार्टीका रुपमा एउटा नयाँ पार्टीको उदय हुनु नेपालको राजनीतिक इतिहासमा त्यति ठूलो कुरा हैन होला । तर जुन समय अवधीभित्र हामीले जुन विश्वास प्राप्त गरेका छौँ, त्यो कुनै उम्मेदवारलाई दिएको मत्र मात्र हैन, अब यो देशमा परिवर्तन आवश्यक छ भनेर नेपाली जनताले बताएको घण्टीको ध्वनी हो । त्यो ध्वनीलाई यो सम्मानित संसदले सुन्नेछ र सिंगो देशले सुन्ने छ ।’

    निषेधको राजनीति गर्ने छुट कसैलाई छैनः अध्यक्ष लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको परिस्थितिमा कसैले निधेषको राजनीति गर्न सम्भव नभएको बताएका छन् ।

    उनले भने, ‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै बढ्छु भन्ने अवस्था छैन । हामी सबैका विचारभन्दा माथि देश छ । त्यसकारण देशलाई शिरमा राखेर मुलुकको समस्या समाधान गर्न अग्रसर हुन सकौं ।’

    राप्रपाले प्राप्त जनादेशअनुसरा राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्धामा दृढताको साथ उभिने बताए। राप्रपा मुलुकको अस्थिरको कारक नबन्ने प्रष्ट पारे ।

    प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्नु संसद्को मुख्य लक्ष्यः नेता यादव

    काठमाडौँ जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता  रामसहायप्रसाद यादवले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । 
     
    “गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिलाई संस्थागत र कार्यान्वयन गर्नु अहिलेको संसद्को मुख्य काम हो”, उनले भने, “सङ्घीयताको कार्यान्वयन गर्ने यसअघिका सरकारको प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन भएको छैन, संविधानले दिएको अधिकार प्रदेशलाई हस्तान्तरण हुन सकेको छैन । सङ्घले नै सङ्घीयतालाई कमजोर बनाउने प्रयत्न गरिरहेको आभास भइरहेको छ ।”

    प्रचण्डलाई बधाई दिँदै माधव नेपालले भने– बोली र व्यवहारमा एकता कायम होस्

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् । 

    प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले भने, “जनअपेक्षाअनुसार नमूना काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता बोली व्यवहारमा एकता कायम होस् ।”

    उनले भने, ‘उहाँले केही गरेर देखाउने, नयाँ ढंगले अघि बढ्ने र नमुना काम गरेर देखाउने र सबै क्षेत्रमा सुधारसहित आमुल परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनताले देख्नेगरी काम होस् । बोली र व्यवहारमा सामन्ज्यस्यता आओस् ।’

    देशमा राजनीतिक स्थायित्व जनताले चाहेको उल्लेख गर्दै विगतको शिक्षा ग्रहण गरेर अघि बढ्ने बताए । प्रधानमन्त्रीले संविधान पालाना गरेर हिँड्ने विश्वास व्यक्त गरे । संविधान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै समाजवादको लक्ष्यमा जानुपर्ने उनको भनाइ छ ।

    साताको लोकप्रीय