विवाह पञ्चमीको तयारी तीव्र, साताव्यापीरुपमा विवाह पञ्चमी महोत्सव मनाइने

विवाह पञ्चमीको तयारी तीव्र, साताव्यापीरुपमा विवाह पञ्चमी महोत्सव मनाइने

अर्थ डबली
सोमवार, मंसिर १३ २०७८
अर्थ डबली
सोमवार, मंसिर १३ २०७८ (अर्काइभ बाट)
  • विवाह पञ्चमीको तयारी तीव्र, साताव्यापीरुपमा विवाह पञ्चमी महोत्सव मनाइने

    जनकपुर / हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको सीताराम विवाह पञ्चमी महोत्सवका लागि तयारी तीव्र पारिएको छ । 

    images
    images

     प्रत्येक वर्ष झँै यसवर्ष पनि यही मङ्सिर १७ देखि २२ गतेसम्म साताव्यापी सीताराम विवाह पञ्चमी मनाउन लागिएको हो । महोत्सव नजिकिँदै गर्दा अबेर रातिसम्म पाल लगाउनेदेखि मूलद्वार सजावटमा कामदार व्यस्त देखिन्छन् ।
     
     मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रुपमा भव्यताका साथ मनाउने गरिन्छ । 

     त्रेतायुगमा भगवान् राम सीता विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी मनाउँदै आइएको छ । महामहोत्सव तयारीका लागि दिनरात जानकी मन्दिर प्रशासन लागिपरेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।

     मन्दिर प्राङ्गणमा कार्यक्रमका लागि मञ्च बनाउनेदेखि जानकी मन्दिर तथा मुलद्वार सजाउने कार्य अहिले भइरहेको उल्लेख गर्दै  उहाँले प्रत्येक साँझ मन्दिर परिसरमा मङ्गल गीत तथा झाँकीसमेत हुने गरेको बताए । 

      विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट आउने सन्त महन्थसहितको जन्तीको स्वागतका लागि पन्डाल, स्वागत द्वार निर्माणलगायत कार्यसमेत भइरहेको छ ।

     अघिल्लो वर्ष विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सीमित थियो । त्यसैले यसवर्ष भव्यरुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिसमेत गठन गरिएको जनाइएको छ ।

      महोत्सवका लागि शान्तिसुरक्षाको व्यवस्था, प्रचारप्रसार, सवारी साधन  व्यवस्थापन, अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत् आपूर्ति, बजार व्यवस्थापनलगायत समिति गठन गरिएको छ ।

     भगवान् रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा सीता नगरी जनकपुरमा विशेष जन्ती आउने प्रचलन छ । त्यसैले यसपटक औपचारिकरुपमा जन्ती नआए पनि साधुसन्त र ठूला महन्थ जन्तीकैरुपमा आउने उहाँको भनाइ थियो।

     विवाह पञ्चमीमा सहभागी हुन ठूलो सङ्ख्यामा मानिस आउने भएकाले जताततै फोहर बढ्ने हुँदा  सरसफाइमा ध्यान दिन र शौचालयको व्यवस्था मिलाउन जनकपुर उपमहानगरपालिकासँग आग्रह गरिएकोे महन्थ वैष्णबले बताए ।

      फोहर र शौचालय व्यवस्थापनमा उपमहानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्लेसमेत ध्यान नदिने गरेको गुनासो गर्दै उहाँले आफ्नै छोरीको बिहे ठानेर सबैले सहयोगमा चासो दिनुपर्ने आवश्यकता औँल्याए । 

     महन्थ वैष्णबले प्रदेश सरकारले चाहे केही सरसफाइ र शौचालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

      विवाह पञ्चमी महोत्सवअन्तर्गत मङ्सिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर र २२ गते शुभविवाह तथा २३ गते रामकलेवा कार्यक्रम तय गरिएको छ  । 

    साताको लोकप्रीय