फेरि रोकियो उपत्यकोको फोहर व्यवस्थापन, बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिए गाडी

फेरि रोकियो उपत्यकोको फोहर व्यवस्थापन, बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिए गाडी

अर्थ डबली
सोमवार, साउन १ २०८०
अर्थ डबली
सोमवार, साउन १ २०८० (अर्काइभ बाट)
  • फेरि रोकियो उपत्यकोको फोहर व्यवस्थापन, बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिए गाडी

    काठमाडौं / काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा फेरि अवरोध आएको छ । अन्तिम फोहर व्यवस्थापन स्थल आसपासका बासिन्दाको अवरोध गरेपछि काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा समस्या देखिएको हो ।   

    images
    images

    काठमाडौं महानगरपालिका (कामपा)सँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेपछि आज उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनमा समस्या भएको हो । 

    धुनीबेंसी नगरपालिका–१ का वडाअध्यक्ष मानबहादुर तामाङका अनुसार सहमति भएको एक वर्ष बित्दा पनि महानगरले स्थानीयवासीको मागप्रति बेवास्ता गरेकाले आजदेखि  फोहर व्यवस्थापनमा रोक लगाइएको हो ।  

    उनले भने, 'फोहर र मानिससँगै बस्नै सक्दैन, कि फोहरलाई अन्यत्र व्यवस्थापनका लागि प्रबन्ध गर्नुपर्‍यो कि उक्त स्थानका बासिन्दालाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नुपर्‍यो, अन्यथा फोहर व्यवस्थापनमा समस्या आइरहन्छन् ।'

    आज बिहान फोहर बोकेर ल्याण्ड फिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको पनि वडाअध्यक्ष तामाङले जानकारी दिए । 

    फोहर बोकेका करीब ५० ओटा गाडी रोकिएका थिए । स्थानीयवासीले सहमतिका नाममा आफूहरूलाई झुक्याएको आरोप लगाएका छन् ।

    यसअघि काठमाडौं महानगरपालिका (कामपा) ले ल्याण्ड फिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग कुहिने फोहर मात्र व्यवस्थापन गर्नेलगायत सहमति गरेको थियो । 

    यता कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताए ।  

    उनले भने, 'स्थानीयवासीको मुख्य माग आसपासका तीन हजार रोपनी जग्गा अतिग्रहण गरिदिनुपर्‍यो भन्ने हो । यो माग कामपाले मात्र पूरा गर्न सक्दैन, त्यसका लागि केन्द्र सरकारसँग छलफल भइरहेको छ ।'

    विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौं सडकमै थुप्रने गरेको थियो ।

    कामपाले यस वर्ष फोहर व्यवस्थापनमा समस्या नहुने बताए पनि साउन लागेसँगै फोहर रोकिन थालेको छ । यसअघि सिसडोलमा व्यवस्थापन भएको उपत्यकाको फोहर गत भदौ ७ गतेदेखि बञ्चरेडाँडामा व्यवस्थापन भइरहेको छ ।

    साताको लोकप्रीय