images
images

परनिर्भर नेपाल : तीन महिनामा २९ अर्बको कृषिजन्य वस्तु आयात !

परनिर्भर नेपाल : तीन महिनामा २९ अर्बको कृषिजन्य वस्तु आयात !

कृषिप्रधान मुलुकले मासिक अर्बौको कृषिजन्य वस्तु आयात गर्नु भनेको परनिर्भताको पराकाष्टा हो ।

बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • परनिर्भर नेपाल : तीन महिनामा २९ अर्बको कृषिजन्य वस्तु आयात !

    काठमाडौँ / नेपालीहरूले तीन महिनामा करिब २९ अर्बको विदेशी कृषिजन्य वस्तुको उपभोग गरेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको तीन महिना (साउनदेखि असोज मसान्तसम्म) नेपालले २९ अर्ब ६६ करोड ५६ लाख ९७ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात गरेको हो । 

    images
    images

    बजार र उचित मूल्य नपाउदा नेपालमा उत्पादन भएका कृषिजन्य बस्तु खेतबारीमै कुहिएर गइरहेका छन् । समय समयमा किसानहरू सडकमै तरकारी र फलफूल फालेर आन्दोलित समेत भइरहेका छन् । तर, बाहिरी मुलुकबाट भने हरेक महिना अर्बौको तरकारी तथा फलफूल आयात हुने गरेको विभागको तथ्याङ्कमा देखिन्छ । 

    कृषिप्रधान मुलुकले मासिक अर्बौको कृषिजन्य वस्तु आयात गर्नु भनेको परनिर्भताको पराकाष्टा हो । तथ्याङ्कलाई आधार मान्ने हो भने यदी विदेशबाट कृषिजन्य वस्तु आयात गर्न सकिएन भने भोकभोकै मर्ने अवस्थामा नेपालीहरू पुग्नेछन् । 

    इतिहासदेखि कृषिप्रधान देशको रूपमा परिचित नेपालले चालु आवको तीन महिनामा २ अर्ब ९२ करोड ९० लाख रुपैयाँ बराबरको धानगरेको छ भने, २ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ बराबरको चामल आयात गरेको छ । 

    विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मामात्रै २ खर्ब ९२ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको कृषिजन्य वस्तु आयात भएको थियो । यस्तै, अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ खर्ब ४१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कृषिजन्य वस्तु विभिन्न मुलुकबाट आयात गरेको छ ।

    चालु आर्थिक वर्षको पहिलो ३ महिनामा साढे २९ अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात हुँदा सबैभन्दा बढी अन्न (धान, चामल, मकै र गहुँ) भित्रिएको छ । यस अवधिमा ८ अर्ब ८८ करोड १६ लाख ९३ हजार रुपैयाँको अन्न आयात भएको छ । 

    टुक्राएर हेर्ने हो भने २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँको चामल मात्रै आयात भएको छ । यस्तै २ अर्ब ९२ करोड ९० लाखको धान आयात भएको छ । त्यस्तै,२ अर्ब ६२ करोड ९० लाख रुपैयाँको मकै र ६५ करोड २ लाख रुपैयाँको गहुँ आयात भएको छ ।

    असोज मसान्तसम्म नेपालमै पर्याप्त परिमाणमा फलाउन सकिने अझ भनौ बजार र मूल्य नपाएर सडकमा फाल्नु परेको, खेतमै कुहाउनु परेको तरकारी मात्रै ४ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको आयात भएको देखिन्छ । 

    फलफूल ४ अर्ब ४२ करोड ४ लाख, तेलहन ३ अर्ब ७९ करोड ७६ लाख र दलहनतथा गेडागुडी ३ अर्ब ७९ करोड ७६ लाख रुपैयाँको आयात भएको छ । 

    तीन महिनामा आयात भएको प्रमुख कृषिजन्य वस्तुहरू 

    1.JPG

    तरकारी तथा फलफूलमा मात्रै १३ अर्बको व्यापार घाटा ! 

    चालु आवको तीन महिनामा मात्रै १३ अर्ब ४९ करोड ३२ लाख ७७ हजार रुपैयाँ बराबरको बढीको तरकारी तथा फलफूलमा व्यापार घाटा देखिएको छ । तथ्याङ्क अनुसार तीन महिनामा १३ अर्ब ८९ करोड ४३ लाख रुपैयाँ बराबरको फलफूल तथा तरकारी आयात हँुदा ४० करोड १० लाख ७१ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

    नेपालमा भारत, चीन, जापान, थाइल्याण्ड, इटाली, न्यूजील्याण्ड लगायत मुलुकबाट तरकारी र फलफूलआयातगरिन्छ भने भारत, चीन लगायत मुलुकमा मात्रै नेपाली तरकारी र फलफूल निर्यात हुन्छ ।

    तीन महिनामा ८ अर्ब ३२ करोड ७४ लाख रुपैयाँको तरकारी र ५ अर्ब ५६ करोड ६८ लाख रुपैयाँको फलफूल आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै, तीन महिनामा ३९ करोड ६८ लाख रुपैयाँ बराबरको तरकारी र ४१ लाख ७७ हजार रुपैयाँको फलफूल निर्यात गरिएको छ । 

    यसरी तरकारीमा ७ अर्ब ९३ करोड ५ लाख ६८ हजार रुपैयाँ व्यापार घाटा देखिएको छ भने फलफूलमा ५ अर्ब ५६ करोड २७ लाख ९ हजार रुपैयाँ व्यापार घाटा भएको विभागको तथ्याङ्क छ । 

    यता, साउनदेखि असोजसम्ममा सरकारले तरकारीबाट १ अर्ब ४५ करोड ६३ लाख ९४ हजार रुपैयाँ र फलफूलबाट १ अर्ब ६० करोड २४ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

    गत २०७९/८० को तीन महिनामा तरकारी र फलफूलमा १३ अर्ब ४४ करोड १८ लाख ६५ हजार रुपैयाँ व्यापार घाटा थियो । गत आवमा विभिन्न मुलुकबाट १३ अर्ब ६३ करोड ५९ लाख ८६ हजार रुपैयाँको फलफूल तथा तरकारी आयात भएको थियो भने १९ करोड ४१ लाख २१ हजार  रुपैयाँको तरकारी र फलफूल निर्यात भएको थियो ।

    चालु आर्थिक वर्षको तीन महिनाको तरकारी र फलफूलको कारोबार रकमको विवरण :

    2.JPG

    गत वर्ष तरकारी तथा फलफूलमा ५१ अर्बको व्यापार घाटा

    गत आर्थिक बर्ष २०७९/८० मा तरकारी तथा फलफूलमा ५१ अर्ब ६२ करोड रुपैयाँ व्यापार घाटा भएको भएको थियो । गत बर्ष ५२ अर्ब ४३ करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात हुदाँ ८ करोड १९ लाख रुपैयाँको मात्रै निर्यात भएको थियो । सो वर्षभरमा तरकारी र फलफूलको कारोबारबाट सरकारले ८ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । 

    गत वर्ष ३१ अर्ब ८७ करोड रुपैयाँको तरकारी आयात भएकोमा ७४ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । उक्त बर्षमा तरकारीमा मात्रै ३१ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो भने सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै, गत वर्ष २० अर्ब ५६ करोड रुपैयाँको फलफूल आयात भएको थियो भने ६ करोड ४९ लाख रुपैयाँको मात्रै निर्यात भएको थियो । त्यस्तै, उक्त बर्षमा आयात भएको फलफूलबाट मात्रै २० अर्ब ४९ करोड रुपैयाँको व्यापार घाटा भएको थियो भने सरकारले ५ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । 

    ६२ प्रतिशत जनता मात्रै कृषि पेसामा !  

    कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशतमात्रै कृषक परिवार रहेको पाइएको छ । तथ्याङ्कअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशतले कृषक परिवार घटेको देखाएको हो ।

    उक्त तथ्याङ्कअनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेका थिए । 

    पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको तथ्याङ्क छ । यता कृषकहरूले आफ्नै उत्पादनले खान नपुगेको कृषि गणनाले देखाएको छ । गणनाअनुसार कृषिमा आबद्ध किसानमध्ये ५५ प्रतिशतका दरले २२ लाख ७४ हजार जनालाई आफ्नो उत्पादनले ६ महिनामात्रै खानपुगेको तथ्य बाहिरिएको छ । 

    यस्तै, कृषिउत्पादन गरेको वस्तु खपत र बेच्ने २५ प्रतिशतले मात्रै किसान रहेका छन् । नेपालमा उत्पादन गरेको सबै वस्तु बच्ने किसान १ प्रतिशतमात्रै रहेको तथ्याङ्कमा देखिएको छ । कृषि उत्पादन गरेर वर्षभरी खानपुग्ने कृषक परिवार ४५ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार