images
images

इजिप्ट, अफ्रिकादेखि आयात हुन्छ सुन्तला, किन घोषणा गरियो राष्ट्रिय फल ?

इजिप्ट, अफ्रिकादेखि आयात हुन्छ सुन्तला, किन घोषणा गरियो राष्ट्रिय फल ?

सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने मूख्य पाँच आधारहरू

सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • इजिप्ट, अफ्रिकादेखि आयात हुन्छ सुन्तला, किन घोषणा गरियो राष्ट्रिय फल ?

    काठमाडौँ सरकारले राष्ट्रिय फल घोषणा गरेको सुन्तला भारत र चीनदेखि मात्रै नभई इजिप्ट र साउथ अफ्रिकादेखि आयात हुने गरेको पाइएको छ । सरकारले गत चैत ३० गते राष्ट्रिय फल घोषणा गरेको सुन्तला स्वदेशमा पर्याप्त उत्पादन हुन नसक्दा परनिर्भर हुनुपरेको हो । 

    images
    images

    सुन्तलालाई भौगोलिक सङ्केत (जिओग्राफिकल इन्डिकेशन–जीआई)का लागि राष्ट्रिय फल घोषणा गरिएको हो । प्रस्ताव गरेको झन्डै पाँच वर्षमा नेपाल सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको हो ।

    यद्यपि, सुन्तलालाई मौसमी फलफूलबाट अब बाह्रैमास उपलब्ध गराउने चुनौती रहेको भने अधिकारीहरूले बताएका छन् । नेपालमा मौसमी हिसाबले मङ्सिरदेखि फागुनसम्ममा सबैभन्दा धेरै सुन्तला उत्पादन भइरहेको पाइन्छ । 

    आयात बिना माग धान्न मुस्किल 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकमा उत्पादित सुन्तलाले भने माग धान्न सकेको छैन । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को चैत मसान्तसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ बराबरको सुन्तला आयात भएको छ । 

    तथ्याङ्क अनुसार ९ महिनामा  १ अर्ब ३५ करोड १२ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड ९९ लाख १३ हजार ५२२ किलोग्राम सुन्तला आयात भएको हो । यो मूल्यमा गत आर्थिक बर्षको चैत मसान्तसम्मको तुलनामा ६४.२५ प्रतिशतले धेरै हो । 

    गत आर्थिक बर्षको ९ महिनामा ८२ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ५० हजार ९३० किलो सुन्तला आयात भएको थियो । विभागको तथ्याङ्क अनुसार सुन्तला आयात हरेक बर्ष बढ्दै गइरहेको देखिएको छ । 

    यता, चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा नेपालमा सबैभन्दा धेरै भारतबाट सुन्तला आयात भएको छ । ९ महिनाको अवधिमा भारतबाट १ अर्ब २७ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख १३ हजार ५१५ किलो सुन्तला आयात भएका हो । 

    यस्तै, चीनबाट ६९ लाख ६६ हजार रुपैयाँ बराबरको ५९ हजार ४४० किलो आयात भएको छ भने इजिप्टबाट १ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको १ लाख ७५ हजार ९२० किलो आयात भएको छ । साउथ अफ्रिकाबाट ५ करोड ३० लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख ६४ हजार ६४८ किलो सुन्तला आयात भएको छ । 

    ५ बर्षमा कति भयो आयात ? 

    भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक बर्ष २०७९/८० को तुलनामा यस बर्ष सुन्तलाको आयात झण्डै दोब्बर बढीले बृद्धि भएको छ । गत बर्ष ८८ करोड १६ लाख रुपैयाँ बराबरको सुन्तला आयात भएकोमा यस बर्ष ९ महिनामै आयात बढेर १ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बराबरको सुन्तला आयात भएको देखिन्छ । 

    Data.jpgनेपालमा कति हुन्छ उत्पादन ? 

    सुन्तला खेती ६६ जिल्लामा हुन्छ । त्यसमध्ये ५८ जिल्लामा सबैभन्दा बढी हुन्छ भने ४८ जिल्लामा एक सयभन्दा बढी हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । 

    देशभर २९ हजार हेक्टरमा लगाइएको खेतीबाट वार्षिक करिब दुई लाख मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । स्याङ्जामा भने सुन्तलाको सुपरजोन रहेको छ ।

    फलफूल विकास केन्द्रले चार वर्षअघि अर्थात आर्थिक बर्ष २०७६/७७ मा गरेको अध्ययन अनुसार नेपालमा २६ हजार ५ सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको पाइएको थियो । 

    आर्थिक बर्ष २०७९/८० मा गरिएको पछिल्लो अध्ययन अनुसार हाल नेपालमा २७ हजार आठ सय ९२ हेक्टरमा सुन्तला खेती भइरहेको पाइएको छ । 
    केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकमा वार्षिक एक लाख ८५ हजार टन सुन्तला उत्पादन हुने गरेको छ । यस्तै, सुन्तलाको कुल कृषि गार्हस्थ्य उत्पादनमा ०.९६ प्रतिशत योगदान रहेको छ । 

    केन्दको अध्ययनअनुसार नेपालमा सुन्तलाबाट वार्षिक ३० अर्ब ६१ करोड रुपैयाँको कारोबार हुने गरेको छ भने वार्षिक सात लाख जनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । 

    सुन्तलालाई नै किन गरियो ‘राष्ट्रिय फल’ घोषणा ?

    कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लगेकी थिइन् । हालसम्म नेपालमा कुनै पनि फल राष्ट्रिय फलका रूपमा घोषणा भएको थिएन, के गर्ने भनी पहिलादेखि अध्ययन भइरहेको थियो, आफूले अब ढिलो गर्नुहुँदैन भनी सुन्तलालाई प्रस्तावका रूपमा मन्त्रीपरिषद्मा लगेर घोषणा गराएको उनले बताइन् । 

    आगामी आर्थिक वर्षको बजेटमा सुन्तलाका लागि विशेष कार्यक्रम राख्ने बताउँदै उनले सुन्तलालाई आत्मनिर्भर मात्र होइन, निर्यातको अवस्थामा र्पुयाउने उनले बताइन् । कृषि मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन मन्त्रालयमा प्रस्ताव गरेको थियो । 

    राष्ट्रिय फलफूल विकास केन्द्रका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बराल सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेर सरकारले ढिलै भए पनि राम्रो काम गरेको बताउछन् । भर्खरै मात्रै राष्ट्रिय फल घोषणा गरेको सुन्तलाको आयात न्यूनीकरण गर्दै लानका लागि अब सरकारले योजना बनाएर बजेट छुट्याउनुपर्ने उनले बताए । उनका अनुसार सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने मूख्य पाँच आधारहरू छन् । 

    उनले भने, “प्राविधिक हिसाबले सुन्तलाजस्तो बाली बर्षैभरी फलाएर देशको आवश्यकता धान्ने भन्ने कुरा अलिक असम्भव जस्तो पनि हुन्छ । बाह्रैमास कोल्ड स्टोरमा राख्ने भन्ने कुरा पनि अभ्यासमा देखिदैन । यद्यपि, अन्य फलफूलको तुलनामा सुन्तला बाली लामोसमयसम्म बोटबाटै टिप्न सकिन्छ ।”

    अरु फलफूल र सुन्तलालाई तुलना गर्दा अर्थात हाम्रो देशकै विभिन्न भागमा उत्पादनलाई हेर्ने हो भने सुन्तला बाली कार्तिकदेखि फागुनसम्म सुन्तला बोटबाटै टिप्न सकिन्छ । ४÷५ महिनासम्म बोटबाटै टिपेर फल खान सकिने, बिक्री गर्न सकिने अरु कुनै पनि फलफूल नेपालमा नभएको बरालको जिकिर छ । 

    “आँप मुस्किकले एक डेढ महिना हुन्छ । नास्पाती मुस्किलले एक महिना हुन्छ । रुख कटहर र स्याउ पनि लामो समयसम्म राख्न सकिदैन । त्यसैले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नु यो पनि एउटा आधार हो,” उनले भने । 

    उनका अनुसार ७७ जिल्लामध्ये ४८ जिल्लामा सुन्तलाको व्यवसायिक खेती छ । सय हेक्टरभन्दा बढी क्षेत्रफलमा खेती हुन्छ । व्यवसायिक रूपमा खेती हुनेमा यो पहिलो बालीमा पर्छ । जबकि आँप ४२ जिल्लामा व्यवसायिक खेती हुन्छ । 

    यसैगरी सुन्तलाबाट बार्षिक करिब ३१ अर्ब हाराहारीको आर्थिक कारोबार हुने गरेको उनले बताए । उनका अनुसार सुन्तलाबाट प्रत्येक बर्ष ३० अर्ब ६१ करोड करिब ३१ अर्बको कारोबार गर्दछ भने आँपबाट बार्षिक २४/२५ अर्ब आर्थिक कारोबार हुने गरेको छ । 

    त्यसैगरी, सुन्तला बालीबाट मात्रै बर्षमा ७ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको बरालले जानकारी दिए । यो अन्य बालीको तुलनामा बढी भएको उनको ठम्याइ छ । 

    त्यस्तै, सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्नुको अर्को कारण यसको प्रकृति भएको उनले बताए । उनी भन्छन्, “सुन्तला रैथाने प्रकृतिको छ । आफ्नोपन छ । स्वाद मीठो र रसिलो छ । गुणकै कारणले हामी नेपाली सुन्तलालाई चिन्छौँ ।”

    भारतले सन् १९५० मा आँपलाई राष्ट्रिय फल घोषणा गरे पनि नेपाल भने सन् २०२४ मा आएर राष्ट्यि फलबारे निर्णय लिएको हो । छिमेकी राष्ट्रले राष्ट्रिय फल घोषणा गरेको ७४ बर्षपछि सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न पनि सरकारले खुट्टा कमाएको उनी बताउँछन् ।

    मध्यपहाडी इलाकामा व्यवसायिक रूपमा खेती गर्न सकिने सुन्तलाको उत्पादन बृद्धि गर्न सरकारले नै पहल गर्नुपर्ने बरालले बताए । लगानी बृद्धि गरी तालिम, पूर्वाधार, बजार आदिको व्यवस्था गर्ने हो भने र किसानलाई प्रोत्साहन गर्ने हो भने सुन्तलामा नेपाल आत्मनिर्भर हुनसक्ने बराल बताउँछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार