images
images

किन बढिरहेको छ सुनको मूल्य ?, अझै कति पुग्ला ?

किन बढिरहेको छ सुनको मूल्य ?, अझै कति पुग्ला ?

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार पहेँलो धातुको मूल्यले यतिबेला नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ ।

आइतवार, कार्तिक १२ २०८०
आइतवार, कार्तिक १२ २०८०
  • images
    images
    किन बढिरहेको छ सुनको मूल्य ?, अझै कति पुग्ला ?

    काठमाडौँ / पछिल्लो केही समय यता सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार पहेँलो धातुको मूल्यले यतिबेला नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार रुपैयाँ पुग्यो । यो अहिलेसम्मकै महँगो हो ।

    images
    images

    गत शुक्रबार प्रतितोला एकलाख १६ हजार मूल्य रहेकोमा शनिबार एक हजार रुपैयाँले बढेको थियो। आइतबार पनि सोही मूल्य निर्धारण गरिएको छ। आइतबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा प्रतितोला एक हजार रुपैयाँले महँगो हो। 

    त्यस्तै, यता चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ तोकिएको छ। यो गत शुक्रबारको तुलनामा १५ रुपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    किन बढ्यो सुनको मूल्य ?

    इजरायलको गाजामा भएको इजरायली र प्यालेस्टिनीबिच भएको युद्धले विश्वमै सङ्कट निम्त्याइरहेको छ । यो युद्ध अन्त्य हुने भए सङ्केत देखिएको छैन र कहिलेसम्म हुन्छ भन्ने पनि एकिन छैन । यसले विश्व बजारमा ठुला लगानीकर्ताहरूलाई निराश बनाइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले बताए । त्यसैले विश्वका ठुला लगानीकर्ताहरूले सुनमा लगानी बढाउन थालेको उनको भनाइ छ । 

    उनी भन्छन्, “संसारका केन्द्रीय बैङ्कहरूले पछिल्लो ६ महिनामा ३८७ टन सुन रिजर्भ गरेको तथ्याङ्क देखिएको छ । अन्य लगानीकर्ताहरू र पैसावालहरूले पनि सुन नै किनेर थन्काउन थालेका छन् । अन्य क्षेत्रको लगानी पनि सुनमा नै भएको देखिन्छ । त्यसैले विश्व बजारमा सुनको माग बढेर उच्च मूल्य वृद्धि भएको देखिन्छ ।” द्वन्द्वका कारण कच्चा तेलको मूल्यमा समेत उतारचढाव आई त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको उनको अनुमान छ ।

    कतिसम्म बढ्छ मूल्य ? 

    सुनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार हरेक दिन निर्धारण गरिदै आएको छ । त्यसैले विश्व बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि बढ्छ र घटेको खण्डमा घटेर कारोबार गरिन्छ । पछिल्लो समयमा सुनचाँदी बजारको सिनारियो हेर्दा अबको २/३ हप्ताभित्र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २१०० डलर प्रतिऔश पुग्ने अनुमान गरिएको शाक्यले बताए । यदी २१०० डलर सुनको मूल्य पुगेमा नेपाली बजारमा प्रतितोला १ लाख ३० हजार रुपैयाँको हाराहारीमा पुग्ने देखिन्छ । 

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो । १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको शाक्यले जानकारी दिए । यस कारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च रहेको छ । 

    सिजनमै सुनसान छ बजार 

    आन्तरिक बजारमा पनि सुन बिक्री गरेर आवश्यकता आपूर्ति गर्ने क्रम बढेको उनले जानकारी दिए । मूल्य बढेपछि नेपाली बजारमा खरिद गर्नेभन्दा बिक्री गर्नेहरू बढेको उनी बताउँछन् । उनी भन्छन्, “नेपाली बजारमा महङ्गी बढेको छ । घरखर्च चलाउन आम्दानीले नपुगेपछि सुन बिक्री गर्ने क्रम बढिरहेको छ ।”

    कर बृद्धि र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण नेपालमा सुनको मूल्य उच्च छ । जसले गर्दा बजार प्रायः सुनसान रहने शाक्यको भनाइ छ । सिजनमै पनि सुनको माग हुन नसकेको उनले बताए । उनी भन्छन्, “तीन÷चार बर्षअघिको तथ्याङ्कको आधारमा तीजको मौसममा ३० केजीभन्दा बढी काँचो सुन खपत हुनुपर्थ्यो । तर यस बर्ष त्यसको तुलनामा १५ प्रतिशत पनि हुन सकेन । दशैँको समयमा ३५/४० किलो कट्नुपर्थ्यो । लगनको समयमा भूकम्पअघि ६० किलो सुन खपत हुन्थ्यो भने अहिले ४० किलोमा सीमित भएको छ ।”

    यसपालि दशैँमा खासै सुनको खपत नभएको र तिहारमा पनि माग बढ्ने संकेत नदेखिएको उनले बताए । उनले थपे, “यस बर्ष दशैँ तिहारको बजार केही सकारात्मक भएपनि उत्साहजनक छैन । अब लगनको सिजनमा पनि बजार सुनसान नै रहने देखिएको छ ।” अहिले दैनिक सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ ।

    यस बर्ष सिजनमै पनि बजार सुनसान हुने कुराको सङ्केत तिजको बजारले नै गर्ने संस्थापक अध्यक्ष शाक्यले बताए । “एकतिर उच्च मूल्य वृद्धि छ भने अर्कोतिर नेपालीहरूको क्रयशक्ति दिनदिनै नाजुक बन्दै गइरहेको छ । दैनिक उपभोग्य बस्तुदेखि सुनसम्म खरिद गर्न नसक्ने गरी महँगी बढेको छ ” उनले भने, “त्यसमाथि नेपालीहरूको आयास्रोत भने बिग्रदो अवस्थामा छ । यी समस्याले गर्दा नेपालको सुनचाँदी बजार निराशाजनक छ । अब मंसीर (लगनको सिजन)मा पनि सुनचाँदीको बजारमा चहलपहल बढ्ने सङ्केत छैन ।”

    सुन आयातको सीमा बढाउदा पनि उत्साही छैनन् व्यवसायी 

    नेपाल राष्ट्र बैङ्कले दैनिक सुन आयात गर्न पाउने परिमाणको सीमा बढाए पनि व्यवसायीहरू भने उत्साही भएका छैनन् । बजारमा माग नभएपछि आयातको सीमा बढाउनुको औचित्य नभएको व्यवसायीहरूको भनाइ छ । दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैङ्कले हाल २० किलोसम्म सुन ल्याउन दिने भएको हो । 

    राष्ट्र बैङ्कले केहिसमय अघि मात्रै परिपत्र जारी गर्दै आयातको सीमा बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो । तर, बजारमा माग कमजोर भएको समयमा सुन आयातको सीमा बढाउनुको कुनै अर्थ नभएको व्यवसायीहरूको भनाइ छ । अहिले १० किलोको कोटामा पनि सुनको माग बढ्न नसकेको शाक्य बताउँछन् । 

    सरकारले विगतमा विदेशी मुद्रा सञ्चिति घटेको समयमा सुन आयातमा कडाइ गर्दै दैनिक १० किलोको सीमा लगाएको थियो तर अहिले विदेशी मुद्राको सञ्चिति बढेसँगै राष्ट्र बैङ्कले सीमा बढाएको हो । सुन आयात परिणाको सीमा बढाए पनि सरकारले एउटा महिनामा सुन आयात नभएको सट्टा अर्को महिनामा आयात गर्न नपाइने प्रावधान उल्लेख गरेको छ ।

    दुई महिनामा ४ अर्ब १२ करोडको सुन आयात 

    चालु आर्थिक बर्षको दुई महिनामा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागको तथ्याङ्क छ । यस अवधिमा ५ सय ग्राम सुन खरिदबापत ४ अर्ब १२ करोड ८१ लाख ८३ हजार रुपैयाँ विदेशिएको हो । सुन आयातबाट सरकारले दुई महिनामा ६१ करोड ९२ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक बर्ष २०७९÷८० मा २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बराबरको २ हजार ९१६ किलो सुन आयात भएको थियो ।

    ६ बर्षमा ९४ प्रतिशतले बढ्यो सुनका मूल्य 

    नेपालमा पछिल्लो ६ बर्ष भित्र सुनको मूल्य करिब ९४ प्रतिशत अर्थात ५६ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्क अनुसार वि.सं. २०७५ साल यता ५६ हजार ७ सय रुपैयाँले बढेको हो । 

    वि.सं. २०७५ सालको कात्तिकमा प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य उकालो लाग्दै आजसम्म आइपुग्दा १ लाख १७ हजार रुपैयाँमा कारोबार हुने भएको छ । 

    कुन बर्षमा कति बढ्यो सुनको मूल्य ? 

    1.JPGस्रोतः नेपाल सुनचाँदी महासंघ नेपाल

    चाँदीको मूल्य पनि बढेको बढ्यौ ! 

    पछिल्लो समयमा स्थानीय बजारमा सुनको मूल्य मात्रै नभई चाँदीको मूल्य पनि निरन्तर बढ्दै गइरहेको छ । महासंघको तथ्याङ्क हेर्ने हो भने वि.सं. २०७५ सालको कात्तिक महिनाको तुलनामा वि.सं. २०८० सालको कात्तिक महिनामा ८८.७१ प्रतिशत अर्थात ६ सय ६१ रुपैयाँले बढेको हो । 

    वि.सं. २०७५ सालको कात्तिक महिनामा प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी हाल ८८ प्रतिशतसम्म बढेर प्रतितोेला एक हजार ४ सय १५ रुपैयाँमा कारोबार हुने भएको छ ।

    कुन बर्षमा कति बढ्यो चाँदीको मूल्य ? 

    2.JPGस्रोतः नेपाल सुनचाँदी महासंघ नेपाल

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार