काठमाडौँ । फिल्म ‘जेलब्रेक’ को युनिटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लेसँग भेटेको छ । फिल्म युनिटले प्रधानमन्त्री ‘प्रचण्ड’लाई बालुवाटार पुगेर भेटेका थिए ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले माओवादी सशस्त्र युद्धको गहिरो अध्ययन गरेर फिल्म बन्नुपर्ने बताएका छन् ।
भेटमा फिल्म युनिटको तर्फबाट निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, नेकपा (विप्लव समूह)की नेतृ उमा भुजेल र फिल्म लेखक विकास सुवेदी सहभागी थिए । दशक लामो सशस्त्र द्वन्द्वको घटनामाथि फिल्म बनाउन अनुसन्धान लेखनको काम चलिरहेकाले रिसर्चका लागि प्रचण्डलाई भेटेको लेखक सुवेदीले बताए ।
‘उहाँ जनयुद्धको कमान्डर भएकाले उहाँसँग जोडिएको कुरा बुझ्न पुगेका थियौँ’, सुवेदीले भने ‘सो अवसरमा फिल्मका बिभिन्न विषयमा पनि कुराकानी भयो ।’ तत्कालीन माओवादी लडाकु समेत रहेकी उमा भुजेलले गोर्खा जेल ब्रेकको घटनाबारे लेखेको पुस्तकमाथि फिल्म बन्न लागेको हो ।
फिल्मलाई देउजाले निर्देशन गर्दैछन् । फिल्मको लेखन सकिएपछि कलाकार छनौट हुनेछ । फिल्ममा नयाँ तथा पुराना कलाकार रहने बताइन्छ ।