images
images

मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु

मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु
    दमौली (तनहुँ) / मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्र सुरु भएको छ । 
    मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो ।
     
    पहिलो दिन बिहीबार चार सय २० मिटर एकतर्फी सडक कालोपत्र भएको पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले जानकारी दिए । 
     
    उनका अनुसार फागुनको अन्तिमसम्म एकतर्फीरुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ । 
     
    उनले आजदेखि म्याग्दे गाउँपालिकास्थित जामुने र शुक्लागण्डकी नगरपालिकास्थित बेलचौताराबाट पनि कालोपत्रको काम अगाडि बढ्ने जानकारी दिए । 
     
    उनले भने, “अब कामले तीव्रता पाउँछ, निरन्तर कालोपत्रको काम अगाडि बढ्छ । आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा छन् ।”
     
    पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उनले जानकारी दिए। 
     
    सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो । 
     
    पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । 
     
    यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।
     
     यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो । 
     
    धुलो र हिलालेले आजित भएका स्थानीय बासिन्दा कालोपत्र सुरु भएपछि आशावादी बनेको स्थानीय शङ्कर पन्तले बताए । 
     
    उनले भने, “सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन् । धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो ।” 
     
    उनले गुणस्तरीय काम गराउनका लागि आफूहरुले पनि निरन्तर अनुगमन गर्ने उल्लेख गरे । 
     
    मुग्लिन पोखरा सडक विस्तारका लागि यो खण्डमा काम निकै सुस्त थियो । हालै भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक यो खण्डको स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका थिए । 
     
    पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । 
     
    यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ । 
     
    यसैगरी पूर्वी खण्डमा भने १९ दशमलव ५ किमी सडकखण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो । 
     
    मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए। त्यसमध्ये ७।२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ ।
     
    पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ ।
     
    पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा ‘आर्क डिजाइन’मा पुल बन्दैछ । 
     
    पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । 
     
    पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार